इनासको दशौं युरोप स्तरीय क्षेत्रीय भेला, गायन र नृत्य प्रतिस्पर्धा कार्यक्रम भव्य
यहि मे को १६ र १७ का दिन डेनमार्कको कोपनहेगनमा अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) को दशौं युरोपीय भेला र नृत्य तथा गायन तर्फको युरोप स्तरीय प्रतिस्प्रधात्मक कार्यक्रम भब्यताकासाथ सम्पन्न भएको छ ।
अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) युरोपका संयोजक प्रकाश तिवारीको अध्यक्षता र इनास ग्लोबलका संस्थापक अध्यक्ष पुष्प बरुवालको प्रमूख आतिथ्यमा उक्त कार्यक्रम भएको हो । इनास युरोप क्षेत्रीय समिति र राष्ट्रिय समिति डेनमार्कको संयूक्त आयोजनामा सम्पन्न उक्त भेलामा इनासका संरक्षक, कार्य समितिका पदाधिकारी, सल्लाहकार, युरोपका विभिन्न राष्ट्रिय समितिका अध्यक्ष तथा प्रतिनिधि र डेनमार्कस्थित विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उल्लेख्य सहभागिता थियो।
इनासद्वारा संचालन गरिने यस्ता वृहत सांस्कृतिक कार्यक्रमहरुले युरोपभर छरिएका नेपाली कलाकारहरूलाई एक ठाउँमा ल्याउन ठुलो भूमिका खेल्दै आएको युरोप संयोजक तिवारिले बताए । नेपालको कला, भाषा, सस्क्रिति र साहित्यलाई प्रवर्द्धन गर्न ठूलो मद्दत पुग्ने विश्वास व्यक्त गर्दै कार्यक्रमको सफलतामा युरोप संयोजक तिवारिले शुभकामना व्यक्त गरे।
यस क्षेत्रीय भेलामा युरोप स्थित राष्ट्रिय समितिहरुले आफ्नो राष्ट्रिय समितिले गरेको कार्य सम्पादन विवरण र संस्थागत रुपमा गरिने भावी कार्ययोजना पेश गरेका थिए।
गायन तथा नृत्य प्रतियोगितामा उत्साहजनक सहभागिता (दोस्रो कार्यक्रम)
कार्यक्रमको दोश्रो दिन सम्पन्न युरोप महादेशस्तरीय नृत्य र गायन प्रतियोगिता सहितको सांस्कृतिक कार्यक्रममा यूरोपभरिबाट प्रतियोगी कलाकारहरुको ठुलो सहभागिता थियो।
कार्यक्रम आयोजक राष्ट्र इनास डेनमार्कका अध्यक्ष सुदिपबाबु श्रेष्ठको अध्यक्षता तथा डेनमार्कका लागि नेपाली राजदूत सुम्निमा तुलाधरको प्रमूख आतिथ्यता थियो । डेनमार्कस्थित हेर्लेभ कोम्युनका मेयर मार्को डाम्सगार्ड र थ्रीएफ नेसनल पोलिसी एडभाइजर एन्थोनी सिलभेस्टर, इनास ग्लोबलका प्रमूख संरक्षक कमला दाहाल, उपाध्यक्ष द्वय मित्रलाल पार्दे, अर्जुन काफ्ले, सल्लाहकार दिपक सापकोटा, मदन दाहाल लगायतका पदाधिकारीहरु विशेष अतिथि थिए।
युरोप र युरोप बाहिरबाट समेत कलाकार, साहित्यकार, नेपाली भाषा, कला, साहित्य र संस्कृतिप्रेमीहरुको उल्लेख्य सहभागिता थियो।
कार्यक्रममा प्रमूख अतिथि राजदूत सुम्निमा तुलाधरले नेपाली कला, भाषा, साहित्य र संस्कृति आफैंमा एक उत्कृष्ट राष्ट्रिय पहिचान भएको बताईन । उनले यसको प्रवर्द्धनमा इनासले पुर्याउँदै आएको महत्वपूर्ण भूमिकाप्रति खुसि व्यक्त गर्दै भनिन “यस प्रकारका कार्यक्रमहरुमा राजदूतावासको सधै साथ र सहयोग रहन्छ ।”
