सोमबार, वैशाख २४, २०८१

“एनआरएनएको एउटा मुल मुद्दा देश समृद्द बनाउने अभियानमा योगदान गर्नु हो” सुनील साह, केन्द्रिय पदमा उपाध्यक्षका उम्मेदवार

नेपालप्लस संवाददाता२०७८ कार्तिक १४ गते १५:१०

राष्ट्रिय समन्वय परिषद् अमेरिकाको नेतृत्वमा रहिसकेका सुनील साहले आफ्नो कार्यकालमा उत्कृष्ठ काम गरेर देखाए । आफू अध्यक्षको पदमा वहाल हुँदा ९ हजारको आसपास रहेको संघको सदस्य संख्या उनको कार्यकाल सकिंदासम्म झण्डै २३ हजार पुगेको थियो । आफ्नो कार्यकालमा आर्थिक रुपमा पनि संघलाई बलियो बनाएको साह बताउँछन् । राष्ट्रिय समन्वय परिषद्को अध्यक्ष हुनु अघि साहले एनसिसी अमेरिकाको वरिष्ठ उपाध्यक्ष भई काम गरेका थिए । संघ स्थापनादेखिनै प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा संघको अभियानमा जोडीएको बताउने साहले सबै अग्रजहरुको सल्लाह र साथीहरुको सुझावपछि संघको अन्तराष्ट्रिय समन्वय परिषद्को केन्द्रीय उपाध्यक्षको उम्मेदवार बन्ने गरी तयारी अघि बढाएको जनाए ।

के का लागि हो तपाईंको उम्मेदवारी ?

सर्वप्रथम, गैर आवासीय नेपाली संघ एउटा संस्था मात्र नभएर गैर आवासीय नेपाली अभियानको एउटा महत्वपूर्ण हिस्सा हो । गैर आवासीय नेपालीहरुको एकमात्र अन्तराष्ट्रिय सञ्जाल भएको यस संस्थाले गैर आवासीय नेपाली अभियानलाई नेतृत्वदायी भूमिका खेल्दै आएको छ । सँगसँगै मातृभुमी नेपाल देखि लिएर विश्वभर जहाँ जहाँ नेपालीहरु हुनुहुन्छ त्यहाँ त्यहाँ परोपकारी कार्यमा पनि संघले महत्वपूर्ण योगदान गर्दै आएको छ । नेपालको आर्थिक सम्वृद्दीमा पनि गैर आवासीय नेपाली संघले कहि न कहि भूमिका खेलिरहेको छ । तसर्थ निश्चय पनि संक्षेपमा भन्नुपर्दा संघको माध्यमबाट नेपालको आर्थिक सम्वृद्दीमा योगदान दिंदै सामाजिक तथा परोपकारी कार्यमा जुट्ने अनि एनआरएन अभियानलाई अझ व्यापक बनाउनका लागि मेरो उम्मेद्वारीको तयारी हो । यसो भनिरहँदा एनआरएन अभियानमा लाग्नका लागि पदनै चाहिन्छ भन्ने पनि प्रश्न आउन सक्छ । यो स्वभाविक पनि हो । तर पनि पदमा रहेर जिम्मेवारीपूर्वक नेतृत्वदायी भूमिका खेल्न सक्दछु भन्ने म मा आत्मविश्वास छ । त्यहि कारणले गर्दा नै मैले अन्तराष्ट्रिय समन्वय परिषदको आगामी महाधिवेशनमा उपाध्यक्षको निम्ति तयारी गरेको हुँ । संघको राष्ट्रिय समन्वय परिषद्,अमेरिका जो सबैभन्दा ठूलो एनसिसीको रुपमा रहेको छ, त्यसको नेतृत्व गर्दा मैले हासिल गरेको अनुभवले पनि मलाई अगाडि बढ्नका लागि प्रेरणा मिलेको हो ।

एनआरएनएका खास मुद्दा के के छन् ? तपाईको योजना के छ ?

मैले अघि पनि भनें, एनआरएनए भनेको केवल संस्था मात्र होइन यो त एउटा एनआरएन अभियानलाई नेतृत्वदायी भूमिका खेल्ने अभियानकै एउटा हिस्सा हो । यसको अर्थ के हो भने संघको मुद्दाहरु भनेको एनआरएनहरुको आवश्यकताका विषयहरु हुन् । जुन उद्देश्यले संघ स्थापना भएको थियो त्यो उद्देश्य अनुरुपनै संघले आफ्ना मुद्दाहरु स्थापित गर्दै आएको छ । समयक्रमसँगै एनआरएनहरुका पनि विभिन्न समस्याहरु बाहिर आउने गरेका हुन्छन् । ती समस्या र आवश्यकताहरुलाई समाधानको निम्ति पहलकदमी गर्ने दायित्व एनआरएनएको हो । त्यसैले एनआरएनएको मुख्य मुद्दाहरुमा एनआरएनहरुको आवश्यकतामा निर्भर रहेको हुन्छ । कतिपय नितिगत तहबाटै नेपाल सरकार तथा सम्बन्धित सरोकारवालाहरुबाट समाधान खोज्नुपर्ने मुद्दाहरु हुन्छन् भने कतिपय आवश्यकताका क्षेत्रहरु एनआरएनहरुविचबाटै पनि समाधान गर्न सकिने हुन्छन् । मेरो प्रयास त्यसैमा हुन्छ ।

खास मुद्दा के हुन् ?

