सोमबार, वैशाख २४, २०८१

तीन महिनाभित्र घले पक्षलाई समेटेर एनआरएनएलाई एकताबद्ध गराउने प्रतिबद्धता

नेपालप्लस संवाददाता / काठमाडौं२०८० असोज २१ गते १९:०२

महेश श्रेष्ठ र बिनोद तिवारी (दायाँ)

गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११ औं महाधिवेशनमा अध्यक्षका प्रत्यासी महेशकुमार श्रेष्ठले छुट्टिएर गएको शेष घले पक्षीय संस्थालाई समेत समेटेर तीन महिनाभित्र एकताबद्ध गरी छाड्ने प्रतिबद्धता जनाएका छन् ।

कोरिया भ्रमणमा रहेका उनले आफ्नो टिमका उम्मेदवारहरु र डेलिगेट्स एवम सदस्यहरुबीच आयोजना गरिएको अन्तरसंवादलाई सम्बोधन गर्दै एक्सनमा उत्रेर काम गर्ने र एकता गराउने प्रतिबद्धता जनाएका हुन् ।

सम्बोधनका क्रममा उनले एक महिनाभित्र एकताको खाका तयार गर्ने र तीन महिनाभित्र सम्पूर्ण गैरआवासीय नेपालीहरुलाई एकताको सूत्रमा बाँध्ने प्रतिज्ञा गरे ।

उनले भने,‘ गैर आवासीय नेपाली संघप्रति ठूलो अपेक्षा छ । तर पछिल्लो समय संस्थामा विवाद र पदलोलुपता बढेकाले अब सहमति, सहकार्य र भावनात्मक एकता गर्नुपर्ने छ । त्यसैले विनोद कुँवरजीलाई साथमै राखेर सम्बोधन गर्न पाउँदा एकता निश्चित हुनेछ,’ उनले भने,‘विगतका दिनमा केही अविश्वास बढ्यो, प्राविधिक कारणले मिलन हुन सकेन, तर म समन्वयकारी भूमिका निर्वाह गरेर इतिहास बनाउँछु ।’

आफू कोषाध्यक्ष हुँदा संघको गरिमा बढ्ने गरी प्रणाली बनाउन सफल भएको र पारदर्शी रुपमा कोष संचालन गरेको बताउँदै श्रेष्ठले अध्यक्ष पदमा विजयी भएपछि अल्पकालिन र दिर्घकालिन योजनाहरु बनाएर सबैको मन जित्नेगरी काम गर्ने प्रतिबद्धता दोहोर्याए ।

‘पूर्वअध्यक्षहरुले शुरु गर्नुभएको दीर्घकालिन योजनाहरु अधुरै छन् । २० वर्षको इतिहासमा पनि संस्था एउटा प्रक्रियामा हिंड्न सकेन । कसले के काम गर्ने भन्ने अन्योल छ । तर अब यि समस्याहरुको हल हुनेगरी पाँच वटा बुँदालाई केन्द्रमा राखेर एक्सन र भिजनसहित काम गर्न तपाइँहरु सामू उभिएको छु ।’

कोरियाबाट सम्बोधन गर्ने क्रममा उनले असन्तुष्ट समूहको नेतृत्व गरिरहेका विनोद कुँवरलाई पनि साथमै राखेका थिए । त्यस क्रममा कुँवरले १०औं महाधिवेशनमा जस्तै त्रुटीहरु नगर्न र एकता गर्न आब्हान गरे । उनले श्रेष्ठलाई शुभकामना पनि दिए। ।

गत मार्च २०२२ मा काठमाडौँमा एनआरएनएको छुट्टाछुट्टै १० औं महाधिवेशन आयोजना गरिए पछि शेष घलेका तर्फबाट विनोद कुँवरले नेतृत्व लिए। यो समूहले समानान्तर संस्था संचालन गर्दै आएको छ।

तपाइँको प्रतिक्रिया