मंगलबार, भदौ १०, २०८२

पेरिसमा दर खाँदै नेपाली महिलाले मनाए तीज

नेपालप्लस संवाददाता / फ्रान्स२०८२ भदौ १० गते १७:०७

गैर आवासीय नेपाली संघ (एनआरएनए) फ्रान्सले नेपाली चेलीबेटीहरुलाई तिजको दर खान नित्याएर नाचगान सहित भब्य कार्यक्रम गरेको छ ।

सोमवार महिलाहरुको तीज पर्वमा दर खाने दिननै सबै चेलीहरुलाई निम्ता गरेर मनाएको तीजमा महिलाहरु  नाच्दै गाउँदै दर खाएर रमाएका हुन्।

नेपाली चेलीहरुलाई आफ्नो विशेष पर्वमा खुशी बनाउन, आफ्नो देशबाट पर भएपनि दाजुभाई छन भनेर आत्मियता बाँड्न, र चेलीहरुको आफ्नो पर्वमा दुखसुख साँटेर सँगै रमाउन एनआरएनए फ्रान्सले यो कार्यक्रम राखेको एनआरएनए फ्रान्सकी महिला संयोजक किरण चालिसेले बताइन् ।

कार्यक्रम बारे जानकारी दिन आयोजना गरिएको छोटो औपचारिक सन्दर्भमा एनआरएनए फ्रान्सकी महिला उपाध्यक्ष तथा कार्यक्रमका सभापती विष्णु कुमारी तिमल्सिनाले तीजको अवशरमा ‘हामीहरुबिच रहेको रिसराग, वैमनस्यता, तिक्तता सबै नाशियोस । सबै भुल्ने अवशर र मन जाओस’ भन्ने कामना गरिन् । उनले एनआरएनए फ्रान्सले गरेका कमजोरी औंल्याउन र राम्रो काममा साथ दिन आग्रह समेत गरिन् । उनले आफूहरुलाई परेका गाह्रासाह्रा काममा सुझाव दिन, घच्घच्याउन र सहयोग माग्न पनि आग्रह गरिन् ।

एनआरएनए फ्रान्सका महासचिव राजेन्द्र श्रेष्ठले आजसम्म पुरा गर्न नसकिएका, इच्क्षा लागेर पनि बाँकी रहेका, बिभिन्न योजना र प्रगतिको सपना साँचेर बसेका सबै रहरहरु यहि तीजको सुअवशरले पुरा गरिदेओस भन्ने आफ्नो चाहना र कामना ब्यक्त गरे ।

औपचारिक कार्यक्रमको विसर्जन गर्दै एनआरएनए फ्रान्सका अध्यक्ष दिलिप गुरुङले महिलाहरुको पर्व भएकाले सभापती देखि कार्यक्रमको संयोजनसम्म सबैमा महिलालाई नै अघि सारेको उल्लेख गरे । उनले एनआरएनए फ्रान्सले ३१ अगस्टमा महिला भलिवल टुर्नामेन्टका साथै बालबालिकाका लागि पनि बिभिन्न खेलको प्रतिस्पर्धा राखेको र त्यससँगसँगै पिकनिक गरेर रमाईलो गरी मनाउने योजना सुनाए ।

एनआरएनए फ्रान्सका आइसिसी सदस्य शिवराम भण्डारी लगायतले तीजको अवशरमा शुभकामना दिएका थिए ।

तपाइँको प्रतिक्रिया

फेसबुक