एनआरएनएले अहिले विशेष रुपमा उठाइरहेको विषय भनेको नागरिकताको निरन्तरता, दोहोरो कर प्रणालीको खारेजी, नेपाली नागरिकताका वाहक गैर आवासीय नेपालीलाई मतदान गर्न पाउने अधिकारको सुनिश्चितता, वैदेशिक श्रम वजारमा रहेकाहरुलाई सामाजिक सुरक्षाको व्यवस्था यी यस्ता नितिगत तहबाट समाधान गर्नुपर्ने विषयहरु हुन् । यसलाई मुद्दाकै रुपमा विगतदेखिनै एनआरएनए उठाइरहेको छ । अब यसलाई निचोडमा पुर्‍याउनुपर्नेछ । यस बाहेक पनि संघको संस्थागत विकासको पाटोदेखि धेरै विषयहरु छन् जो आवश्यकतामा निर्भर रहेको हुन्छ । र म के पनि भन्छु भने एनआरएनएको मुद्दाको सवालमा म हाम्रा संस्थापक अध्यक्ष उपेन्द्र महतोले निकै महत्वका साथ राख्दै आउनुभएको विचारलाई सम्झन चाहन्छु । उहाँ भन्नुहुन्छ ‘देश समृद्द नभएसम्म एनआरएनएको अभियान पुरा हुँदैन ।’ यो भनाईले ठूलो अर्थ राखेको छ ।

मूल मुद्दानै तपाईका तिनै हुन् ?

मलाई पनि लाग्दछ, एनआरएनए अभियानको एउटा मुल मुद्दा भनेको देश समृद्द बनाउने पनि हो । मातृभुमी नेपालले गरिबीलाई परास्त गर्न सक्यो भने देश विकासको आधार त्यसबाट तय हुन्छ । र त्यो पवित्र काममा संस्थागत होस्, वा पारिवारिक वा व्यक्तिगत वा भनौं सामुहिक रुपबाट हामी एनआरएनले सक्दो योगदान गर्नु जरुरी छ । फेरि योगदानको कुरा गर्दा केवल आर्थिक (पैसा) मात्र होइन सिप, ज्ञान देखि लिएर हामीले सिकेको अनुभवलाई पनि नेपालको हितमा उपयोग गर्न सक्दा पनि त्यो देश विकासको निम्ति सहयोगी बन्न सक्दछ । यसर्थ केवल मेरो मात्र कुरा होइन, व्यक्तिगत ढंगबाट हामी एनआरएनहरुले गर्ने भनेको के गर्दा देशको हितमा काम गर्न सकिन्छ त्यही गर्ने हो । रह्यो कुरा एनआरएनए संस्थामार्फत त्यसमा म उपाध्यक्षको तयारी गरिरहँदा संस्थागत ढंगबाट मैले गर्नुपर्ने कुनै कसर बाँकी नराख्ने प्रतिवद्वता व्यक्त गर्दछु ।

देशलाई सम्वृद्द बनाउने एजेण्डाले मात्रै आप्रवाशीका समस्या हल हुन्छन् ? नितिगत कुरो हुन्न ?

मैले विश्वभर हावी हुँदै गरेको आप्रवासी प्रतिका अनुदार नितिका सम्बन्धमा होस् वा कोरोना पछि विश्वमा देखिएको वैदेशिक रोजगारीको खस्कँदो स्थितिले त्यसबाट नेपालीलाई पार्ने प्रभावलाई कम गर्न अवलम्वन गर्न सकिने वैकल्पिक उपायको खोजी गर्नुपर्छ । वैदेशिक श्रम वजारमा रहनुभएका नेपालीको सामाजिक सुरक्षाको सुनिश्चितता गर्नै पर्छ । ति सबै विषयलाई संवोधन गर्न र मुख्यत: संस्थाप्रतिको विश्वासलाई अभिवृद्दि गर्नका लागि मैले महत्वपूर्ण भूमिका खेल्न सक्छु भन्ने मलाई विश्वास छ ।

तर अहिलेको अवस्था हेर्दा त अधिवेशन नै होला जस्तो छैन । एनआरएनको भविश्य नै संकटमा परेको हो ?

