सम्पन्न डायस्पोराको आधार : संगठित नेपाली व्यवसायी समुदाय
विश्वका विभिन्न कुनामा फैलिएका नेपालीहरू आज श्रम, संघर्ष र सपनाको यात्रामार्फत आफ्नो पहिचान निर्माण गरिरहेका छन्। विशेषगरी युरोपमा, फरक भाषा, फरक कानुनी संरचना, फरक व्यापारिक संस्कार र फरक सामाजिक परिवेशबीच नेपालीहरूले आफ्नै बलबुतामा व्यवसायिक उपस्थिति निर्माण गर्नु सामान्य उपलब्धि मात्रै मान्नु हुँदैन। साना पसलदेखि रेस्टुरेन्ट, ट्रेडिङ, सेवा क्षेत्र, प्रविधि तथा विभिन्न उद्यममा नेपालीहरूको उपस्थिति विस्तार हुँदै गएको छ। तर अझै पनि हाम्रो यो यात्रा धेरै हदसम्म व्यक्तिगत संघर्षमै सीमित छ, सामूहिक शक्तिमा रूपान्तरण हुन सकेको छैन।
आज युरोपमा हजारौं नेपाली व्यवसायमा आबद्ध छन्। कसैले वर्षौंको अनुभव संकलन गरेका छन् । कसैले स्थानीय कानुनी प्रणालीको गहिरो ज्ञान हासिल गरेका छन् । बजार र लगानीका अवसरहरू पहिल्याएका छन् केहिले । तर यी सबै अनुभव, ज्ञान र क्षमताहरू एकीकृत हुन नसक्दा नेपाली समुदायले प्राप्त गर्नसक्ने धेरै सम्भावना अझै अधुरै छन्। यही आवश्यकतालाई आत्मसात गर्दै नेपाली व्यवसायी संघ युरोप स्थापना गरिएको हो।
यो संस्था केवल व्यवसायीहरूको एउटा औपचारिक संगठन मात्र होइन, युरोपमा नेपाली व्यवसायिक भविष्य निर्माण गर्ने साझा अभियान पनि हो। व्यक्तिगत सफलतालाई सामूहिक समृद्धिमा रूपान्तरण गर्ने प्रयास हो। युरोपभर रहेका नेपाली व्यवसायीहरूबीच सहकार्य, सूचना आदानप्रदान, अनुभवको साझेदारी, व्यवसायिक सन्जाल विस्तार तथा दीर्घकालीन सोचको वातावरण निर्माण गर्नु यसको मूल उद्देश्य हो।
हामी मध्ये धेरैले व्यवसाय सुरु गर्दा अनेकौं चुनौतीहरू भोगेका छौं। भाषाको समस्या, कानुनी जटिलता, वित्तीय जोखिम, बजारको अनभिज्ञता र सामाजिक एक्लोपनाका बीचबाट हामी अघि बढेका हौं। यदि त्यतिबेला मार्गदर्शन गर्ने, अनुभव बाँड्ने र साथ दिने कुनै बलियो व्यवसायिक सञ्जाल भएको भए हाम्रो यात्रा अझ सहज हुन सक्थ्यो। त्यसैले आज सफल भएका व्यवसायीहरूको जिम्मेवारी नयाँ पुस्ता र नयाँ व्यवसायीहरूलाई प्रेरणा, जानकारी र अवसर प्रदान गर्नु पनि हो
युरोपमा नेपाली समुदायबाट हरेक वर्ष विभिन्न सेवा, कमिशन र व्यवसायिक प्रणालीहरूमा करोडौं युरो बाहिरिने अवस्था छ। यदि हामी संगठित भयौं भने खाद्य वितरण प्रणाली, इन्स्योरेन्स, रियल स्टेट, मानव संसाधन, डिजिटल सेवा, आयात–निर्यात लगायतका क्षेत्रमा आफ्नै व्यवसायिक संरचना विकास गर्न सक्नेछौं। साना व्यवसायहरूलाई मझौला र मझौलालाई ठूला व्यवसायमा रूपान्तरण गर्ने वातावरण सिर्जना गर्न सकिनेछ।
