आइतबार, फागुन १०, २०८२

अवसरबाट बञ्चित समुदायको हकहितका लागि सशक्त आवाज बन्ने प्रतिबद्धता

गजेन्द्रसिंह बुढाथाेकी२०८२ फागुन १० गते १४:२१

गजेन्द्र बुढाथोकी

मेराे तीन दशककाे आर्थिक पत्रकारिताकाे अनुभव, अपाङ्गता अधिकारकर्मी/सामाजिक रुपान्तरण अभियन्ताकाे निरन्तर अम्यास र एक प्रश्न गर्न सक्ने सचेत नागरिकका हैसियतले आउँदाे फागुन २१ गते हुने निर्वाचन निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीकाे तर्फबाट समानुमातिक सूचीमा निर्वाचन आयाेगमा नाम दर्ता भएकाे समस्त शुभचिन्तकमा पुनः स्मरण गराउन चाहन्छु ।

फ्रान्सेली दार्शनिक ब्यारन डी मन्टेस्क्युले प्रतिवादन गरेकाे शक्ति पृथकीकरणको सिद्धान्त (Theory of Separation of Powers) अनुसार विश्वमा राज्य चल्ने गरेकाे छ । जसअनुसार राज्यका तीन अंगहरू व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाले स्वतन्त्र रूपमा काम गरेमा राज्यकाे विकासकाे गति सहज रूपमा अगाडि बढ्दछ । तर, नेपालले लामाे समय राजनीतिक अस्थिरता भाेग्दै आएकाे छ भने तीन वटा राज्यका अंगहरूले राम्राेसँग काम गर्न नसक्दा नेपाली जनताकाे भविष्य अलमलमा रहेकाे सबैले भाेगेकै कुरा हाे ।

राज्यकाे समग्र विकास र दरिलाेपनका लागि सबैभन्दा बढी प्रभावकारी अंग भनेकाे व्यवस्थापिका (संसद) नै हाे । त्यसैले मैले मुख्यतः तीन वटा विषय समन्यायिक, समतामूलक आर्थिक विकास, अपाङ्गता सचेतना र सुसंस्कृत मिडिया उद्यम विकासकाे मुद्दा बाेकेर संसदीय दाैडमा हाेमिएकाे छु । साथमा राष्ट्रिय प्रजातन्त्र पार्टीले सार्वजनिक गरेकाे संकल्प पत्र चुनावका एजेन्डाका रूपमा अंगिकार गरेर अगाडि बढेकाे छु । जसमार्फत मूलतः राप्रपाका हाल निर्देशन मण्डलको अध्यक्ष रहनु भएका उदारीकरणका पिता डा. प्रकाशचन्द्र लोहनीले २०४२ सालमा नेपालमा सुरुवात गर्नुभएको पहिलो चरणको आर्थिक सुधारलाई अब नयाँ पुस्ताबाट नयाँ चरणको आर्थिक सुधार अगाडि बढाउन म प्रतिबद्ध छु ।

राज्यका तीन अंगहरू भन्दा पनि माथि चाैथाे अंग छ, पत्रकारिता । मैले जीवनभर कमाएकाे कमाइ भनेकाे स्वतन्त्र, निस्पक्ष र भयरहीत निरन्तर पत्रकारिता हाे । विश्वले मानेकाे स्वतन्त्र पत्रकारिताकाे मर्म अनुरूप राज्यका तीनै अंगलाइ निगरानी गर्ने क्षेत्र पत्रकारिता हाे । विशेषगरी पछिल्लाे ३१ वर्षमा मैले गरेकाे पत्रकारिताकाे अनुभवमा तीनै अंगकाे खबरदारी गर्न कुनै कसर बाँकी नराखेकाे पनि स्पष्ट पार्न चाहन्छु । पछिल्लाे समयमा म सम्बद्ध टक्सार म्यागजिनका पाँच वर्षका हरेक अंकले पनि नेपालकाे आर्थिक विकासकाे एजेण्डालाइ नीतिगत सम्बाेधनका लागि सधै झकझकाइरहेकाे छ ।

टक्सार टीमले पत्रकारिताबाटै थप स्वतन्त्र अभ्यास गरिरहनेछ भने म प्रत्यक्ष/अप्रत्यक्ष टक्सारकाे साथमा रहनेछु । मलाइ परिवारकाे सदस्यमात्र नभइ अभिभावकीय भूमिकामा सम्मान र अवसर प्रदान गरेकाेमा टक्सारकाे प्रकाशक कम्पनी बाेधी सञ्चार प्रा.लि. र मेरा सबै सहकर्मीप्रति आभारी छु । टिमले दिएकाे माया, सम्मान र सल्लाह सुझावलाइ मनन गर्दै अघि बढ्ने छु । हिजाे म र मेराे टिमले बनाएकाे नीति टक्सारकाे रहेकाे थियाे भने भूमिका फेरिँदै गर्दा म संसदमा पुग्दा टक्सारकाे नीतिलाइ मैले बाेकेर गएकाे हुनेछु भन्ने पनि स्पष्ट गर्न चाहन्छु । मेराे व्यक्तिगत र म सम्बद्ध पार्टीकाे कुनै पनि प्रभाव टक्सारमा पर्नेछैन भन्ने पनि प्रतिवद्धता गर्न व्यक्त गर्नु मेराे धर्म र कर्म दुबै हाे जस्ताे लाग्छ ।