अहिले केही अन्योलता देखिएको छ । यो सत्य हो । र जुनसुकै कारणले यस्तो भएको भए पनि यो एकदम नराम्रो कुरा हो । संस्था जिवित राख्नका लागि अधिवेशन अपरिहार्य हो । अधिवेशन भनेको समग्रमा संस्थाले गरेका कामको मुल्यांकन गर्ने थलो पनि हो । बाहिर सतहमा देखिए जस्तो समस्याको ठूलो पहाड छ जस्तो मलाई लाग्दैन । कुनै ब्यक्ति वा गुटका कारण अधिवेशन रोक्नु हुँदैन । केही विवादहरु होलान् तिनलाई मिलाएर जानु पर्दछ । विधी विधानमा केही कमी कमजोरी छ भने त्यसलाई सल्ट्याएर अधिवेशन गर्नै पर्छ र हुन्छ पनि । अहिले वर्तमान कार्य समिती र पूर्व अध्यक्ष ज्यूहरु यस विषयमा लागिरहनु भएको छ । यदी हाम्रो पनि केही भूमिका हुन्छ भने हामीहरु तयार नै छौं ।

विवाद समाधानका लागि केही भूमिका त तपाईंहरुको पनि होला, के पहल गर्नु भएको छ ?

हामी नेतृत्वमा जान चाहने वा नेतृत्वमै रहेकाहरुले पनि पहिले त समस्या के हो, केका लागी विवाद भएको छ भन्ने कुरा बुझ्न जरुरी छ । र त्यो कुरा सम्पूर्ण एनआरएनहरुलाई बुझाउन आवश्यक छ । समग्रमा छलफल भए पछी समाधान निस्किन्छ । मैले पनि त्यही कुरा गरिरहेको छु । सबै एनआरएनहरुले बोल्न थाले पछी यसको समाधान हामीभित्रैबाट निस्किन्छ ।

तपाईंले अघी विधानमा केही कमी कमजोरी भए पनि सच्याउन सकिन्छ भन्नु भयो ! छन् त्यस्ता कमी कमजोरिहरु ?

विधान बनाउने तपाईं हामीले नै हो । विधान भनेको जहाँँ पनि अली ‘भेग’ हुन्छ । त्यसकारणले यसको व्याख्या पनि विभिन्न कोणबाट गर्न सकिन्छ । अनी समयको पनि कुरा हुन्छ । ५ वर्ष अघी ठीक लागेको कुरा अहिले आउँदा ठीक नहुन सक्दछ । त्यस्ता कुराहरु समय अनुसार परिवर्तन हुनु पर्दछ । फेरी विधान भनेको परिवर्तन गर्नै नमिल्ने कुरा पनि भएन । तर अहिलेको विधानमा यही कमी कमजोरी छन् भनेर म भन्न सक्दिन । तै पनि केही कमजोरी पक्ष छन् भने फेर्नै नमिल्ने भन्ने होइन ।

अहिले धेरै मान्छेहरुको सोचाइ एनआरएन आफ्नो उद्देश्य भन्दा बाहिर गयो भन्ने छ । त्यस्तै हो ?

संस्था पहिलेको तुलनामा धेरै ठूलो भयो । पहिले केही सिमित कुराहरु मात्र टेवलमा थिए, अहिले दायरा फराकिलो भएको छ । त्यसले गर्दा अली आफ्नो उद्देश्य भन्दा बाहिर गएको भन्ने जस्तो देखिन्छ । खासमा संघ ट्र्याक मै छ । भनिए जसरी बाहिर गएको छैन । अब राजनीतिको कुरा पनि आएको छ, सर्सर्ती हेर्दा राजनीति धेरै भयो जस्तो पनि देखिन्छ । धेरै सदस्य भएको संस्थामा यस्ता कुरा हुनु सामान्य नै हो । तर मलाई चाहीं कसैले पनि एनआरएनमा राजनीतिक एजेन्डा घुसाएको जस्तो लाग्दैन ।

एनआरएनए संस्था, धनीहरुको संस्था हो भन्ने आरोप सुनिन्छ, त्यस्तै हो ?

