शुक्रबार, असोज ४, २०८१

इनासको दोश्रो बिश्वब्यापी अनलाइन गायन तथा नृत्य प्रतियोगिता हुँदै

नेपालप्लस प्रतिनिधी २०७८ असार २ गते १०:५६

Photo Credit-Kingston University Nepalese Society

अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज इनासले बिश्वब्यापी अनलाइन गायन तथा नृत्य प्रतियोगिताको दोस्रो कार्यक्रम “इनास अनलाइन गायन तथा नृत्य प्रतियोगिता २०२१” आयोजना गर्ने भएको छ।

डेढ महिना अगाडी ब्लड क्यान्सरका कारण ४१ वर्षको उमेरमानै दिबंगत भएका इनास युरोप संयोजक तथा ग्लोबल नृत्य प्रबर्धन समितिका संयोजक सन्त कुमार थापा मगर प्रति पूर्ण रुपमा समर्पित रहेर आयोजना गर्न लागिएको “दोश्रो इनास अनलाइन गायन तथा नृत्य प्रतियोगिता २०२१” का लागि १४ जुन सोमबारका दिन इनास ग्लोवलले प्रतियोगिता सम्बन्धि आधिकारिक नियम सार्वजनिक गरेको थियो । समितिले प्रतियोगी कलाकारहरुलाई सहभागिताका लागि आव्हान गरेको छ।

कोरोनाको महामारीका बीच पनि गीत संगीत र नृत्यको माध्यमबाट आफ्नो आत्मबल उच्च राख्न, मन र शरीरलाई स्वस्थ र स्फुर्त बनाउनु, नेपाली कला संस्कृतिको संरक्षण, सम्बर्धन गर्नुका साथै नव प्रतिभा कलाकारहरुलाई विश्वस्तरीय प्लेटफर्म प्रदान गर्नका लागि आयोजना गरेको प्रथम संस्करणको कार्यक्रमले उल्लेख्य रुपमा सफलता हाँसिल गरेपछि आफुहरुले दोश्रो शृंखलाका लागि पनि तयार भएको इनास ग्लोवलले जनाएको छ।

१४ वर्ष माथिका कलाकारहरुले भाग लिन सक्ने यस प्रतियोगितालाई इनास ग्लोबलको आयोजनामा इनास क्षेत्रीय समितिहरु अमेरिका, युरोप, एसिया, मध्यपूर्व, ओसेनिया र इनास नेपालको प्रायोजनमा आयोजना गर्न लागिएको हो।

कार्यक्रममा ग्लोबल चरणमा पुग्न सफल हुने प्रतियोगीहरुलाई अघिल्लो वर्षका विजेताहरुबाट प्रशिक्षित गर्ने ब्यवस्था गरिने तयारि समेत भएको जनाइएको छ ।

यस प्रतियोगितामा दुवै विधातर्फ पहिलो,दोस्रो र तेस्रो हुनेलाई क्रमश : १ लाख रुपैयाँ, ५० हजार रुपैयाँ र २५ हजार रुपैयाँ नगदसहित ट्रफी र प्रमाण-पत्र प्रदान गरिने छ । प्रथम स्थान हासिल गर्ने टाइटल बिजेतालाई एक वर्षे कार्यकाल रहने गरि इनासको अवैतनिक सांस्कृतिक मानार्थ सदभावना दूत नियुक्त गरिने प्रतियोगिता आयोजक मूल समितिले बिज्ञप्ति मार्फत जनाएको छ ।

दोश्रो इनास अनलाइन गायन तथा नृत्य प्रतियोगिता सम्बन्धी नियमहरु :

१. प्रतियोगिता एकल हुनेछ ।

२. प्रतियोगीले गाउने वा नृत्य गर्ने गीत नेपाली हुनुपर्नेछ ।

३. प्रतियोगीमा १४ वर्ष उमेर पूरा भएका विश्वभर बसोबास गर्ने इच्छुक नेपाली वा नेपाली भाषी कलाकारहरुले भाग लिन सक्नेछन ।