राज्यका तीनै अंग र समाजलाइ मैले जहिले प्रश्न गर्दै आएकाे छु र गरिरहने छु । प्रश्न गर्ने थलाे अब संसद हुनेछ भन्ने दृढ विश्वासकासाथ मैले नेपाली समाजकाे विकासमा थप याेगदान गर्नेछु । राजनीतिक अभ्यासमा मेराे मार्गदर्शन गर्ने पार्टी राप्रपाले घोषणापत्र (स‌ंकल्प पत्र) पनि सार्वजनिक गरिसकेकाे छ । हामीले ‘संवर्धनवाद’ बाट आर्थिक सुधार ३.० सम्मको रोडम्याप प्रस्तुत गरका छाैँ । राप्रपा सनातन धर्म, संस्कृति र परम्पराको संरक्षण गर्दै राष्ट्र निर्माणमा विश्वास राख्छ। बडामहाराजाधिराज पृथ्वीनारायण शाह लाई आदर्श पुरुष मान्दै ‘पृथ्वीपथ’ मार्गदर्शन सिद्धान्त बनाएकाे छ पार्टीले । अहिलेको परिप्रेक्षमा राप्रपा देशको एकमात्र वैकल्पिक राजनीतिक शक्ति हो भन्नेमा कुनै अर्को मत छैन ।

राजसंस्था र हिन्दू राष्ट्रको अवधारणामा हामी स्पष्ट छाैँ । वर्तमान संघीय संरचनामा व्यापक सुधार र बलियो स्थानीय तहको दुई तहको सरकार र गैर-दलीय निर्वाचन प्रणाली हाम्राे प्रस्ताव छ । नेपालको आर्थिक नीति र विकास मार्गलाई पुनरावलोकन गर्दै नयाँ चरणको आर्थिक सुधार ३.० को अवधारणामा मुलुकलाई अघि बढाउन आवश्यक छ। जलस्रोत र ऊर्जा क्षेत्रमा पार्टीले आगामी १० वर्षमा २८ हजार ५०० मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्यसहित ‘ऊर्जा उत्पादन दशक’ घाेषणा गर्द आउँदाे संसद र सरकारमा बलियाे उपस्थिति जनाएर राष्ट्र निर्माणकाे अधुराे सपना पूरा गर्ने वाचा गर्दछाैँ ।

यतिन्जेल मैले धेरै प्रश्न गरेकाे छु, अब म प्रश्न गर्नेसँगै प्रश्न सुन्ने भूमिकामा पनि छु । त्यसैले मलाई सल्लाह, सुझाव, साथ दिन र प्रश्न गर्न अनुराेध गर्दछु । मेरा सबै सामाजिक सञ्जालका एकाउन्टहरू मेरो सार्वजनिक पोस्टबक्स हुन्- खासगरि देशको अर्थतन्त्र, बजेट प्रणाली, लघु घरेलु तथा साना उद्योगी/व्यवसायीहरू विपन्न र तल्लो मध्यम वर्गसहित निजी क्षेत्रको समग्र प्रतिनिधित्व गर्दै संसदमा यी क्षेत्रका मुद्दाहरूलाई गहन रुपमा उठाउने छु ।

मेरो मूल दायित्व समावेशी, समन्यायिक नेपालमा हालसम्म केबल भोट बैंकमात्र मानिएका अपांगता भएका नागरिकहरू, अल्पसंख्यक र अवसरबाट बञ्चित समुदायको हकहित रक्षाका लागि सशक्त आवाज बन्ने प्रतिबद्धता जनाउँदछु ।

त्यहाँसम्म पुगेर तपाईँको सशक्त आवाज बन्ने बाटाेलाई सुनिश्चित गर्न राप्रपाकाे हलाे चिन्हमा भाेट गर्न अनुराेध गर्दछु । किनकी तपाइँहरूले पार्टीलाइ दिने भाेटबाट नै म संसदमा प्रश्न गर्ने नैतिक र कानुनी हैसियतमा उपस्थित हुने हाे । विस्तृत एजेण्डा राप्रपाकाे घाेषणा पत्रमा रहेकाले अध्ययन गरेर रचनात्मक सल्लाह सुझावका लागि पुनः आव्हान गर्दछु ।
धेरै धेरै धन्यवाद ।
जय राष्ट्रवाद्र

गजेन्द्रसिंह बुढाथाेकी
समानुपातिक सांसद- उम्मेदवार, राप्रपा नेपाल
चुनाब चिह्न-हलो

तपाइँको प्रतिक्रिया