इनास फ्रान्सको चौथो अधिवेशनबाट महेन्द्र अधिकारीको नेतृत्वमा नयाँ कार्यसमिति
अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) फ्रान्सको चौथो अधिवेशन आइतबार पेरिसमा भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले महेन्द्र अधिकारीको अध्यक्षतामा २७ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ। नवगठित कार्यसमितिको कार्यकाल सन् २०२५ देखि २०२७ सम्म रहने जनाइएको छ। आन्तरिक तथा बाह्य विविध कारणले निर्धारित समयभन्दा करिब १० महिना ढिलो गरी अधिवेशन सम्पन्न भएको जानकारी आयोजक पक्षले दिएको छ। अधिवेशनको उद्घाटन पेरिसस्थित नेपाली दूतावासका नेपाली राजदूत सुधिर भट्टराईले गर्नुभएको थियो। उहाँले नेपाली भाषा, कला र संस्कृतिको संरक्षणका लागि विदेशमा हुर्किरहेका नेपाली पुस्तामा यसको हस्तान्तरण आवश्यक रहेकोमा जोड दिनुभयो। साथै, इनास फ्रान्सले फ्रान्सेली समाजबीच नेपाली कला र संस्कृतिको प्रवर्द्धनमा पुर्याएको योगदानप्रति गर्व व्यक्त गर्नुभयो।
कार्यक्रममा इनास फ्रान्सका संस्थापक अध्यक्ष प्रविण सापकोटाले संस्थाको वर्तमान अवस्थासम्मको यात्राप्रति खुशी व्यक्त गर्दै आगामी दिनमा एकताबद्ध भएर अघि बढ्नुपर्ने आवश्यकता औंल्याउनुभयो। उहाँले नव निर्वाचित कार्यसमितिलाई सपथ पनि गराउनुभएको थियो। पूर्व कोषाध्यक्ष आनन्द खनालले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदनअनुसार संस्थाको खातामा करिब २१०० युरो बचत रहेको जानकारी दिइयो।
कार्यक्रममा युरोप संयोजक श्याम श्रेष्ठ बेल्जियमबाट उपस्थित भई फ्रान्सको टिमलाई ऊर्जावान र मिलनसार भन्दै प्रशंसा गर्नुभयो र इनास फ्रान्सले विगत देखि नै आफ्नो छवि एक सकृय सँस्थाको रुपमा दिएको बताउनुभयो ।
अधिवेशनकै अवसरमा इनास युरोप र इनास बेल्जियमको संयुक्त आयोजनामा अप्रिल २४ र २५ मा हुने एकल नृत्य तथा गायन प्रतियोगिताका लागि फ्रान्सबाट सहभागी हुने कलाकारहरूको नाम पनि घोषणा गरिएको छ। जसअनुसार नृत्यतर्फ दीपा तामाङ र गायनतर्फ कुमार रानापहेली चयन हुनुभएको छ। कार्यक्रममा नेपाली राष्ट्रिय फुटबल टिमका पूर्व खेलाडी असिम जंग कार्कीलाई देशको सेवाप्रति सम्मानस्वरूप प्रमाणपत्र र खादा प्रदान गरिएको थियो। साथै, उहाँलाई इनास फ्रान्सको खेलकुद संयोजकको जिम्मेवारी पनि दिइएको छ।
नव निर्वाचित अध्यक्ष महेन्द्र अधिकारीले संस्थालाई समावेशी र सक्रिय बनाउने उद्देश्यले ठूलो कार्यसमिति गठन गरिएको स्पष्ट पार्नुभयो। पेरिस बाहिर रहेका रेन र तुलोँ जस्ता शहरबाट समेत सदस्यहरूलाई समावेश गरिएको उहाँले बताउनुभयो। आगामी दिनमा फ्रान्सभरि नेपाली कला, संगीत र संस्कृतिको प्रवर्द्धनलाई निरन्तरता दिने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभयो।
नयाँ कार्यसमिति (२०२५–२०२७) मा अध्यक्ष महेन्द्र अधिकारी, उपाध्यक्ष आनन्द खनाल र उमेश बन्जरा, महासचिव नबिन परियार, सचिव समीक्षा थापा र श्रीराम श्रेष्ठ, कोषाध्यक्ष विपिन सारु मगर, सह–कोषाध्यक्ष सृजना विश्वकर्मा, प्रवक्ता टिका दत्त अधिकारी रहेका छन्। संयोजकहरू नृत्यका लागि सुजिना सुबेदी, गायनका लागि राजु थापा मगर, कार्यक्रमका लागि निलम नेपाल, युवा कार्यक्रमका लागि विप्लब खनाल, खेलकुदका लागि असिम जंग कार्की, नेपाली बाजा तथा साउण्ड सिस्टमका लागि सुमन हाङ राई चयन भएका छन्। सदस्यहरूमा गंगा आचार्य (बर्खा), महेन्द्र बोहरा, नबिन पुरी, प्रकाश तामाङ घिसिङ, सन्तोष पुन, मेरिना तामाङ, ईस्टमान तामाङ, सकिला गुरुङ, सुस्मा खड्का थापा, प्रबुद्ध केसी, कृष्ण गुरुङ लगायत रहेका छन्।
यसैगरी यो कार्यक्रममा पेरिस स्थित नेपाली सँघसँस्थाहरु मध्ये नेपाली सांस्कृतिक गृहका अध्यक्ष नन्द कुमार थेवे, तमु समाज फ्रान्सका अध्यक्ष तग्दिर गुरुङ, मगर समाज फ्रान्सकी अध्यक्ष रमा थापा, स्याङ्जा समाज फ्रान्सकी उपाध्यक्ष सीता गुरुङ, जनसम्पर्क समिति फ्रान्सका अध्यक्ष सुधिर राना, राष्ट्रिय स्वतन्त्र पार्टीको प्रवासी संगठन पेरिसका अध्यक्ष कविन्द्र कायस्थ, मोना समाज फ्रान्सका अध्यक्ष ओम गौचन तथा गोर्खा समाज फ्रान्सका निवर्तमान अध्यक्ष रामेश्वर श्रेष्ठ इनास फ्रान्सका प्रमुख सल्लाहकार घनश्याम पौडेल, एनआरएनए फ्रान्सका आईसीसी सदस्य शिवराम भण्डारी र पाकोफेन फ्रान्सकी अध्यक्ष सुमित्रा प्रधान, एनआरएनए फ्रान्सका संस्थापक संयोजक हरिहर अर्याल, समाजसेवी वीरु खड्का, नेपाल प्लस प्रतिनिधि अनुराधा पौडेल लगायतले पनि मन्तव्य राख्नुभएको थियो।
कार्यक्रमको सञ्चालन निवर्तमान सचिव नवीन परियारले गर्नुभएको थियो भने कार्यक्रमको अध्यक्षता पूर्व अध्यक्ष आभाष आचार्यले गर्नुभएको थियो। कार्यक्रम दुइ चरणमा गरिएको थियो । पहिलो चरणको कार्यक्रमको समापन गर्दै निवर्तमान अध्यक्ष आभाष आचार्यले इनास फ्रान्सले विगतमा पनि फ्रान्सका विभिन्न क्षेत्रहरूमा रहेका विभिन्न नेपाल सम्बन्धि काम गर्ने सँस्थाहरु सँग भेटघाट गरेको र उहाँहरुका साथमा रहि नेपाली संस्कृति प्रवर्द्धन गर्दै आएको बताउनुभयो । आगामी दिनमा पनि यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिओस भनि सुभेच्छा व्यक्त गर्नुभयो ।









