ईन्जा ग्लोबल मिडिया कन्फरेन्स तयारी अन्तिम चरणमा
नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय संजाल (ईन्जा) ले यस वर्ष ईन्जा ग्लोबल मिडिया कन्फरेन्स यहि नोभेम्बर २९, २०२० आईतबारका दिन भर्चुअल माध्यमबाट गर्ने भएको छ ।
ईन्जाले गत वर्षबाट नोभेम्बरमा एक ग्लोबल कार्यक्रम गर्न शुरु गरेको थियो भने हरेक वर्ष मार्चको पहिलो हप्ता आफ्नो वार्षिक उत्सव मनाउने गर्दछ ।
यस वर्ष संचार जगतलाई कोविड-१९ बाट नेपाल लगायत विश्वभर परेको प्रभाव, यसबाट नेपाली संचारकर्मीमा परेको असर, संचारले लिएको बदलिंदो स्वरुप र संचार अपनाउनु पर्ने कदमहरु जस्ता विषयमा कार्यपत्र प्रस्तुत हुने र विद्वान सहभागीहरुबाट यसको समीक्षा हुने ईन्जाका ग्लोबल अध्यक्ष गुणराज लुईटेलले नेपालप्लसलाई बताउनु भयो ।
अध्यक्ष लुईटेलका अनुसार यस वर्ष नेपाल, अमेरिका र अन्य विश्वबाट दर्जनौं नेपाली पत्रकारहरु यस भर्चुवल सम्मेलनमा सहभागी हुनुहुनेछ।
यस कार्यक्रममा नेपाली पत्रकारितामा लामो समय अनुभव हासिल गरिसक्नु भएका, रेडियो पत्रकारिता तथा प्राध्यापनमा संलग्न वरिष्ठ पत्रकार घमराज लुईटेल एवं हाल डायस्पोरामा रहनुभएकी वरिष्ठ पत्रकार विष्णु शर्माले कार्यपत्र प्रस्तुत गर्दै हुनुहुन्छ ।
पत्रकारद्वय लुईटेल एवं शर्माका कार्यपत्रहरु माथि बरिष्ठ पत्रकारहरु तारा बराल, तीर्थ कोईराला, बन्दना राणा, बविता बस्नेत, तारानाथ दाहालले अतिथिको रुपमा समीक्षा गर्नु हुनेछ । पत्रकारहरु नीतु पंडित, कृष्ण ढुंगाना, मीरा राजभण्डारी अमात्य लगायतले कन्टेण्ट समीक्षा गर्नु हुनेछ ।
अमेरिकाको प्रसिद्ध संचार सम्बन्धी संस्था सोसाईटी अफ प्रोफेशनल जर्नालिष्ट (यसपीजे) का अध्यक्ष म्याथ्यु हलले अमेरिकामा भएको संचार कर्म, यसका माध्यम र अन्य विविध पक्षमा जानकारी दिने ईन्जाले जनाएको छ । यस्तै विभिन्न अमेरिकी संचार माध्यमलाई पनि निम्ता दिएको जनाइएको छ ।
कार्यक्रममा अतिथीको रुपमा नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य, प्रेस युनियन र प्रेस संगठन, नेजाका अध्यक्ष वा प्रतिनिधिहरुले पनि सहभागिता जनाउनु हुनेछ । यस्तै नेपालका सवै क्षेत्र र धेरै जिल्लाबाट पत्रकारहरु जुम कन्फरेन्समा जोडिनु हुनेछ ।
कार्यक्रम संचालनको मोडल र अतिथिहरुको उपस्थितिबारेमा सवै तयारी अन्तिम चरणमा पुगेको जानकारी ईन्जा एशियाका अध्यक्ष टंक पन्तले दिनु भयो । इन्जा युरोप पनि यस कार्यक्रमको सफलताको लागि खटिरहेको कुरा अध्यक्ष ददी सापकोटाले बताउनु भएको छ भने इन्जा क्यानडा, कोरिया, ईन्डिया र अस्ट्रेलियाबाट पनि पत्रकारहरु जोडिने तयारीमा रहनु भएको कुरा बद्री तिमिल्सिना, भरत पौडेल र आनन्द कोइरालाले बताउनु भएको छ ।
सम्मेलनको लक्ष्य र उद्देश्यमाथि थप प्रकाश पार्दै कार्यक्रम संयोजक ईन्जा बरिष्ठ उपाध्यक्ष विष्णु शीतलले यो मिडिया कन्फेरेन्समा प्रस्तुत कार्यपत्र एवं यसको समीक्षाको विस्तृत प्रतिबेदन पुस्तकको रुपमा तयार हुने र अमेरिका अनि नेपालका विभिन्न निकायमा अभिलेखको रुपमा राखिने जानकारी गराउनु भयो।
उहाँले कार्यक्रम अमेरिकाको समय साप्ताहिक विदाको दिन आईतबार विहान ९ बजे, नेपालमा साँझ ७:४५ बजे र युरोपमा ३:३० बजे दिउँसो उपयुक्त समयमा हुन गईरहकोले ब्यापक सहभागिता जनाउन ईन्जाले अनुरोध गरेको छ ।
सम्मेलनको ब्यवस्थापन हेरिरहनु भएका महासचिव शिव विष्टले ईन्जाको संस्थागत विकासमा आइपर्ने चुनौतिलाई बुकाविला गर्दै संसारभरिका संचारकर्मीको साझा संस्थाको रुपमा विकास गर्न यो सम्मेलनले योगदान दिने बताउनु भयो । उपाध्यक्ष किशोर सापकोटाले कार्यक्रमलाई छोटो र चुस्त बनाउन टिपोट र रिपोर्ट टीमसँग काम गरिरहेको बताउनु भयो ।
ईन्जाका संरक्षकद्वय वरिष्ठ पत्रकार राम खरेल र वरिष्ठ पत्रकार योगेश उपाध्यायले सफलताको शुभकामना दिनु भएको छ ।
स्मरणरहोस, ईन्जाले हाल नेपालमा कोरोनाबाट आर्थिक समस्यामा परेका करिब ८० जना पत्रकारहरुलाई पहिलो चरणमा लेखन वृत्ति मार्फत सहयोग पुर्याइरहेको छ ।