सोमबार, वैशाख ७, २०८३

दक्षिण फ्रान्सको आभिन्योँमा घुम्ती कन्सुलर सेवा र पर्यटन प्रवर्धन

अनुराधा पौडेल/आभिन्योँ, दक्षिण फ्रान्स२०८३ वैशाख ७ गते १८:०९

फ्रान्सका विभिन्न शहरहरू, विशेषगरी दक्षिणी क्षेत्रमा, नेपालीहरूको बसोबास तीव्र रूपमा बढ्दै गएपछी घुम्ती कन्सुलर सेवा सञ्चालन गरिएको छ।

बस्ती विस्तारसँगै राहदानी तथा कन्सुलर सेवाहरू पेरिसमै केन्द्रित हुँदा त्यहाँसम्म पुग्न धेरै नेपालीहरूलाई कठिनाइ भएपछी यस्तो सेवा सञ्चालन गरिएको हो । पेरिसस्थित नेपाली दूतावासले हालै दक्षिण फ्रान्सको आभिन्योँ नजिक एक घुम्ती राहदानी तथा कन्सुलर सेवा शिविरसहित पर्यटन प्रवर्द्धन कार्यक्रम आयोजना गरेको हो ।

उक्त कार्यक्रम फ्रेन्च फरेन लिजनका मेजर ज्ञानबहादुर गुरुङ, “एसोसिएसन नेपाल आभिन्योन” लगायत स्थानीय नेपाली समुदायको सहयोगमा अप्रिल ११ र १२ मा भएको थियो।

कन्सुलर सेवाका लागि आवश्यक सामग्री पेरिसस्थित दूतावासबाट लगिएको थियो भने नेपालस्थित परराष्ट्र मन्त्रालयको सर्भर शनिबारसमेत सञ्चालनमा राखेर राहदानी सेवा प्रदान गरिएको थियो।

कार्यक्रमको उद्घाटन पेरिसस्थित नेपाली राजदूत सुधीर भट्टराईले गरेका हुन । उनले बालबच्चासहित पेरिस पुग्नुपर्ने बाध्यता, दूरी र खर्चका कारण यस्तो सेवा दक्षिण फ्रान्सलाई लक्षित गरी ल्याइएको बताए। विशेषगरी फ्रेन्च सेनामा कार्यरत नेपालीहरू दक्षिण क्षेत्रमा फैलिएको उनको भनाइ थियो। आगामी दिनमा यस्ता सेवा निरन्तरता दिने प्रतिबद्धता पनि उनले व्यक्त गरे ।

पहिलो दिन ३५ जना नेपालीले सेवा लिएका थिए। राहदानी नवीकरणदेखि बालबालिकाको जन्मदर्ता प्रमाणपत्रसम्मका कामहरू भएका थिए। यस क्रममा सिराहा निवासी अमनमोल कृष्णमोहन चौधरीले पहिलो राहदानी नवीकरण गरेका थिए। उनि हाल दक्षिण फ्रान्समा एयरोस्पेस क्षेत्रमा पोस्टडक्टरल अनुसन्धानरत छन ।

उनले भने, “अब मैले करिब ४० मिनेटको दूरीमै सेवा पाएको छु। पेरिस जानुपरे कम्तीमा दुई दिन बिदा लिनुपर्थ्यो । खर्च पनि धेरै हुन्थ्यो।” उनले यो सेवाबारे जानकारी गुगलको ‘जेमिनी’ आर्टिफिसियल इन्टेलिजेन्सबाट पाएको बताउँदै पछि दूतावासको वेबसाइटमा पनि पुष्टि भएको जानकारी दिए।

फ्रान्समा नेपाली समुदायको मुख्य बसोबास पेरिस वरपर भएपनि वैवाहिक, व्यावसायिक तथा सैनिक पेशामा रहेका नेपालीहरू देशभर फैलिएका छन्। विशेषगरी दक्षिण फ्रान्समा फ्रान्सेली सेनामा कार्यरत नेपालीहरूको संख्या उल्लेख्य रूपमा बढ्दै गएको छ।

