शुक्रबार, वैशाख २१, २०८१

९ बुँदे प्रतिवद्धतासहित एनआरएनए अध्यक्षमा डा. बद्री केसीको उम्मेदवारी घोषणा

नेपालप्लस संवाददाता / काठमाडौं२०८० असोज १७ गते १८:४०

डा. बद्रि केसी

एनआरएनएको आगामी ११ औं महाधिवेशनमा अध्यक्ष पदका लागि डा. बद्री केसीले नौ बुँदे प्रतिबद्दतासहित औपचारिक घोषणा गरेका छन् ।

केसीले आफ्ना प्रतिबद्दता सार्वजनिक गर्दै २०२३–०२५ कार्यकालकालागि ५० भन्दा बढी देशका प्रतिनिधीमाझ दावेदारी प्रस्तुत गरेका हुन् ।

अक्टोबर १७ देखी २० गतेसम्म हुने ११ औं महाधिवेशनमा उनले दुई वर्षमा पूरा गर्न सक्ने प्रतिवद्धता अघि सारेका छन् ।

केसी २०१३ मा केन्द्रिय कोषाध्यक्ष, २०१५ र २०१७ मा दुई कार्यकाल महासचिव, उपाध्यक्ष हुँदै छ महिनाका लागि कार्यकारी अध्यक्ष रहेका छन्।

‘कार्यकारी अध्यक्ष भएकाले मतदाताको नामावली प्रकाशन नभएसम्म उम्मेदवारी घोषणा गर्न नैतिकताले दिएन,’ उम्मेदवारी घोषणा गर्दै डा. केसीले भने,‘अब विवादरहित स्वच्छ प्रतिस्पर्धाको आधारमा निर्वाचन हुने छ।’

काठमाडौंको फर्पिङमा जन्मिएका डा. केसी अमृत साइन्स क्यम्पसमा अध्ययन गरेका थिए । त्यसपछि उनी उच्च शिक्षा अध्ययनकोलागि रुस प्रस्थान गरेका हुन् । संस्थापक अध्यक्ष उपेन्द्र महतो, जिवा लामिछानेसँगै उनी एनआरएनए अभियानमा जोडिएका हुन्।

स्थापनाकालदेखिनै एनआरएन अभियानको एउटा सिपाहीका रुपमा अनवरत् क्रियाशील हुन पाएको बताउँदै अग्रजहरूको समर्पण, मैत्रीभाव र कार्य कुशलताबाट धेरै कुरा सिक्ने अवसर पाएको केसीले घोषणाका क्रममा बताए ।

‘केन्द्रिय महासचिवका रुपमा रहेर भारतले नेपालमा नाकाबन्दी गर्दा विश्व स्तरमा विरोधका काम गर्न पाएँ’ उनले भने।

अध्यक्षको कार्यकालमा नागरिकता कानुन बनाउन र एनआरएनएलाई सहि मार्गमा ल्याई स्वच्छ निर्वाचन गराउने चरणमा रहेको उनले बताए ।

आगामी कार्यकालमा विधानलाई सच्चाउँदै सबै सदस्यले मतदान गर्न पाउनेगरी काम गर्ने भनाई उनको छ । फेसियल भेरिफिकेसनको प्रणाली विकास भैसकेकाले पञ्जिकृत सदस्यले मतदान गर्न व्यवस्था गर्ने विश्वास पनि उनले दिलाए।

कोभिड माहामारीको समयमा अन्तर्राष्ट्रिय श्रमिक संगठन आईएलओसँग सहकार्यगरी विदेशमा अप्ठेरो परेका नेपाली मध्ये कतिपयलाई टिकट काटेरै पठाएको स्मरण गरे।

केसीको उम्मेदावरी घोषणा कार्यक्रममा सुन्न जुम मार्फत् ८ सय बढी सहभागी थिए। उनको पक्षका पदाधिकारी उम्मेदवारले आफ्ना प्रतिवद्धाता समेत राखेका थिए।

संघका वर्तमान उपाध्यक्ष डा. हेमराज शर्माले डा. केसीलाई शुभकामना व्यक्तगर्दै आफु पुनः उपाध्यक्षमा उम्मेदवार रहेको जानकारी गराए ।

आगामी कार्यकालकालागि केसीको समुहबाट उपाध्यक्षका प्रत्यासी रामशरण सिम्खडा, अष्ट्रेलिया बसोबास गर्नेडा विनोद श्रेष्ठले उपाध्यक्ष र क्यानडाबाट चिरनजिवी घिमिरे, जापानबाट रोविन शेरचन, नेदरल्यान्डबाट शशी पौडेल, अष्ट्रेलियाबाट धर्मराज अधिकारी, अमेरिकाबाट जेदु पोखरेल, मध्यपूर्वबाट सुदिप कार्की छन्।

डा. बद्रि केसीको समुहबाट महिला उपाध्यक्षको रुपमा मध्यपूर्वबाट यस्मिन बेगम सायद र युवा उपाध्यक्षमा रोशन थापाले उम्मेदवारी घोषणा गरेका छन् ।

हाल महासचिव रही पुनः सोही पदमा उम्मेदवारी घोषणा गरेका गौरिराज जोसीले डा. बन्द्री केसीमा सक्षम नेतृत्व रहेको बताए।

उपमहासचिवमा अमेरिकामा प्रमोद सिटौला, युरोपबाट प्रतिनिधित्व गर्ने सन्तोष भट्टराई, प्रविन गुरुङले बद्रि केसीकै घोषणा सभाबाट उम्मेदवारी घोषणा गरे।

