बिहीबार, वैशाख २०, २०८१

पेरिसको सेन नदीलाई स्विमिङ पूलमा परिणत गरिने !

नेपालप्लस संवाददाता / फ्रान्स२०८० असार ११ गते १७:१३

फ्रान्सको राजधानी पेरिस महानगरपालिकाले पेरिसको सेन नदीलाई स्विमिङ पूलमा परिणत गर्ने महत्वाकांक्षी योजना सार्वजनिक गरेको छ ।

हालसम्म पेरिस शहरभित्र सेन नदीमा पौडी खेल्न प्रतिबन्धित भएपनि अब छिट्टै यसलाई ‘स्विमिङ स्पट’ बनाउन लागिएको हो ।

अहिले सेन नदीको पानी नुहाउनकालागि हानिकारक मानिन्छ । तर यो हानिकारक सेनको पानीलाई पौडी खेल्ने ठाउँमा रूपान्तरण गर्नको लागि हाल एक अर्ब ४० करोड युरोको एक व्यापक सफाई परियोजना चलिरहेको छ।

अर्को वर्ष पेरिसमा हुने ग्रीष्मकालीन ओलम्पिकको समयमा सेनको पानीमा पौडी खेल्ने केही कार्यक्रमहरू हुनेछन्।

यो नदी सफा गरी पौडी खेल्नेहरूका लागि सुरक्षित बनाउने महत्वाकांक्षी योजनाको एक हिस्सा हो।

त्यसो त, सन् १९०० मा आयोजित ओलम्पिकमा यो नदीमा पौडी खेल्ने कार्यक्रमहरू आयोजना गरिएको थियो । तर, डुङ्गाहरुको ट्राफिक र जल प्रदूषणको खतराको कारण सेनमा नुहाउन सन् १९२३ देखि निषेध गरिएको थियो ।

अब, पेरिस महानगरपालिकाले नदीलाई ओलम्पिकमा पौडी प्रतिस्पर्धा गराउन र २०२५ सम्ममा जनताका लागि पनि पौडी खेल्ने ठाउँको रूपमा पुनर्जीवित गर्न चाहन्छ ।

सेनमा पौडी खेल्न सुरक्षित छ ?

सेनको किनारहरू घुम्नको लागि रोमाञ्चक र रमणिय ठाउँ हुन् । तर यसको पानी यति विषाक्त भएको छ कि माछाहरू बाँच्नको लागि संघर्ष गरिरहेका छन् ।

भाँचिएका, टुटफुट बाइक र फोहोरको डम्पिङ ग्राउन्ड हुनुका साथै पेरिसको नदी प्रशोधित फोहोर पानीले प्रदूषित छ ।

सेनमा जलमार्गको मुख्य काम अब डुङ्गाहरूमा सामान र मानिसहरू ढुवानी गर्नु हो।

तर हाल पेरिस महानगरपालिकाले यो सबै बदल्ने योजना अघि सारेको छ । केही वर्षको अवधिमा शहरका आगन्तुकहरूले आफूलाई प्रख्यात पानीमा डुबुल्की मारिरहेको पाउन सक्छन् ।

हानिकारक सेनको पानीलाई पौडी खेल्ने ठाउँमा रूपान्तरण गर्नको लागि एक अर्ब ४० करोड युरोको एक व्यापक सफाई परियोजना चलिरहेको छ।

यो योजना निकै पहिलेदेखि घोषित थियो । तर ओलम्पिक खेलको समय नजिकिएकाले यो परियोजनापनि तिब्ररुपले अगाडि बढेको हो ।

ओलम्पिक ट्रायथलन र ओपन वाटर रेसका लागि अर्को वर्ष जुलाईसम्म नदी तयार हुनुपर्छ, त्यसपछि प्याराओलम्पिकका लागि । सेन पनि उद्घाटन समारोहको केन्द्रबिन्दु हुनेछ, जुन पानी र सेनको किनारमा हुनेछ ।

सफाई परियोजना अन्तर्गत् घरहरू र हाउसबोटहरूलाई तिनीहरूको फोहोर पानी नदीमा पठाउन रोक्का गर्ने र ढल प्रशोधन प्लान्टहरू सुधार गर्ने छ।

जिवाणु (ब्याक्टेरिया) ले भरिएको फोहोर पानी आकाशबाट पानी पर्दा नदीमा निस्कन नदिन ठूला भण्डारण बेसिन पनि निर्माण भइरहेका छन् ।

कहिले पाइन्छ सेनमा पौडी खेल्न ?

ओलम्पिक पछि, नदी २०२५ को ग्रीष्ममा जनताको लागि खोल्न तय गरिएको छ। सिटी हलले पेरिस भित्र र अगाडि दुवैतिर सेनको छेउमा पाँचवटा पौडी खेल्ने ठाउँहरूको स्थानहरू अध्ययन गरिरहेको छ ।

सेन नदीको किनारमा दुई वटा र पेरिस सेन्टरमा एउटा, १२ औं वडा स्थित बेर्सीको बन्दरगाहमा, र १६ वडा स्थित ब्वा द बुलोन्यिँयको आले दु ब द लोमा एउटा हुनेछ।

पेरिसले सन् २०५० सम्म सम्भावित रूपमा ५० डिग्री सेल्सियस भन्दा बढि गर्मीको तापक्रमको सामना गर्दै छ। पौडी खेल्ने पानीले शहरलाई भविष्यमा अझ बढी बाँच्न योग्य बनाउन मद्दत गर्नेछ।

यस परियोजनाले अन्य शहरहरूलाई उनीहरूको जलमार्गहरू सुरक्षित बनाउन सुरु गर्न प्रेरित गर्ने आशा पनि राखेको छ ।

“यसले संसारभरि छालहरू सिर्जना गर्नेछ, किनकि धेरै शहरहरूले पेरिसलाई हेरिरहेका छन्,” नियमित नमूना लिएर सिटी हलको लागि सेनको पानीको गुणस्तर ट्र्याक गरिरहेका एक वैज्ञानिक ड्यान एन्जेलेस्कु भन्छन्, ‘यो आन्दोलनको सुरुवात हो । कम्तिमापनि हामी त्यो आशा गर्छौं ।”

तपाइँको प्रतिक्रिया

फेसबुक