फ्रान्समा गाईवस्तुको नयाँ प्रकोप देखापर्यो, ३१ पशु फार्म प्रभावित
फ्रान्समा डर्माटोस नोडुलर भन्ने घरपालुवा जन्तुमा नयाँ प्रकोप देखापरेको छ ।
लामखुट्टे वा अन्य किराबाट सरेको हुन सक्ने भनिएको यो प्रकोप एक महिनामा आल्प्स (हिमाली क्षेत्र) का ३१ वटा पशु फार्ममा फैलिएको कृषी मन्त्रालयले जनाएको छ ।
बुधबार जुलाई ३० मा, मात्रै ओत साभ्वा क्षेत्रमा चार वटा नयाँ प्रकोप पुष्टि भएका छन् । कृषी मन्त्रालयका अनुसार साभ्वा र ओत साभ्वा क्षेत्रका ३१ वटा पशुपालनमा हालसम्म ५१ वटा प्रकोप देखिएका छन्। यो रोग पहिलोपटक जून २९ मा साभ्वामा देखिएको बताइएको छ ।
कृषी मन्त्रालयका अनुसार साभ्वा र वटा साभ्वामा फैलिएको यो डर्माटोस नोडुलर संक्रामक रोग (डि एन सि) तीव्र रुपमा बढ्दो छ। यो भाइरल रोग विशेष रूपमा गाईबस्तुमा मात्र असर गर्ने तर मानिसमा भने सर्दैन ।
यो रोग लामखुट्टे जस्ता टोक्ने किराहरुबाट सर्ने भएकाले यस बिरूद्ध कडा नियन्त्रण रणनीति लागू गरिएको छ। जुलाई १८ देखि राज्यले साभ्वा, ओत साभ्वा र छिमेकी क्षेत्रहरू ऐन र इजेरमा तीन लाख १० हजार गाईबस्तुमा खोप अभियान सञ्चालन गरिरहेको छ। यो खोप रणनीति पहिचान गरिएका प्रकोपहरूबाट ५० किलोमिटरको दायरामा लागू गरिएको हो ।
साभ्वाको सिडियो कार्यालय (प्रिफेक्चर) ले मंगलबार यसलाई “पशु स्वास्थ्य सेवाहरूको प्राथमिकता” बताएको छ । तर हालसम्म कति जनावरहरूलाई खोप दिइएको भन्ने संख्या सार्वजनिक गरिएको छैन।
यसको संक्रामकता र भाइरसको शक्तिका कारण अत्यन्तै खतरनाक रोग भनिएको छ । प्रभावित भएका सम्पूर्ण पशुपालनमा जनावरहरूलाई अनिवार्य रूपमा उन्मूलनको नीति पनि लागू गरिएको छ। यस कदमले कृषक समुदायमा भावनात्मक प्रतिक्रिया उत्पन्न गराएको छ। प्रकोप सुरु भएदेखि केही किसानहरूले आफ्ना गाईबस्तुहरूको हत्या रोक्न फार्महरूमा हुने प्रवेशलाई अवरुद्ध गर्दै विरोध गरेका छन ।
साभ्वाको आँथलाकका एक युवा पशुपालक, पिएर-जँ दुशेनको फार्मले ग्रामीण समन्वयको सहयोगमा आफ्ना गाईबस्तुहरू मार्नबाट रोक्न राज्य परिषद् (कन्सेई देता) मा मुद्दा हालेका थिए। तर, नयाँ संक्रमित केसहरू पुष्टि भएपछि, जुलाई २२ मा उनी आफ्ना गाईबस्तु मार्न बाध्य भएका थिए । बुधबार, देशको सर्वोच्च प्रशासनिक अदालतले उनको अपील अस्वीकृत गरिदिएको छ ।
जुलाई २४ मा साभ्वा र ओत्-साभ्वाको भ्रमणका क्रममा कृषि मन्त्री एनी जनभाले यो रोगविरुद्धको रणनीतिको बचाउ गर्दै यसलाई “संक्रामकता र भाइरसको शक्तिका कारण अत्यन्तै खतरनाक रोग” भनेकी छन । यदि यसलाई नियन्त्रणमा नल्याए यसले सम्पूर्ण फ्रान्सेली गाईबस्तु उद्योगलाई जोखिममा पार्न सक्ने चेतावनी पनि दिएकी छन । सन २०१९ को तथ्यांक अनुसार फ्रान्समा जल र स्थल गरी करीब चार लाख २० हजार पशुपालन फार्महरु छन ।