डा. केसीका मुख्य ९ बुँदे एजेन्डासहितका प्रतिवद्धता-

-सुरक्षित, व्यवस्थित र मर्यादित वैदेशिक रोजगारीकोलािग सम्बन्धित निकायसंग सहकार्य र श्रमिकहरुलाई अभिमुखीकरण तालिम सञ्चालन गर्ने ।

-विदेशको श्रम बजारमा रहेका नेपालीलाई सामाजिक सुरक्षा कोषमा सहभागी गराउन पहल गरिने।

-सामाजिक सुरक्षाकोषमा सहभागी भई वैदेशिक रोजगारीमा आएका श्रमिकलाई योगदानको निरन्तरताकोलागि श्रम गन्तब्य मुलुकका नेपाली समक्ष सहजीकरण गरिने ।

-वैदेशिक रोजगारीमा जाने नेपालीको न्युनतम तलब अन्तर्रष्ट्रिय मापदण्ड अनुसार बनाउन पहल गरिने । श्रम स्वीकृति नविकरण, बीमा नविकरण तथा श्रम सम्बिन्धि अन्य समस्या समाधानकालागि विदेशबाटै अनलाइन मार्फत गर्ने सहजिकरण गर्ने ।

-नेपालमा लगानी बढाउँदै एनआरएनए नेपाल डेभलपमेन्ट फण्ड कार्यन्वयन गर्ने । डेभलपमेन्ट फण्ड १० अर्ब रुपैयाँ रहेकोमा फण्डलाई आगामी दिनमा बढाइने।

-नेपालमा लगानीको क्षेत्र पहिचानगरी सुरक्षित लगानी प्रवर्धनकालागि नेपाल सरकारसँग सहकार्य गर्ने । लगानी आकर्षण गर्न दोहोरो कर छुट सम्बन्धि सम्झौता गर्न पहल गर्ने।

-संस्थागत पुर्नसंरचना एवं सुदृढीकरण गर्न एनआरएनएको परिभाषा नै परिवर्तन आवश्यक ।

-गैर आवासीय नेपाली ऐनमा विद्यार्थी र २ वर्ष बसेपछि मात्रै सदस्य बन्न पाउने अवस्था रहेकोले १८३ दिनभन्दा बढी विदेशमा बस्नेलाई परिभाषामा समेटिने ।

-ऐनमा परिभाषा स्पष्टतासँगै नागरिकतामा उल्लेख गरिएको सांस्क्रितिक, व्यवसायीक र सामाजिक अधिकार स्पष्ट पार्ने । ३ पुस्ताअघि थाइलेन्ड, म्यानमारमा पुगेका नेपालीलाई गैरआवासीय नेपाली नागरिकता दिने व्यवस्था गर्नुपर्ने ।

-आगामी कार्यकालमा १० लाख पञ्जिकृत सदस्य बनाउने लक्ष्य ।

-गैरआवासीय नेपालीका हक हित अधिकारमा मतदानका अधिकार, सम्पत्ति सुरक्षा, दुतावास विस्तार नभए कन्सुलेन्ट कार्यलयको व्यवस्था गर्न पहल गर्ने ।

-भूपुगोर्खाहरुले उठाउँदै आएका समान पेन्सन र अधिकारको मागलाई पूरागर्न संस्थागत पहल गर्ने।

-राष्ट्रिय समन्वय परिषदबाट निर्वाचित अध्यक्षलाई नेपाल सरकारको अवैतानिक वाणिज्य दूतको रुपमा मान्यता दिन पहल गर्ने ।

-गैरआवासीय नेपाली राष्ट्रिय परिषद् कल्चरल सेन्टरको रुपमा विकास गर्नुपर्ने ।

-हावर्ड, अक्सफोर्ड विश्वविद्यालय अध्ययापन गराउने नेपालीलाई प्राज्ञिक बहश मार्फत नेपालमा प्रविधि र सिप हस्तान्तरण गरिने ।

-ज्ञान तथा विज्ञ सम्मेलनलाई निरन्तरता दिँदै नेपाल पोलिसी इन्स्टिच्युटलाई दक्षिण एसियाली स्तरको थिंक ट्यांकका रुपमा अगाडी बढाउने ।

-एनआरएनए फाउन्डेसन मार्फत दातृ निकायसँग सहकार्य गर्ने र नेपाल बाहिर स्थापना गर्ने ।

-अन्तराष्ट्रिय समुदायसँग जोड्ने पुलको रुपमा गैरआवासीय नेपाली संघ मार्फत नेपालमा पर्यटक पठाउन सकिने। नेपालबाट निर्यात हुने सामानमा विकसित देशहरुमा भन्सार छुटको सदुपयोग गर्ने ।

-युवा र महिलालाई एकजुट रुपमा नेपालसँग जोड्न विशेष कार्यक्रम बनाई वार्षिक क्यालेन्डर समेटिने ।

-एनआरएनए युथ समिट, अन्तर्राष्ट्रिय महिला सम्मेलन गरी युवा र महिलालाई जोड्ने ।

-विदेशमा खेलकुदमा सफलता प्राप्त गरिरहेका खेलाडीलाई नेपालीसँग जोड्दै व्यवसायीक बनाउने ।

-अन्तर्राष्ट्रिय श्रम संगठन र अन्तर्रष्ट्रिय आप्रवासी संगठनसँग गरिएका सम्झौतालाई कार्यन्वयन गर्दै संयुक्त राष्ट्रसंघसँग सम्बन्ध बढाउने ।

तपाइँको प्रतिक्रिया

फेसबुक