विश्वभर छरिएर रहनुभएका गैर आवासीय नेपालीहरुको साझा संस्थाको रुपमा गैर आवासीय नेपाली संघ रहेको छ । यो मात्र एउटा संस्था हो, जसले विश्वभर रहेका हामी गैर आवासीय नेपालीलाई एउटा मालामा जोडेको छ । पक्कैपनि, संस्थाको नेतृत्वमा रहनुभएका व्यक्तिहरुलाई हेरेर वा त्यसलाई आधार बनाएर त्यस्ता खालका टिका टिप्पणी पनि आएका होलान्, यसमा अन्यथा केही भन्नु छैन । मुख्य कुरा संस्था के उद्देश्यले स्थापना भएको हो, संस्थाका सदस्यहरु को हुन्, संस्थाले के गरिरहेको छ ? यस्ता विषयहरुले संस्थालाई जिवन्त राख्दछ । त्यो अर्थमा म के भन्छु भने यो संस्था आम गैर आवासीय नेपालीहरुको साझा संस्था हो । हो पक्कैपनि अझ धेरै गैर आवासीय नेपालीलाई हामीले सदस्य बनाउनुपर्नेछ । उहाँहरुको सहभागिता र एजेण्डालाई समेट्नुपर्ने छ । त्यस अर्थमा हामीले काम गर्नुछ । त्यतातर्फ सबै एनआरएनएका अभियन्ताहरु लाग्नुपर्ने भएको छ ।

एनआरएनहरुले विदेशमा आर्जन गरेको सिपलाई नेपालसँग जोड्नुपर्छ त भनिन्छ, त्यसको व्यवहारिक कार्यन्वयन कस्तो देख्नुभएको छ ?

पक्कै पनि, एनआरएनहरु नेपालको समृद्दि र विकासको सहयात्री हुन चाहन्छन् । सहकार्य गर्न चाहन्छन् । कुनै न कुनै रुपमा त्यो नभएको भने होइन । केही भैपनि रहेको छ । र यसलाई संस्थागत ढंगबाट अगाडि बढाउने पहल पनि भएको छ । आर्थिक लगानी मात्र होइन मातृभुमीका लागि ज्ञान, सिपको स्थानान्तरण पनि एउटा ठोस योगदानको रुपमा रहन्छ र रहनुपर्दछ भन्ने मान्यता अनुरुप संघले विश्व ज्ञान सम्मेलनको अवधारणा अगाडि सारेको छ । र भन्नैपर्छ, विश्व ज्ञान सम्मेलन हुनुअघि एनआरएनए अमेरिकाले अमेरिकाज रिजन स्तरको क्षेत्रीय ज्ञान सम्मेलन पनि सम्पन्न गरेर ज्ञान सम्मेलनको सुरुवात गरेको थियो । र त्यो ज्ञान सम्मेलन राष्ट्रिय स्तरमा एनआरएनए अमेरिकाले गर्दै आएको छ । एनआरएनए आइसिसीले पनि ग्लोबल रुपमा ज्ञान सम्मेलन गर्दै आएको छ । सम्मेलनका माध्यमबाट विश्वभर रहनुभएका विभिन्न क्षेत्रका विज्ञहरुलाई एक ठाउँमा भेला गरी संघले उहाँहरुको ज्ञान र सिपलाई नेपाल सरकार मार्फत नेपालसँग कनेक्ट गराउने कामको सुरुवात गरिसकेको छ । कतिपय योजनाहरु पनि एनआरएनहरुको नेतृत्व गरेर अगाडि बढेको छ भने कतिपय महत्वपूर्ण योजनाहरुमा एनआरएनहरुको सहकार्य भएको छ । विस्तारै ज्ञान र सिपको स्थानान्तरणको प्रक्रिया अघि बढिरहेको छ ।

अन्त्यमा केही ?

सर्बप्रथम, गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् अमेरिकाको नेतृत्व गरिरहँदा सबैबाट प्राप्त सहयोगले धेरै भन्दा धेरै कार्यहरु गर्न संघले सफलता प्राप्त गर्‍यो । त्यसका निम्ति सबैमा आभार व्यक्त गर्दछु । विश्वभर रहनुभएका एनआरएनहरुको सद्भावले एनआरएनए अमेरिकाले कोरोना १९ को कहरमा पनि उत्कृष्ट काम गर्न सकेको अनुभूमि मैले गरेको छु । राष्ट्रिय समन्वय परिषदको नेतृत्व गरिरहँदा प्राप्त अनुभव, उर्जा, काम गर्नुपर्ने क्षेत्रको पहिचानको जगमा टेकेर अन्तर्राष्ट्रिय समन्वय परिषदको विश्वव्यापी संजालमार्फत एनआरएनए अभियानमा अझ प्रभावकारी काम गर्न सक्छु भनी अन्तराष्ट्रिय परिषदको उपाध्यक्ष पदको उम्मेद्वार बन्ने तयारी गरेको छु । आशा छ सबै एनआरएनहरुबाट बिगतमा झैं सहयोग प्राप्त हुनेछ । त्यो सहयोगमा खरो उत्रने वचनवद्वता व्यक्त गर्दछु ।

तपाइँको प्रतिक्रिया

फेसबुक