४. प्रतियोगिता डिजिटल अडिसन, क्वाटरफ़ाइनल, सेमीफाइनल, र फाइनल गरि चार चरणमा सम्पन्न हुनेछ। आयोजक समितिले आवश्यक ठानेमा प्रतियोगीहरूबीच युगल प्रस्तुति चरण समेत थप गर्नसक्ने छ ।

५. फाइनल चरणमा नियमित प्रस्तुति अन्तर्गत लोक प्रस्तुति र निर्णायक चरण अन्तर्गत निर्णायकहरुको रोजाईको गीतमा प्रस्तुति (judges round) गरि दुई प्रस्तुतिहरु रहने छन।

६. प्रतियोगिताको लागि इच्छुक कलाकारहरुको प्रारम्भिक छनौट (अडिसन) डिजिटल्ली हुनेछ।

७. अडिशनपश्चात विश्वभरिबाट गायन विधामा कूल २५ जना र नृत्य विधामा कूल २५ जना प्रतियोगी कलाकारहरु ग्लोबल चरण अन्तर्गत क्वाटरफ़ाइनल चरणमा प्रवेश गर्ने छन् । क्वाटरफाइनलका लागि छनौट भएका प्रतियोगीहरुको नामावली सहित प्रस्तुतिको भिडियो पब्लिक भोटिङ्गको लागि इनासको फेसबुक पेजमा राखिने छ ।

८. क्वाटरफ़ाइनल चरणबाट गायन तर्फ १० र नृत्य तर्फ १० गरि कूल २० जना प्रतियोगीहरु सेमिफाइनल चरणमा प्रवेश गर्नेछन भने सेमिफ़ाइनलमा उकृष्ट ठहरिएका नृत्य तर्फ ५ र नृत्य तर्फ ५ गरि कूल १० जना प्रतियोगीहरु फाइनल चरणमा प्रवेश गर्नेछन।

९. प्रतियोगितामा भाग लिने कलाकारहरुले आफ्नो इच्छा सहित आफूले गाउने वा नाच्ने गीतको ओरिजिनल गायक, गीतकार वा संकलक, संगीत निर्देशक, चलचित्रको हो भने चलचित्रको नाम र उत्पादक कम्पनीको नाम सहित आफ्नो नाम, थर, ठेगाना र आफू रहेको देशको नाम खुलाई गायनको लागि [email protected] र नृत्यको लागि [email protected] मा भिडियो पठाउनुपर्नेछ। यसका साथै वेबसाइट www.inas.global मा रहेको फारम भरि भिडियो संलग्न गरेर पठाउन सकिने छ।

१०. प्रतियोगीले प्रस्तुत गर्ने गायन तथा नृत्यको प्रस्तुति कम्तिमा २ मिनट र बढिमा ३ मिनटको हुनुपर्ने छ।

११. प्रतियोगिताको लागि पठाइने भिडियो एक सटमा खिचिएको र कुनै पनि प्रकारले सम्पादन नगरिएको हुनुपर्ने छ।

१२. प्रतियोगिताको लागि पठाइने भिडियो टिकटकको जस्तो ठाडो नभई युट्युबमा राखिने जस्तो तेर्सो (landscape) हुनुपर्नेछ। साथै, अन्य कुनै अनलाईन गायन वा नृत्य प्रतियोगितामा सहभागिताका लागि पठाइएको र पहिलेनै युट्युबमा अपलोड गरि सार्वजनिक गरिसकेको भिडियोलाई स्वीकार गरिने छैन।

१३. गायन विधाका प्रतियोगीले म्युजिक ट्रयाकमा वा सांगीतिक उपकरणहरु बजाएर गीत गाउन सक्ने छn । तथापि गीत गाउँदा माइकको प्रयोग भने गर्न पाइने छैन।

१४. निर्णयको लागि सम्वन्धित विधामा दक्षता हासिल गरेका व्यक्तित्वहरु रहनुभएको एक निर्णायक समिति रहनेछन भने प्रतियोगितामा नतिजा पब्लिक भोटिंग अन्तर्गत फेसबुकमा प्राप्त हुने लाइक संख्या र निर्णायक मण्डलबाट प्राप्त हुने कूल अङ्कको आधारमा गरिने छ ।