नेपाल र युरोपबीच व्यापारिक सहकार्य विस्तार गर्ने सम्भावना पनि उत्तिकै विशाल छ। नेपाली चिया, कफी, जडीबुटी, हस्तकला, पश्मिना, अर्गानिक उत्पादन तथा पर्यटन क्षेत्रलाई युरोपेली बजारसँग प्रभावकारी रूपमा जोड्न सकियो भने त्यसले नेपाल र नेपाली दुवैलाई लाभ पुर्याउनेछ। यसका लागि संस्थागत पहल, व्यवसायिक सन्जाल र दीर्घकालीन रणनीति अपरिहार्य छन्।
यही सोचलाई व्यवहारमा उतार्ने उद्देश्यसहित नेपाली व्यवसायी संघ युरोपले “नेपाल–युरोप बिजनेस समिट एन्ड कन्भेन्सन २०२६” आयोजना गर्ने तयारी गरिरहेको छ। यो समिटले नेपाल र युरोपबीच व्यापार, लगानी, उद्यमशीलता र व्यवसायिक सहकार्यलाई नयाँ उचाइमा पुर्याउने अपेक्षा गरिएको छ। साथै युरोपभर छरिएका नेपाली व्यवसायीहरूलाई एउटै साझा प्लेटफर्ममा जोड्दै भावी रणनीति निर्माण गर्ने अवसर प्रदान गर्नेछ।
अर्को महत्वपूर्ण प्रश्न व्यवसायको पुस्तान्तरणसँग जोडिएको छ। हामीले आज संघर्ष गरेर निर्माण गरेका व्यवसायहरू भोलि हाम्रो दोस्रो पुस्ताले निरन्तरता दिन्छन् कि दिँदैनन् भन्ने विषय अत्यन्तै महत्वपूर्ण छ। युरोपमा जन्मिएका र हुर्किएका हाम्रा छोराछोरीहरूसँग भाषिक दक्षता, कानुनी ज्ञान र स्थानीय समाजको गहिरो बुझाइ छ। तर उनीहरूलाई व्यवसायसँग जोड्न सकिएन भने नेपाली डायस्पोराले वर्षौं लगाएर निर्माण गरेको व्यवसायिक विरासत क्रमशः कमजोर हुँदै जानसक्छ। त्यसैले व्यवसायलाई आधुनिक, पारदर्शी र आकर्षक बनाउँदै नयाँ पुस्तालाई जोड्ने वातावरण सिर्जना गर्नु पनि हाम्रो साझा दायित्व हो।
हामी सुखी र समृद्ध भविष्यको खोजीमा देश छाडेर आएका हौं। तर समृद्धि केवल व्यक्तिगत उपलब्धिमा सीमित हुनु हुँदैन। समुदायलाई माथि उठाउने, नयाँ आउनेहरूलाई अवसर दिने र मातृभूमिसँगको आर्थिक सम्बन्धलाई सुदृढ बनाउने दायित्व पनि हामीमाथि छ। जब व्यवसायीहरू संगठित हुन्छन्, तब समुदाय बलियो हुन्छस समुदाय बलियो हुँदा समाज समृद्ध बन्छ।
आजको आवश्यकता केवल सफल व्यवसाय गर्नु होइन, सफल व्यवसायिक समुदाय निर्माण गर्नु हो। किनभने व्यक्तिगत सफलता समयसँगै हराउन सक्छ, तर संस्थागत शक्ति पुस्तौंसम्म बाँच्छ। यदि आज हामी संगठित भयौं भने भोलिका पुस्तालाई बलियो व्यवसायिक आधार, सम्मानित पहिचान र समृद्ध भविष्य हस्तान्तरण गर्न सक्नेछौं। त्यसैले नेपाली व्यवसायी संघ युरोप कुनै विकल्प होइन, समयको आवश्यकता हो।



