शुक्रबार, वैशाख २८, २०८१

एनआरएनएका प्रतिनिधि चुन्न प्रवासी कांग्रेसको बेलायतमा बैठक

नेपालप्लस संवाददाता / काठमाडौं२०८० भदौ ३ गते १८:४९

गैर आवासीय नेपाली संघ (एनआरएनए) को आगामी ११ औं महाधिवेशनमा नेपाली कांग्रेसका तर्फबाट केन्द्रिय र क्षेत्रिय प्रमुख पदको टुंगो लगाउन बेलायतमा बैठक बसेको छ ।

नेपाली जनसंपर्क समिति (जसस) र खासगरि प्रवाशमा नेपाली कांग्रेसको तर्फबाट आगामी निर्वाचनमा पदाधिकारीको नाम सिफारिस गर्न एनआरएनए अभियन्तासमेत रहेका नेपाली कांग्रेसका कार्यकर्ताहरुले लण्डनमा बैठक गरिरहेका हुन् ।

गत केहि हप्तादेखि आगामी निर्वाचनकालागि कसलाई उम्मेदवारमा छनौट गर्ने, पार्टीले कसलाई जिम्मेवारी दिने भन्ने विषयमा कांग्रेस नेता,  प्रवाशका कांग्रेस कार्यकर्ताबिच काठमाडौंमा लगातार बैठक बसेको थियो ।

एनआरएनएको आगामी निर्वाचनमा कांग्रेसका तर्फबाट उम्मेदवारहरुको टुंगो लगाउन कांग्रेस नेता पूर्ण बहादुर खड्काको चाजोपाँजोमा कांग्रेस सभापती शेर बहादुर देउवा र आरजु राणा देउवा सम्मिलित बैठक बसेको थियो । उनीहरुले एनआरएनए पदाधिकारीको टुंगो लगाउन करिब १० दिन गृहकार्य गरेका थिए । उक्त गृहकार्य पछि कुल आचार्यलाई कांग्रेसको प्यानल बनाउने जिम्मा दिईएको थियो ।

डा. केशब पौडेलले अध्यक्षबाट नाम झिक्ने तर उनले सिफारिस गरेको ब्यक्तिलाई महासचिव पद दिने सहमति पूर्णबहदुर खड्का, शेर बहादुर देउवा र डा. आरजु राणा सम्मिलित बैठकमै भएको थियो । सोहि बैठकको निर्णय अनुसार डा. केशब पौडेलले अध्यक्षबाट नाम झिके र महासचिवमा आफ्नो तर्फबाट बुद्दिसागर सुबेदीलाई सिफारिस गरेको बैठकमा सम्मिलित एक कांग्रेस कार्यकर्ताले नेपालप्लसलाई बताए।

सभापती देउबा र पत्नी आरजु राणा देउवासितको सामुहिक बैठक अघि नेपाली कांग्रेसका नेता पूर्ण बहादुर खड्काले प्रवाशबाट गएका कांग्रेस कार्यकर्तासित पटक पटक छलफल गरेका थिए ।

एनआरएनए निर्वाचनका बारेमा कांग्रेस केन्द्रिय कार्यालय, परराष्ट्र मन्त्री एनपि साउत, गगन थापा, पूर्ण बहादुर खड्का, कांग्रेसको प्रवाश कमिटि लगायतमा पटक पटक छुट्टाछुट्टै र प्रवाशका नेतासम्मित सामुहिक बैठक बसेको थियो ।

अन्त्यमा नेपाली कांग्रेसका तर्फबाट अध्यक्षमा महेश श्रेष्ठलाई अध्यक्षका रुपमा अगाडि सार्दै बाँकी पदका लागि गम्भिर बहस, छलफल र सहमतिमा सबैलाई मिलाएर लैजान भन्दै कुल आचार्यलाई टिम बनाउने जिम्मेवारी दिईएको थियो ।