दूतावासकी उपनियोग प्रमुख तथा सूचना अधिकारी सिता बस्नेतले आगामी दिनमा अन्य शहरहरूमा पनि यस्ता सेवा विस्तार गर्ने विषयमा छलफल भइरहेको बताईन । उनका अनुसार फ्रान्समा करिब १२ हजार नेपाली रहेको अनुमान छ । तर सबैले दूतावासमा दर्ता नगरेकाले यकिन तथ्यांक उपलब्ध छैन।

कार्यक्रममा मेजर ज्ञानबहादुर गुरुङले फ्रेन्च फरेन लिजनमा करिब ९ हजार सैनिकमध्ये झण्डै ३० प्रतिशत नेपाली रहेको उल्लेख गरे। नेपालीहरूले फ्रन्टलाइनदेखि प्राविधिक, इन्जिनियरिङ, प्यारासुट र किचनजस्ता विभिन्न क्षेत्रमा उत्कृष्ट योगदान दिइरहेको उनले बताए। विदेशी र फ्रान्सेली सैनिकबीच तलब–भत्तामा कुनै विभेद नरहेको पनि उनले स्पष्ट पारे।

दोस्रो दिन नेपाली समुदायसँग अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा मिन घले, अशोक दाहाल, गणेश श्रेष्ठ, राजु गुरुङ लगायतले अनलाइन फाराम प्रक्रिया जटिल रहेको, सैनिक तालिमका कारण लामो समयसम्म राहदानी नवीकरण गर्न कठिन हुने, पेरिस केन्द्रित सेवाले अन्य क्षेत्रका नेपालीलाई उपेक्षित महसुस गराएको लगायत विषय उठाएका थिए।

यसै क्रममा आभिन्योँ क्षेत्र नेपालीहरूको आकर्षक बसोबास स्थल बन्दै गएको र आगामी केही वर्षमा ७–८ सय नेपाली बसोबास गर्ने सम्भावना रहेको जानकारी पनि साझा गरिएको थियो। सहभागीहरूले दक्षिण फ्रान्समै स्थायी कन्सुलर सेवा आवश्यक रहेको धारणा व्यक्त गरेका थिए। यी जिज्ञासाहरूको जवाफ राजदूत भट्टराई र सीता बस्नेतले दिए।

दोस्रो सत्रमा पर्यटन प्रवर्द्धन कार्यक्रम सम्पन्न भयो। कार्यक्रममा “सीएल घुन्सा सोलिदारिते नेपाल” र “एसोसिएसन नेपाल आभिन्योँ” लगायत संस्थाहरू तथा नेपालप्रेमी फ्रान्सेलीहरूको उत्साहजनक सहभागिता थियो। कार्यक्रम आयोजना भएको शहरका मेयर एतिएन क्लाँकोको पनि उपस्थिति थियो। मेयर र नेपाली राजदूतबीच उपहार आदान–प्रदान गरिएको थियो।

“सीएल घुन्सा सोलिदारिटे नेपाल” सन् २०१४ देखि नेपालमा शिक्षा, सरसफाइ र विद्युतीकरण क्षेत्रमा सक्रिय छ भने “एसोसिएसन नेपाल आभिन्योन” ले सन् १९८७ देखि धादिङ क्षेत्रमा शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएको छ।

वर्षौंदेखि नेपाल र नेपालीका लागि शिक्षा र स्वास्थ्य, भ्रमण सुझाव दिने लगायतका क्षेत्रमा काम गर्दै आएका फ्रान्सेलीहरुले पहिलो पटक नेपाली राजदूतलाई भेट्न पाएकोमा हर्ष बिभोर भएका थिए । “नेपाली राजदूत साह्रै मिजासिला र जनताका साह्रै नजिक रहेछन्” उनीहरुले भनेका थिए ।

कार्यक्रममा राजदूत भट्टराईले नेपाल हिमाल मात्र नभई ध्यान र योगको देश भएको उल्लेख गर्दै वर्तमान अवस्थामा नेपाल सुरक्षित पर्यटन गन्तव्य रहेको बताए। कार्यक्रममा दूतावासले नेपाल चिनाउने विभिन्न सामग्रीहरू पनि वितरण गरेको थियो । दुवै एसोसिएन तथा फ्रेन्च फरेन लिजनका तर्फबाट तिनवटा स्टल राखिएको थियो ।

तपाइँको प्रतिक्रिया

फेसबुक