शनिबार, वैशाख १५, २०८१

युरोपेली विमानहरुद्वारा हजारौं उडान खाली उडाउन बाध्य

नेपालप्लस संवाददाता२०७८ माघ ४ गते १६:११

कोरोना भाईरसको महामारीले यात्रुहरुमा ब्यापक कमी भएपनि विमान कम्पनीहरुले यात्रु बिनानै हजारौं खाली उडान गरिरहेका छन् ।

ठूला विमान कम्पनीहरूले एयरपोर्टमा जहाज पार्किङ, उडान र अवतरणकालागि तोकिएको समय र स्थान ओगटिराख्न खाली विमानहरु उडाउन बाध्य भएका छन् । केहि विमानहरुले न्युन, नगण्ड्य संख्यामा यात्रु लिएरपनि लगभग रित्तो उडान (घोस्ट फ्लाईट) गरिरहेका छन् ।

लुफ्थान्सा समूहका प्रमुख कार्यकारी अधिकृत कार्स्टेन स्पोहरले २३ डिसेम्बरमा जर्मन अखबार फ्र्याङ्कफुर्टर अल्जेमाइन सोनटागजेइटुङ्गलाई आफ्ना विमानहरुले युरोपेली विमानस्थलहरूमा स्लटहरू सुरक्षित गर्न जाडोमा १८ हजार यात्रुबिना खाली उडानहरू गर्न बाध्य पारिएको बताएका छन् ।

विश्वभरका विभिन्न एयरपोर्टहरूमा स्लटहरूको लागि दौड एयरलाइन्सहरूले सामना गर्ने समस्याहरू मध्ये एक हो ।

लुफ्थान्साले विश्वभरका एयरपोर्टहरूमा स्लटहरू जोगाउन १८ हजार अनावश्यक उडानहरू गरेको दाबी गरेपछि लुफ्थान्सा समूहका प्रमुख कार्यकारी निर्देशकले विशेष गरी युरोपेली संघका उडान नियमहरूको आलोचना गरे । किनकि यो अवस्थाले जलवायुलाई हानि पुर्‍याउँछ र युरोपेली आयोगले चाहेको ठीक विपरीत छ ।

युरोपमा कोविड-१९ संक्रमणमा भएको बृद्धिले यात्रुहरुको संख्यामा गिरावट आएको छ । तर विमान कम्पनीहरु आफ्नो स्लट (पार्किङ, अवतरण, उडान) को तालिका राखिरहन बाध्य छन् । त्यसलाई नविकरण गर्न उनीहरुले तोकिएको समय अनुसार विमान उडान र अवतरण गरिरहनुपर्छ । आफ्नो पार्किङस्थल, उडान र अवतरणको समय कायम राख्न उनीहरुले अत्यन्तै कम संख्या लिएर वा विमानहरु खाली उडाउन बाध्य भएका हुन् ।

धेरै युरोपेली देशहरूमा ओमिक्रोन भेरियन्टले धेरै संक्रमण फैलाएपछि युरोपेली विमान कम्पनीहरूको तालिकाबाट उडान रद्द गर्नुपर्ने स्थिति निम्त्याएको छ । त्यसले गर्दा सरकारबाट पाउने अनुदान र पूनर् प्राप्ति रिकभरी योजना) हरू समेत छोड्न बाध्य बनेका छन् ।

आफूले पाएको उडान तालिका र पार्किङ स्थलहरु एक पटक रद्द गरेपछि ति कम्पनीले फेरि त्यहि समय तालिका र पार्किङ पाउने सुनिस्चितता हुँदैन । त्यहि समय र कार्यतालिका जोगाईराख्नपनि विमान कम्पनीहरु खाली विमान उडाउन बाध्य बनेका हुन् ।

युरोकन्ट्रोलले जनवरी १२ मा अघिल्लो हप्ताको सोही दुई दिनको तुलनामा अघिल्लो दुई दिनमा ३,००० कम उडान भएको जनाएको थियो ।

जनवरी ७ मा युरोकन्ट्रोलले यो वर्ष अहिलेसम्म आफ्नो नेटवर्कमा प्रतिदिन १९,५०६ उडानहरू रेकर्ड गरेको बताएको छ जुन २०१९ को स्तरमा ७७ प्रतिशत कम हो । यसको आधारभूत पुनर्प्राप्ति अनुमानभन्दा कम भएको जनाएको छ ।

नेटवर्क प्रबन्धकसँग २०२२ मा जाने तीनवटा परिदृश्यहरू थिए जसमध्ये सबैभन्दा कम आशा गरिएअनुसार सन् २०१९ को स्तरमा ७९ प्रतिशत उडान अनुमान गरिएको थियो । सबैभन्दा बढी आशा गरिंदा सन् २०१९ को तुलनामा ८७ प्रतिशतसम्म हुनसक्ने अनुमान थियो ।

