आइतबार, वैशाख २३, २०८१

नख्खु कारागारका ५० प्रतिशत कैदीबन्दीमा दृष्टिदोषको समस्या

नेपालप्लस संवाददाता / काठमाडौं२०८० माघ १९ गते २:५१

नख्खु कारागारका ५० प्रतिशत कैदीबन्दीमा दृष्टिदोषको समस्या देखिएको छ ।

यस्तो समस्या देखिएपछि कारागार कार्यालय नख्खु ललितपुरमा निःशुल्क आँखा शिबिर चलाएको छ ।

नेपाल नेत्रज्योति संघ किर्तिपुर आँखा अस्पतालले कारागारमा ४ दिने निःशुल्क आँखा शिबिर संचालन गरेको हो ।

अस्पतालले कारागारमा रहेका ८१६ जना कैदीबन्दीहरुको आँखा जाँच गरेको हो । आँखा जाँच गरिएकामध्ये ५० प्रतिशत कैदी र बन्दीहरुमा दृष्टिदोषको समस्या देखिएको छ । अस्पतालकी अध्यक्ष एबं आँखा रोग बिषेशज्ञ प्रा.डा. सबिना श्रेष्ठका अनुसार ४०० जना कैदीबन्दीहरुमा दृष्टिदोषको समस्या देखिएको छ भने ९ जना मोतिबिन्दुका बिरामी भेटीएका हुन् ।

अस्पताल व्यवस्थापक दिपक बोहोराका अनुसार १४८ जनालाई निःशुल्क चस्मा बितरण गरिएको छ भने शिबिरमा भेटिएका ९ जना मोतिबिन्दुका बिरामीहलाई अप्रेसनको सेवा समेत निःशुल्क उपलब्ध गराईनेछ ।

‘सामान्यत वर्षमा दुई पटक सबैले नियमित आँखा परिक्षण गर्नुपर्छ । तर कारगारमा रहेका कैदीबन्दीहरु वर्षौदेखि आँखा उपचारको पँहुचबाट टाढा रहेका थिए। त्यो थाहा पाएपछि हामिले वहाँहरुलाई आँखा स्वास्थ्यको पहुँचमा ल्याउन निःशुल्क शिबिर आयोजना गरेका हौ’ प्रा. डा. श्रेष्ठले भन्नुभयो ।

प्रोफेशनल सपोर्ट सर्भिस नेपालको समेत सहयोगमा सञ्चालन गरेको उक्त शिबिरमा प्रा।डा श्रेष्ठको नेतृत्वमा रहेको स्वास्थ्यकर्मीहरुको टोलीले आँखा परिक्षण गर्नुभएकोे थियो ।

वि.स २०३५ सालमा नेपालमा आँखा उपचार सेवाको विकास र विस्तारको लक्ष्य सहित एक गैर नाफामुलक संस्थाका रुपमा स्थापना भएको नेपाल नेत्रज्योति संघ अन्तरगत हाल देशभरमा २७ वटा आँखा अस्पताल, १५४ आँखा उपचार केन्द्र तथा ४४ जिल्ला शाखाहरु संचालनमा छन् । संघ अन्तरगतका आँखा अस्पताल, आँखा उपचार केन्द्र मार्फत बार्षिक ३० लाख बढि बिरामीको आँखा जाँच हुने गर्दछ ।

स्थापना देखि सन् २०२२ सम्ममा संघको नेटवर्क मार्फत नेपाली नागरिक तथा अन्य विभिन्न देशका नागरिक गरी कुल ४ करोड २ लाख ८६ हजार ५ जना आँखाका बिरामीहरुलाई आँखा उपचार सेवा प्रवाह गरिसकेको दाबी नेपाल नेत्रज्योति संघको छ । त्यस्तै, ४८ लाख ६७ हजार ७७४ जनाको आँखाको शल्यक्रिया भइसकेको जनाएको छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक