मंगलबार, वैशाख २५, २०८१

एनआरएनए डेनमार्कको अध्यक्षमा शर्मा निर्वाचित

नेपालप्लस संवाददाता  / कोपनहेगन, डेनमार्क२०८० असार १८ गते २०:२०

कमलराज शर्मा

गैर आवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद डेनमार्कको २०२३–०२५ का लागि अध्यक्षमा कमलराज शर्मा निर्वाचित भएका छन् ।

आठौं अधिवेशनपछि शनिवार सम्पन्न निर्वाचनमा शर्माले ६५३ मत ल्याएर विजयी भएका हुन । महिलाले अध्यक्षमा पहिलो पटक उमेदवारी दिएकी जमुना देवी रिजाल कँडेलले २४२ ल्याएकी छन् भने अर्का उमेदवार राधाकृष्ण सापकोटाले १४९ मत ल्याए ।

तीन जनाको उमेदवारी परेको आइसीसी सदस्यमा दिपकराज रिजाल निर्वाचित भए । उपाध्यक्षहरुमा निल बिक्रम थापा र प्रदीप तिवारी निर्वाचित भएका छन् । महिला उपाध्यक्षमा मनिषा सिंह कोइराला निर्बिरोध निर्वाचित भइन भने महासचिवमा नवराज (नविन) आचार्य विजयी भएका छन् । महासचिवमा तीन जनाको उमेदवारी परेको थियो ।

यसैगरी सचिवमा निलम रानाभाट खड्का निर्बिरोध भइन् भने कोषाध्यक्षमा देवकुमार गिरी चुनिए । सह–कोषाध्यक्षमा सरस्वती कार्की र महिला संयोजकमा लक्ष्मी बेलवासे निर्बिरोध निर्वाचित भए ।

त्यस्तै युवा संयोजकमा भुवन खड्का छानिए । सदस्यहरुमा क्रमशः एलेक्स पोखरेल, गोविन्द पौडेल, निराजन गुरुङ, रामप्रसाद अर्याल र सन्तोष बस्नेत निर्वाचित भएका छन् ।

एक हजार दुई सय ८० पंजिकृत सदस्य रहेकामा एक हजार ४६ मत खसेको थियो । निर्वाचन सम्पन्न गर्न दिपक कुमार तिवारीको संयोजकत्वमा सातजनाको निर्वाचन समिति गठन गरिएको थियो ।

निर्वाचन विश्वासिलो र पारदर्शी बनाउन १३ वर्षमाथिदेखि १८ वर्ष मुनिका २७ जना बालबालिकाहरु स्वयंसेवकको रुपमा सहभागी गराइएको निर्वाचन संयोजक तिवारीले बताए । सबैभन्दा बढी सदस्य भएको यो निर्वाचनमा झडपको अवस्था भएपछि केहि समय मतदान प्रकृया बन्द गर्नु परेको थियो ।

यो निर्वाचनमा उमेदवारहरुले आफूलाई स्वतन्त्र रुपमा उमेदवारी दिएको दावी गरेका थिए । तर, आफूलाई जिताउन यो पटक सबैभन्दा बढी खिचातानी, खेलवाड, अविश्वासको वातावरण भएको थियो । यहि अविश्वासको वातावरणले निरन्तरता पायो भने नयाँ कार्य समितिलाई काम गर्न सजिलो भने हुने छैन ।

क्षेत्रिय समन्वयमा थापा निर्वाचित

दिनेश थापा

गैर आवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रिय समन्वय परिषद साउदन डेनमार्कको २०२३–०२५ का लागि दिनेश थापा सर्बसम्मत पुन चुनिएका छन् ।

शाखाको उपाध्यक्षमा बिशाल ज्ञवाली, महासचिवमा ओङदेल लामा, कोषाध्यक्षमा पासाङ शेर्पा छानिएका छन् ।

त्यसैगरी युवा प्रतिनिधिमा रामप्रसाद रिजाल, महिला प्रतिनिधिमा ईशिका अर्याल निर्वाचित भएका छन् । सदस्यहरुमा आङछिरिङ शेर्पा र राजु गुरुङ निर्बाचित भएका छन् । निर्वाचन आइतबार सम्पन्न भएको थियो ।

तपाइँको प्रतिक्रिया