आफ्नो संस्कृति जगेर्ना गर्न नेपाली समूदाय सधैं अग्रसर रहेको आफूहरुले देखेको हेर्लेभ कोम्युनका मेयर मार्को डाम्सगार्ड र राष्ट्रिय नीति सल्लाहकार एन्थोनी सिलभेस्टरले बताए।
यस किसिमका कामहरुमा नेपालीहरु एक भएको देख्दा आफूलाई खुसी लाग्ने गरेको र नेपालीका यस्ता कार्यक्रममा आफूहरु सधैं नेपाली समूदायको साथमा रहेको समेत उल्लेख गरे ।
यसपटकको नृत्य प्रतियोगिताको उपाधि डेनमार्ककी झरना सुनाले जितेकी छन्। बेल्जियमकी आरोही शर्मा र फ्रान्सकी रोशिना अधिकारीले क्रमश: दोश्रो र तेश्रो स्थान हासिल गरे।
पार्वती अधिकारी, जगत खड्का र रजीना नापित सहितको निर्णायक मण्डलबाट प्राप्त निर्णय अनुसार चौथो स्थान हासिल गरेकी जर्मनीकी त्रिस्ता कार्की ढोलीले स्व सन्तकुमार थापा मगर स्मृति ट्रफी सहित विशेष पुरस्कार जितीन।
त्यस्तै, गायन तर्फको उपाधि डेन्मार्कका आशिष श्रेष्ठले हात पारे। नलिना चित्रकार, कन्हैया सिंह परियार, सन्देश बोम्जन लामा सहितिको निर्णायक मण्डल रहेको उक्त गायन प्रतियोगितामा फ्रान्सकी अन्जली बराइली र डेनमार्ककी स्वरुपा केसीले क्रमश: दोश्रो र तेस्रो स्थान हाँसिल गरे ।
प्रतियोगितामा दुवै विधातर्फका विजयीले इनास युरोपको एक वर्षका लागि गुडविल एम्बास्डर तथा आठ सय युरो नगद, ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन्। दोस्रो र तेस्रो हुनेले पाँच सय र तिन सय युरो तथा ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन्।
कार्यसम्पादनको आधारमा हरेक वर्ष प्रदान गरिंदै आएको उत्कृष्ठ राष्ट्रिय समितिको उपाधि यस वर्ष इनास राष्ट्रिय समिति जर्मनीले प्राप्त गरेको छ।
पञ्चेबाजा, लाखे नृत्य, झाँकी, तथा इनासका पूर्वविजेता र अतिथि कलाकारहरूको विशेष सांगीतिक प्रस्तुतिले कार्यक्रमलाई थप रोमान्चक बनाएको थियो।
कार्यक्रम अत्यन्तै सौहार्द्धपुर्ण, व्यवस्थित र गौरव लाग्ने गरि सम्पन्न सम्पन्न गरेको भन्दै इनास युरोप, आयोजक राष्ट्रिय समिति डेनमार्क र ग्लोबल समितिले खुसी व्यक्त गरेका थिए। कार्यक्रमलाई सफल बनाउन प्रत्यक्ष र वा प्रत्यक्षरुपमा सहयोग गर्ने सबैलाई धन्यवाद दिएका थिए ।
यस कार्यक्रमका लागि धेरै संघसंस्थाहरुबाट विभिन्न खाले सहयोग प्राप्त भएको र उपस्थिति पनि उल्लेख्य भएको प्रति खुसी व्यक्त गर्दै आयोजक राष्ट्रिय समितिका अध्यक्ष सुदिप बाबु श्रेष्ठ, युरोप समितिका संयोजक प्रकाश तिवारी तथा सहसंयोजकहरू सुनिल गुरुङ, श्याम श्रेष्ठ र ग्लोबल समितिका तर्फबाट कार्यक्रम संयोजन गर्ने जिम्मेवारी तोकिएका ग्लोबल महाससचिव राजमान तामाङ्गले संयुक्त रुपमा उपस्थित कलाकार, निर्णायक ब्यक्तित्व, संघसंस्थाका प्रतिनिधि, पुरस्कार लगायतका अन्य कार्यहरुमा सहयोग गर्ने सहयोगीहरुलाई धन्यवाद दिएका थिए।
इनास युरोपको एघारौं क्षेत्रीय बैठक आगामी वर्ष बेल्जियममा हुने गरि राष्ट्रिय समिति बेल्जियमलाई अधिकार प्रदान गरिएको जानकारी गराएका छन्।