सोमबार, वैशाख २४, २०८१

बार्सिलोना छोड्ने मेसीको निर्णयले फूटबल जगत तरंगित

नेपालप्लस, पेरिस२०७७ भदौ १० गते ८:४५

फूटबल स्टार लियोनेल मेसीले बार्सिलोना क्लब छोड्ने निर्णय सार्वजानिक गरेपछि एकाएक फूटबल जगत तातेको छ । युरोपेली च्याम्पियनको फाइनलमा पुग्न बायरन म्यूनिखसँग भएको खेलमा लाजै लाग्ने गरी ८ गोल खाएपछि निराश मेसीले बार्सिलोना छोड्ने औपचारिक टुँगो गरेका थिए । त्यसपछि उनलाई आफ्नो क्लबमा ल्याउन युरोपका ठूला क्लबहरु ज्यान दिएर लागेका छन् ।

उनलाई किन्ने होडमा सबैभन्दा अगाडि बेलायतकोे म्यानचेष्टर सिटी र म्यानचेष्टर युनाइटेड देखिएका छन् । सिटी अघि देखिनुको कारण बार्सिलोनामा मेसीका कोच रहेका पेप ग्वार्डिओलासँगको उनको राम्रो सम्बन्ध र क्लबका
साहूजीको लगानी गर्ने इच्छा हो । पेपकै प्रशिक्षणमा मेसीले बार्सिलोनालाई तीनवटा लिग उपाधि, दुई पटक च्याम्पियन लिग जिताएका थिए । उसो त युनाइटेडका साहूजीहरु पनि कम्मर कसेर मेसी ल्याउन कसिएका छन् ।

त्यति मात्र होइन कतारी धनाढ्यको लगानी गरेको यसपटक च्याम्पियनको उप विजेता पारी साँ जर्मापनि मनग्गै पैसा बोकेर भित्रभित्रै कुरा चलाइरहेको छ ।

इन्टरमिलान, लाम्पार्डको चेल्सी, आर्सेनाल सबका सब दौडमा सामेल छन् । मेसीको मोल कति होला ? कुरो गुपचुप छ । लेनदेनको कुरो पहिलो चरणमा छ । अहिले मेसी सार्वजानिक रुपमै आफू निस्कने बताएर फूटबल बजार तताएका बेला उनको मोल झनै आकाशिने स्पष्ट छ ।

सबैको चासो छ, ६ पटक सम्म फूटबलको सबैभन्दा सम्मानित उपाधि बालोँ दोर अर्थात् सुनको बलमा कब्जा जमाउने फूटबल जगतका बादशाह मेसी कहाँ जालान् ?

तपाइँको प्रतिक्रिया

फेसबुक