सोहि जिम्मेवारी अनुसार बेलायतको लण्डनमा कुल आचार्यसहित बुद्दि सागर सुबेदी, दिपक गौतम, महेश श्रेष्ठ, डा केशब पौडेल, गंगाधर गौतम, दयानिधि सापकोटा लगायतका करिब एक दर्जन कांग्रेस कार्यकर्ता र एनआरएनए अभियन्ता छलफलमा जुटेका हुन् ।

अमेरिका, क्यानडा, जापान, मध्यपूर्व लगायतका देशबाट एनआरएनए आगामी नेतृत्वकालागि पार्टीसितको छलफलका लागि काठमाडौं पुगेका नेताहरु फेरि प्रवाशका अभियन्ताबिच अर्को आन्तरिक छलफल गर्ने भन्दै लण्डन आएका हुन् ।

लण्डनमा एनआरएनए बेलायतको नयाँ कार्य समितिलाई आइतवार पद हस्तान्तरण कार्यक्रमको मेसोसमेत मिलाएर आएका उनीहरुले शनिवारपनि छलफल गरेका थिए । शनिबार कुन कुन ब्यक्तिलाई कुन कुन पद दिने भन्ने विषयमा केहिबेर छलफल गरेका हुन् । एनआरएनए बेलायतको नयाँ कार्य समितिलाई आइतवार पद हस्तान्तरण कार्यक्रममा सहभागि कांग्रेस कार्यकर्ता तथा कांग्रेस समर्थक एनआरएनए अभियन्ताहरु हस्तान्तरण कार्यक्रम सकिएपछि आज आइतवार अझ गम्भिर स्तरको छलफलमा सहभागि हुने कार्यक्रम बनाएका छन् ।

छलफलमा उनीहरुले कांग्रेस राजनितिमा खासै जमेर नलाग्ने डा. हेमराज शर्मालाईपनि संलग्न गराउनुपर्ने, गौरी जोशी र युवा उपाध्यक्ष रोशन थापा (मोजान्बिक) लाईपनि आफ्नो समुहमै तान्नुपर्ने तर्क गरेका थिए । हाल थापा, जोशी र शर्माले डा. बद्रि केसीको प्यानलबाट उम्मेदवारी घोषणा गरेको सार्वजनिक भएको छ ।

तर गैर आवासीय नेपाली संघ अमेरिका (एनसिसिअमेरिका) को पूर्व अध्यक्ष रहेका बुद्दी सागर सुबेदीलाई एक्कासि महासचिवको उम्मेदवारमा अगाडि सारेर डा. केशब पौडेलले गौरी जोशीलाई टक्कर दिन खोजेको चर्चा एनआरएनए ब्रित्तमा छ । डा. केशब पौडेल मार्फत् सुबेदीलाई एनसिसिको अध्यक्षबाट एकैचोटि केन्द्रिय महासचिवमा उठाएर गौरी जोशीबिरुद्द चुनौति दिन लगाएकाले कुल आचार्यले प्रजातान्त्रिक खेमा भनिएकाहरुलाई मिलाएर लैजान नसक्ने भन्दै कांग्रेसको अर्को पक्ष रुष्ट बन्दै आएको छ ।

‘मिलाएरै लैजाने हो भने प्रजातान्त्रिक खेमापनि भन्ने अनि केन्द्रिय नेतृत्वमा अनुभव भैसकेको ब्यक्ति त्योपनि अमेरिकाबाटै महासचिवमा उठेको ब्यक्तिबिरुद्द अमेरिकाकै अर्को ब्यक्ति उठाउने, त्योपनि एनसिसीमा मात्रै अनुभव भएको ब्यक्ति कसैले जुधाउँछ ? यो त शुरुमै भाँडभैलो मच्चाउने, गुटउपगुट बनाउने मेसो भैहाल्यो नी” एनआरएनएको केन्द्रिय नेतृत्वमा रहेका एक कांग्रेस कार्यकर्ताले भने ।

