बेल्जियममा ११औँ युरोप स्तरीय एकल नृत्य र गायन प्रतियोगिता: फ्रान्सका दुई कलाकार प्रथम
अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) युरोप र इनास बेल्जियमको संयुक्त आयोजनामा बेल्जियमको ब्रुज शहरमा २४ र २५ तारिखका दिन सम्पन्न ११औँ युरोप–स्तरीय एकल नृत्य तथा एकल गायन प्रतियोगिता तथा क्षेत्रीय बैठकमा फ्रान्सका प्रतिनिधि कलाकार कुमार रनपहेली (गायन) र दीपा तामाङ (नृत्य) दुवैले आ–आफ्नो विधामा प्रथम स्थान हासिल गर्नुभएको छ।
गायन विधामा प्रथम फ्रान्स, दोस्रो जर्मनी र त्रितिय स्थानमा पोल्याण्ड बिज यि भएका हुन । नृत्यतर्फ बेल्जियमकी प्रिन्सी खनाल दोस्रो र दृष्या शर्मा तेस्रो स्थानमा रहन सफल भए।
विजेताहरूलाई क्रमशः प्रथम पुरस्कार आठ सय युरो, दोस्रो पुरस्कार पाच शय युरो, तेस्रो पुरस्कार तिन शय युरो, साथै प्रमाणपत्र र मेडल प्रदान गरिएको थियो।
युरोपका नौ देशको सहभागिता
ब्रुजमा सम्पन्न कार्यक्रम भव्य र व्यवस्थित रूपमा सम्पन्न भएको आयोजकले जनाएको छ। युरोपका नौ देशबाट नेपाली समुदायको सक्रिय सहभागिता रहेको थियो।
इनासको परम्परा अनुसार कार्यक्रमको पहिलो दिन युरोप क्षेत्रीय बैठक आयोजना गरियो, जहाँ युरोपस्थित राष्ट्रिय समितिहरूले वार्षिक प्रतिवेदन प्रस्तुत गरे। सोही अवसरमा आगामी वर्षका कार्यक्रम तथा योजनाहरू सामूहिक छलफलमार्फत तय गरियो।
कार्यक्रमको उद्घाटन इनासका ग्लोबल अध्यक्ष अर्जुन काफ्ले, इनास युरोपका संयोजकद्वय श्याम श्रेष्ठ र सुनिल गुरुङ, तथा संस्थापक अध्यक्ष पुष्पकुमार बरुवालले संयुक्त रूपमा दियो बालेर गर्नुभएको थियो। युरोपका एनसिसीहरूको वार्षिक प्रतिवेदन भिडियो प्रोजेक्टरमार्फत प्रस्तुत गरिएको थियो।
दोस्रो दिन : राजदूतको प्रमुख आतिथ्य
दोस्रो दिनको कार्यक्रम बेल्जियमस्थित नेपाली दूतावासकी राजदूत सेवा लम्सालको प्रमुख आतिथ्य र इनास बेल्जियमकी अध्यक्ष सेवा लम्सालको सभापतित्वमा सम्पन्न भयो।
यस दिन विजेताहरूले आफ्ना प्रस्तुति दिएका थिए। साथै युरोपमा बसोबास गर्ने नेपाली तथा नेपालीमूलका बालबालिकाले पनि विविध सांस्कृतिक प्रस्तुति राखे। लाखे नृत्य, इनासका पूर्वविजेताहरूको प्रस्तुति तथा विभिन्न जातजाति, भाषा र क्षेत्र झल्किने नेपाली पोशाक शोले कार्यक्रमलाई झनै आकर्षक बनाएको थियो ।
सांस्कृतिक कार्यक्रमको महत्व
वक्ताहरूले यस्ता कार्यक्रमहरूले युरोपभर छरिएका नेपालीबीच एकता र सौहार्द बढाउने, पहिचान, भेटघाट र आपसी सहयोगको वातावरण बनाउने, युरोपमा हुर्किरहेका दोस्रो पुस्तालाई नेपाल र नेपाली संस्कृतिसँग जोड्ने, कला–संस्कृतिको पुस्तान्तरणमा महत्वपूर्ण भूमिका खेल्ने
जस्ता विषयमा जोड दिएका थिए।
दोस्रो दिन प्रमुख अतिथि राजदूत सुम्निमा तुलाधरले नेपाली कला, भाषा, साहित्य र संस्कृति आफैंमा एक उत्कृष्ट राष्ट्रिय पहिचान भएको उल्लेख गर्दै यसको प्रवर्द्धनमा इनासले पुर्याउँदै आएको योगदान महत्वपूर्ण रहेको बताइन्।
आगामी वर्षको कार्यक्रम बेलायतमा
इनास युरोपको परम्परा अनुसार आगामी वर्षको युरोप–स्तरीय एकल गायन तथा एकल नृत्य प्रतियोगिता तथा क्षेत्रीय बैठक बेलायतमा आयोजना गरिने भएको छ।
कार्यक्रम अत्यन्तै सौहार्दपूर्ण, व्यवस्थित र गौरवपूर्ण रूपमा सम्पन्न भएको भन्दै इनास युरोप, इनास बेल्जियम तथा ग्लोबल समितिका पदाधिकारीहरूले खुशी व्यक्त गरेका छन्।