१५. पब्लिक भोटिङ्गको समयावधि भिडियो अपलोड गरिएपछि ७ दिनको हुनेछ। पब्लिक भोटिङ्ग अन्तर्गत तोकिएको अवधिमा प्राप्त हुने लाइक्सहरुलाई गणना गर्दा एक लाइक बराबर एक अंक प्रदान गरिने छ ।

१६. निर्णायक समूहबाट प्राप्त हुने अङ्कलाई कूल अङ्कको ९० प्रतिशत र पब्लिक भोटिंगबाट प्राप्त हुने कूल अङ्कलाई १० प्रतिशत अङ्कभार प्रदान गरिने छ । यसप्रकार निर्णायक समूह र पब्लिक भोटिंग दुवैबाट प्राप्त अङ्क प्रतिशतलाई जोड्दा हुनआउने कूल अङ्क मध्ये सबैभन्दा बढि अङ्क प्राप्त गर्ने प्रतियोगीलाई प्रतियोगिताको अर्को चरणमा प्रवेश गराइने छ ।

१७. क्वाटरफ़ाइनल चरणमा प्रवेश गरेका गायन तथा नृत्य दुवै विधाका कलाकारहरुलाई नृत्य र गायन सम्बन्धी आवश्यक सरसल्लाह एवं अनलाइनबाट प्रशिक्षण दिन प्रथम इनास ग्लोबल गायन तथा नृत्य प्रतियोगिताका बिजेता समूह मध्यबाट मेण्टोरहरुको ब्यबस्था गरिनेछ ।

१८. प्रतियोगितामा प्रथम हुने नृत्य तथा गायन दूवै विधाका प्रतियोगीहरुलाई एक कार्यकाल रहने गरि इनासको अवैतनिक मानार्थ सांस्कृतिक दूत (Honerary Cultural Goodwil Ambassador) नियुक्त गरिने छ । साथै इनास ग्लोबल सिङ्गिङ्ग स्टार २०२१ (INAS Global Singing Star 2021) वा इनास ग्लोबल डान्सिङ्ग स्टार २०२१ (INAS Global Dancing Star 2021) को उपाधि सहित जनही नगद रु. १,००,००० (नेपाली रुपैया एक लाख), ट्रफी र प्रमाण-पत्र प्रदान गरिनेछ । द्वितीय स्थान हासिल गर्ने दूवै विधाका प्रतियोगीहरुलाई इनास ग्लोबल सिङ्गिङ्ग स्टार र डान्सिङ्ग स्टार २०२१ -फष्ट रनर अप ( INAS Global Singing or Dancing Star 2021 – 1st runner up ) र तृतीय स्थान हासिल गर्ने प्रातियोगीलाई इनास ग्लोबल सिङ्गिङ्ग वा डान्सिङ्ग स्टार २०२१ सेकेण्ड रनर अप (INAS Global Singing or Dancing Star 2021, 2nd runner up) क्रमश: रु. ५०,००० (नेपाली रुपैया पचास हजार) नगद, ट्रफी र प्रमाण-पत्र र रु. २५,००० (नेपाली रुपैया पच्चीस हजार) नगद, ट्रफी र प्रमाण-पत्र प्रदान गरिनेछ ।

प्रतियोगितामा चौथो र पाँचौ स्थान हासिल गर्ने कलाकारलाई सम्मान स्वरुप ट्रफी र प्रमाण पत्र प्रदान गरिनुका साथै फाइनलमा प्रवेश गर्ने सबै कलाकारहरुलाई प्रमाण-पत्र सहित मायाको चिनो (Token of love ) प्रदान गरिने छ। बिजेता कलाकारहरुलाई चलचित्र, म्युजिक भिडियो आदिमा गायन तथा अभिनयको अवसर प्रदान गरिनेछ । इनास चलचित्र अवार्ड लगायतका कार्यक्रमहरुमा प्रस्तुतिको अवसर समेत प्रदान गरिनेछ ।

१९. कार्यक्रम सम्बन्धी सम्पूर्ण अधिकार आयोजकमा सुरक्षित रहने छ।

तपाइँको प्रतिक्रिया