तर कुल आचार्यले भने ‘साथीहरुमाथि अन्याय नहुनेगरि सामुहिक छलफल गरेर राम्रो निर्णय गरौं’ भन्दै आस्वाशन दिएको भनाई कांग्रेस कार्यकर्ताको छ ।

शुरुमै बिवाद

पदाधिकारीहरुको टुंगो नलाग्दै आगामी निर्वाचनमा कसलाई कुन पदमा जिम्मेवारी दिने भन्नेमै बिवाद शुरु भैसकेको पनि छ ।

कांग्रेसमा प्रजातान्त्रिक बिचारका भनेर चिनिएका डा. हेमराज शर्मा, गौरी जोशी र रोशन थापा राजनितिमा नलागि टिम बनाउने भन्दै डा. बद्रि केसीको टिममा छन् ।

तर यता आगामी निर्वाचनकालागि लामो समयदेखि गृहकार्य गर्दै आएका गंगाधर गौतमपनि महासचिवकै पदमा उमेदवारी दाबी गरेका छन् । कांग्रेसको आधिकारिक निर्णय अनुसार गौतमलाई अब के गर्ने भन्ने समस्या कुल आचार्यमाथि आएको छ ।

एनसिसी अमेरिकाको पूर्व अध्यक्षलाई एकैचोटि महासचिवमा लगेपछि त्यस्ता अन्य एनसिसीका पूर्व अध्यक्ष र केन्द्रिय तहमा काम गरिसकेकाहरुलेपनि अझै महत्वपूर्ण पदमा दाबी गर्ने संभावनापनि कांग्रेस कार्यकर्ताले उत्तिकै औंल्याएका छन् ।

अर्को तर्फ एनआरएनए युरोपका लागि कसरि टुंगो लगाउने भन्ने समस्यापनि देखिईसकेको छ । नेपाली कांग्रेसका तर्फबाट आगामी एनआरएनएको युरोप संयोजकमा कुल आचार्यले हाल युरोप उपसंयोजक रहेका बेलायत निवासी दयानिधि सापकोटालाई अघि सार्ने निधो गरेका थिए । तर त्यस लगत्तै हालका युरोप संयोजक चिन्तामणी सापकोटा, सुभाश जोशी लगायतका ब्यक्तिको नामपनि अघि सारिएको थियो ।

निर्णय नहुँदै बिवाद चुलिने देखिएपछि दयानिधिको ठाउँमा युरोप संयोजकमा पहिलो नाम चिन्तामणी सापकोटाको अघि सारिएको भनाई स्रोतको छ ।

लण्डनमा जारि बैठकमा कांग्रेसका कार्यकर्ताहरुले डा. हेमराज शर्मालाईपनि छलफलमा आउन निम्तो दिएका थिए । तर त्यस्तो राजनितिक बैठकमा आफू सरिक नहुने जवाफ शर्माले दिएका थिए ।

शर्मासित यस बारेमा सोध्दा नेपालप्लससित भने ‘मलाई बैठकमा सहभागि एक जना साथीले बोलाउनुभएको थियो। तर मैले त्यस्तो बैठकमा म आउँदिन भनें। म संलग्न छैन । बरु केहि साथीहरुलाईपनि त्यस्तोमा हामनफाल्नुस् भनेको हुँ।”

पदाधिकारीहरुको बैठकले टुंगो लगाएपछि कांग्रेस कार्यकर्ताहरु चुनावी अभियानमा प्रचारप्रसारका लागि होमिने योजना बनाएका छन् । उनीहरुले पदाधिकारीको टुंगो लगाएपछि युरोपका केहि देशमा मत माग्ने, सम्पर्क बढाउने, भेटघाट र चुनावी रणनिति बनाउने योजना बनाएका छन् ।

तपाइँको प्रतिक्रिया