डिसेम्बरमा, एयरलाइन्स र एयरपोर्टहरूले ग्रीष्म २०२२ यामको लागि ६४ प्रतिशत न्यूनतम स्ल्ट (उडान, अवतरण, पार्किङ, उडान तालिका आदि) गर्ने युरोपेली आयोगको निर्णयलाई स्वागत गरेका थिए । त्यसको अर्थ वर्तमान अवस्थामा ५० प्रतिशत वृद्धि र सामान्य अवस्थामा ८० प्रतिशत न्यूनतम पुग्ने भनिएको थियो ।
अर्को याम (सिजन) का लागि आफ्नो स्लट कायम गर्न विमान कम्पनीहरुले ८० प्रतिशत स्लट प्रयोग गर्नुपर्ने थियो ।

तर कोरोना भाईरस महामारीका कारण त्यो न्युनतम शर्त कम्पनीहरुले पालना गर्न सकेका छैनन् । त्यो ८० प्रतिशत ग्राहक हुनुपर्ने भनिएको शर्त भिडभाडयुक्त, बढी चल्ने वा सधैं ब्यस्त रहने विमानस्थल र समयतालिकाकालागि तोकिएको थियो । तर कम भिडभाडयुक्त र कम चल्ने भनिएको समयकालागि कम्तिमा २० प्रतिशत स्लट कायम हुनुपर्ने भनिएको थियो ।

ओमिक्रोनले एयर ट्राफिक रिकभरी (पुनर्उत्थान) लाई अवरुद्द पारिदिएको छ । त्यसले गर्दा विमान कम्पनीहरु जोगाउन थप लचिलोपनको लागि दबाब बढ्दै छ । बेल्जियमका यातायात मन्त्री जर्जस गिल्किनेटले महामारीको समयमा स्लट नियमहरूमा थप समायोजन गर्नका लागि आयोगलाई पत्र लेखेका छन् । ट्विटरमा गरिएको एक पोस्टमा मन्त्रीले भने “एयरलाइन्सहरूलाई टेक-अफ र ल्यान्डिंग अधिकारहरू राख्नको लागि ठूलो मात्रामा खाली उडानहरू सञ्चालन गर्न आवश्यक भएको छ । यो आर्थिक, पारिस्थितिक र सामाजिक दृष्टिकोणबाट बुझ्न नसकिने र अर्थहीन छ ।”

युरो कन्ट्रोलले लिइएका स्लटहरूको उचित गैर-उपयोगसँग सम्बन्धित छुट प्रदान गर्न सकिने बताएको छ । एयरलाइन्सहरूले खाली विमानहरू उडान नगरी उनीहरूको ऐतिहासिक स्लटहरू राख्न सक्ने सुनिश्चित गर्न सक्छन् ।

“ईयू स्लट राहतको उद्देश्य भनेको स्वास्थ्य प्रतिबन्धहरूले यात्रुहरूलाई यात्रा गर्नबाट रोकेको बेला एयरलाइन्सहरूले खाली उडानहरू नगरी आफ्नो ऐतिहासिक स्लटहरू कायम राख्न सक्ने सुनिश्चित गर्नु हो” युरो कन्ट्रोल प्रवक्ताले भनेका छन् । उनको भनाईमा समयमा एयरलाइन्सहरूले उपभोक्ताहरूको हित र कनेक्टिभिटीको लागि एयरपोर्टको क्षमतालाई प्रतिस्पर्धी रूपमा प्रयोग गर्ने प्रयास गर्नुपर्छ । यदि कुनै एयरलाइनले अस्थायी रूपमा आफ्नो स्लटहरू प्रयोग गर्न असमर्थ छ भने त्यस्ता स्लटहरू अन्य एयरलाइनहरूलाई अल्पकालिन समयकोलागि दिनसक्छ ।

रायनएयर समूहका प्रमुख कार्यकारि निर्देशक माइकल मोलेरीले यदि लुफ्थान्सा जस्ता प्रमुख युरोपेली क्यारियरहरूले यी उडानहरू प्रतिस्पर्धी एयरलाइन्सहरूलाई ति स्लटहरू लिनबाट रोक्नको लागि मात्र सञ्चालन गर्न आवश्यक ठान्छन् भने उनीहरूले यी सिटहरू बेच्न आवश्यक भएको बताएका छन् । उनीहरुले कम भाडामा जनतालाई बेचेर प्रयोग गर्नुपर्ने बताएका छन् । त्यसले ठूला र ब्यस्त विमानस्थलमा प्रतिस्पर्धा रोक्न र छनौट सीमित गर्न सकिने उनको भनाई छ ।

उनले थपे “यदि लुफ्थान्साले आफ्नो स्लटहरू जोगाउन ‘घोस्ट फ्लाईट’ (खाली उडान) सञ्चालन गर्न चाहँदैन भने यी सिटहरू कम भाडामा बेच्नुपर्छ । यात्रुहरुलाई युरोपबाट छोटो र लामो दूरीको हवाई यात्रा पाउन मद्दत गर्नुहोस् ।”

तपाइँको प्रतिक्रिया