आइतबार, पुष ७, २०८१

महाभारत पात्र : द्रोणाचार्य, त्यस युगका सर्वश्रेष्ठ शिक्षक

आर एल श्रमजीवी२०७७ कार्तिक २६ गते १६:३२

महाभारत कथामा भीष्म पछि उमेरले पाको द्रोणाचार्य सबैभन्दा महत्त्वपूर्ण मानिन्छन् । भनिन्छ देवगुरु बृहस्पतिको जन्म द्रोणाचार्यको रूपमा भएको थियो । महाभारत कथामा द्रोणाचार्यसँग सम्बन्धित यस्ता कुराहरु पढ्न पाईन्छ ।

                    द्रोणको जन्म

अप्सरा घृताची र महर्षि भारद्वाजबाट द्रोणको जन्म भएको थियो । उनको जन्म सहज थिएन । महर्षि भारद्वाजको विर्य यज्ञकलश वा पर्वतीय गुफामा स्खलन भएको कारण अप्सरा घृताची गर्भवती भएकी थिईन् र उनको जन्म भएको थियो । यसर्थ उनलाई द्रोण भनियो । द्रोणाचार्य भारद्वाज मुनिका छोरा थिए । उनी संसारकै सबैभन्दा राम्रा धनुर्धारी थिए । आफ्ना पिता भारद्वाज मुनिको आश्रममा रहँदा द्रोण चार वेद र धनुर्विद्यामा पारंगत भएका थिए । द्रोणको जन्म उत्तरांचलको राजधानी देहरादूनमा भएको भनिन्छ, जसलाई हामी देहराद्रोन अर्थात माटोको कलश पनि भन्छौं । द्रोणले आफ्नो पिता भारद्वाज मुनिकै आश्रममा बसेर अध्ययन गरे र भारद्वाज मुनिको शरीर पछि पनि त्यहिँ बसे । वेद, वेदान्तका ज्ञाता हुनुका साथै धनुर्विद्याका पारंगत र तपस्वी द्रोणको ख्याति छोटो समयमा नै चारैतिर फैलियो ।

                                    विवाह

द्रोणाचार्यको विवाह कृपाचार्यकी बहिनी कृपीसँग भएको थियो । ऊनीलाइ कृपारी पनि भनिन्छ । कृपीबाट अश्वत्थामाको जन्म भएको थियो । अश्वत्थामाको जन्म हुँदा द्रोणको आर्थिक अवस्था अत्यन्त दयनीय थियो । यहि अवस्थाको कारण अश्वत्थामाले आमा कृपीलाई दूधको माग गर्दा आमा कृपीले आफ्नो छोरो अश्वत्थामालाई पानीमा पीठो मिसाएर दूध भन्दै पिउन दिएको प्रसंग महाभारतमा आउँछ । अश्वत्थामाले दुध भन्ठानेर पिउँदै गरेको चिज उनका साथीहरुले दुध नभएको कुरा भन्दै गर्दा आफ्नो पिता द्रोणाचार्यलाई यो कुरा अश्वत्थामाले सोधे । आफ्नो छोराको रहर र आफ्नो आर्थिक अवस्थाले उनी अत्यन्त दुखित भए । द्रोण र अश्वत्थामा दुवै मिलेर महाभारतमा अराजक अवस्था सिर्जना गरे । अश्वत्थामा महादेव, यम, काल र क्रोधको संयुक्त अंशबाट उत्पन्न गरिएका थिए भने द्रोणाचार्य हस्तिनापुरका राजकुमारहरुका कुलगुरु थिए ।

                                   द्रोणको वचन

भीष्मपितामहलाई गुरु द्रोणाचार्यले कौरव राजकुमारहरूलाई मात्र धनुर्विद्या सिकाउने वचन दिएका थिए । तर उनले अर्जुनलाई महान धनुर्धर बनाएर छोडे । त्यति मात्रै होईन, एकलव्यले गुरु द्रोणाचार्यबाट धनुर्विद्या सिक्न खोज्दा उनले आफू शूद्रको गुरु नबन्ने प्रतिज्ञा गरेको कुरा गरे । उनको यस कुरालाई केही समूहले गलत अर्थमा लिएका थिए र समाजलाई विभाजित गर्न खोजेको कुरा गरे । अन्तिममा आफूलाई गुरु मानेको प्रमाणित गर्न उनले एकलव्यबाट गुरु दक्षिणा दायाँ हातको बुढीऔंला लिएर अर्जुनभन्दा अर्को महान घनुर्धर पृथ्वीमा नभएको प्रमाणित गर्न समेत चुकेनन् ।

                                       द्रोणको वध

महाभारत युद्धको एघारौं दिनको दिन कर्णको आदेशमा द्रोणाचार्यलाई कौरव सेनापति बनाइन्छ । अश्वत्थामाका पिता द्रोणको बढ्दो शक्तिसँगै पाण्डव सेनामा त्रास फैलियो । पिता र पुत्र एकसाथ महाभारत युद्धमा होमिँदा पाण्डवहरूको आफ्नो पराजय सुनिश्चित गरे । लड्नु अघि नै पाण्डवहरूको आफ्नो पराजय सुनिश्चित गरेको देखेर श्री कृष्णले युधिष्ठिरलाई भेद (गोप्य कुरा) बताई दिए । यस भेद अनुसार अश्वत्थामा नाम गरेको हात्ती मारेर युद्धमा ‘अश्वत्थामा मारियो’ भन्ने कुरा फैलाइयो । यो कुरा सुनेर आहत हुँदै द्रोणाचार्यले धर्मराज युधिष्ठिरलाई अश्वत्थामाको सत्यता बताउन आग्रह गरे, तब उनले जवाफ दिए – ‘नरो वा कुन्दरो वा अश्वत्थामा हतो हत: । उनको जवाफ सुनेर आफ्नै पुत्र अश्वत्थामा मारियो भन्ने ठाने र पुत्र वियोगमा परेर आफ्ना हतियारहरू त्यागेर युद्ध मैदानमै विलाप गर्न थाले । उनी शोक मग्न अवस्थामा भएको अवसर पारेर द्रौपदीका भाई धृष्टद्युम्नले तरवारले उनको टाउको काटिदिए । यसरी द्रोणचार्य मारिए ।

                                       गुरु द्रोणको आश्रम

गुरु द्रोणको आश्रम हस्तिनापुरमा थियो । उनले हजारौं चेलाहरूलाई धनुर्विद्या सिकाए । ती चेलाहरूमा पाण्डु पुत्र पाण्डवहरुको नाम विशेष गरी लिइएको छ । गुरु द्रोण युद्ध सम्बन्धी सबै प्रकारका शिक्षा प्रदान गर्नमा माहिर थिए । उनको आश्रम भारतका १६ आश्रम मध्ये एक थियो । कुरु जिल्लामा घोडा सवारी, तीरंदाजी, हातमा र डिवास शिक्षाको लागि मुख्य आश्रम थियो । यद्यपि, त्यहाँ ज्योतिष, चिकित्सा र वैदिक ज्ञान पनि सिकाइन्थ्यो ।

द्रोणाचार्य द्वापार युगका कौरव र पाण्डवका गुरु थिए । आज पनि उनलाई उत्कृष्ट शिक्षकको श्रेणीमा राखिन्छ र ठूलो सम्मानका साथ उनको नाम लिईन्छ । द्रोणाचार्यलाई उनको युगको सर्वश्रेष्ठ शिक्षकको रुपमा पुजिन्छ र सबैभन्दा राम्रो धनुर्धारी गुरु भएकै कारण द्रोणको नाम इतिहासमा अजर-अमर छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक