शनिबार, वैशाख २२, २०८१

प्रवाशी नेपालीहरुबाट नेपालकालागि ठूलो योगदान : महानायक हमाल

राजेन्द्र श्रेष्ठ, पेरिस / फोटो-नेपालप्लस २०८० असोज १५ गते २२:५०

प्रवाशी नेपालीहरुको आर्थिक उन्नती, सिप र ज्ञानले नेपालकालागि ठूलो योगदान गरेको र त्यो गुनलाई कहिँ न कतै नेपाल र नेपालीले कदर गर्नुपर्ने नेपाली सिनेजगतका महानायक राजेश हमालले बताएका छन् ।

उक्त भनाई नेपाली सिने जगतका सदावहार कलाकार महानायक हमालसँग फ्रान्सका नेपालीसित भएको ‘मिट एण्ड ग्रीट’ अन्तरकृयाका क्रममा राखेका हुन् ।

आइतवार फ्रान्सको राजधानी पेरिसमा आयोजित अन्तरकृयाका क्रममा महानायक हमालले आफ्नो युरोप यात्राका बारेमा समेत नेपाली समुदायसमक्ष खुलाएका थिए ।

बिभिन्न काल खण्डमा शिक्षा रोजगारी, आर्थिक र अनुसन्धान लगायतका कारणले सानो सपना बोकेर युरोप आएपनि तिनै नेपाली कालान्तरमा युरोपका बिभिन्न देशका बिभिन्न क्षेत्रमा स्थापित भएको बताए । उनले बिदेशका बिभिन्न कठिनाई, समस्या र प्रतिकूलतालाई चिरेरपनि शिक्षा, ब्यवशाय र अन्य क्षेत्रमा ठूलो प्रगती गर्दै तिनले नेपाल र नेपालीकालागि गुन लगाएको, नेपालकालागिपनि ठूलो योगदान पुगेकाले राष्ट्रले तिनलाई कहिँ न कतै संझिनुपर्ने बताए ।

बिदेशको अनेक भोगाई, दुख र संघर्षलाई चिरेरपनि बिभिनन् देशका नेपालीहरु आफ्नो रुची र लगनको क्षेत्रमा स्थापित भएकाले तिनबाट नेपालीलाई प्रेरणासमेत हुने भएकाले त्यस्ता नेपालीको सफलताको कथाबारे आफूले टिभी कार्यक्रम ल्याउन लागेको स्पष्ठ पारे ।

‘नौलो देश, फरक समाज, कहिल्यै नसुनेको भाषा, अर्काको संस्कृति, फरक भूगोल र समाजमा बसेर त्यो सबैलाई चिर्दै यहिँ स्थापित हुने नेपालीहरु हुनुहुन्छ । उहाँहरुले प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा नेपाल र नेपालीलाई गुन लगाउनुभएको छ। उहाँहरुको अनुभव र गुनलाई नेपाल र नेपालीले संझुनु, कदर गर्नु र त्यसबाट शिक्षा लिनुपर्छ’ हमालले भने ।

बिदेशको प्रतिकूलता, दुख, समस्या र अन्य कठिनाईलाई जितेर आफ्नो क्षेत्रमा सफलता हाँसिल गर्दै नेपाल र नेपालीको शिर उँचो बनाउने काम गरेका नेपालीको सफलता र दुखका कहानीलाई टेलिभिजन पर्दामा उतारेर आफूले थोरै भएपनि नेपाल र नेपालीसमक्ष उजागर गर्न चाहेको भनाईपनि महानायक हमालको थियो ।

उनले भने ‘मैले त्यस्ता केहि नेपालीको सफलता र संघर्षको कथा छानेर अन्तर्वार्ता लिएको छु । त्यसलाई कुनै एक टेलिभिजनबाट प्रशारण गरिने छ ।’

कार्यक्रममा अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (ईनास) फ्रान्स र गैर आवासीय नेपाली संघ एन आर एन ए) फ्रान्सका कलाकारले हमालले अभिनय गरेका केहि सिनेमाका गीतमा न्रित्य प्रस्तुत गरेका थिए ।

आफ्नो गीतमा न्रित्य प्रस्तुत गरेका कलाकारहरुलाई देखेर हमाल प्रफुल्ल बनेका थिए ।

बिदेशमा नेपाल र नेपालीको आफ्नो पन, नेपाली भाषा, संस्क्रितिलाई जिवन्त राख्न आगामी पुस्तामा त्यसलाई कसरि हस्तारण गर्ने भन्ने ठूलो चुनौति बिदेशको नेपाली समुदायसमक्ष रहेको हमालले बताए ।

आफूले अभिनय गरेका केहि सिनेमाका गीतमा न्रित्य प्रस्तुत गरेका बालिकाहरुको उदाहरण दिँदै हमालले अहिले बिदेशमा हुर्के बढेका बालबालिकाले नेपालको गीत संगितमा चासो राख्नु, नेपालबारे जानकार रहन खोज्नु, नेपाली संस्क्रितिका केहि न केहि कुरा सिक्नु, रमाउनु नेपालीपनलाई जिवन्त राख्ने महत्वपूर्ण माध्यम रहेको बताए।

नेपाली राष्ट्रिय गानसँगै सुरु भएको कार्यक्रममा स्वागत मन्तव्य इनास फ्रान्सका अध्यक्ष आभास आचार्यले दिएका थिए ।

स्थानिय कलाकारहरुको गायन तथा नृत्यसँगै राजेश हमालपनि दर्शकहरुसितै केहि गीतमा नाचेका थिए ।

विशेष अतिथिका रुपमा रहेका महानायक राजेश हमालका जिवनका कुरा, सिनेमाका कुरा, भोगाइका कुरा, अन्तर मनको कुरा, राजनितिका प्रसंग लगायतका विविध विषयमा दर्शकहरुले सुनेका थिए ।

उनको करिब एक घण्टाको भोगाई सुनिसकेपछि अन्तरकृया कार्यक्रम शुरु भएको थियो । दर्शकहरुले हमालको सिने र कला क्षेत्रमा प्रवेश, राजनितिक जिवनमा भविष्यमा हुनसक्ने प्रवेश, चासो, प्रवाशी नेपालीको दुखसुख, नेपालको बसाईसराईको अवस्था र त्यसका मूल कारण लगायतका विषयमा जिज्ञासा राखेका थिए ।

हमालले नेपालबाट बिदेशतिर हुने गरेको यात्रालाई कतिपय अवस्थामा ‘पलायन’ भन्दै धेरै ठूलो विषय बनाएपनि आफूले त्यसरि नहेरेको सुनाए।

उनले अमेरिका, बेलायत, अफ्रिका, आयरल्याण्ड लगायतका देशबाट बिगतमा लाखौं लाख मानिसहरु अन्य मुलुकमा बसाई सरेको, बिश्वमा बसाईसराई हरेक देशमा हुने गरेकोले बसाईसराईलाई नकारात्मक रुपमा मात्रै हेर्न नहुने बताए ।

‘युरोप, अमेरिका, अष्ट्रेलिया, अफ्रिका जताबाटपनि बराईसराई हुने गरेको छ । अमेरिकामै लाखौं मानिस अन्य देशबाट बसाई सरेर गएका हुन् । त्यसैले बसाईसराई विश्वकै लमो समयदेखिको प्रव्रित्ति हो। यसलाई नकारात्मक हिसाबले मात्रै हेर्नुहुँदैन’ हमालले भने ।

कार्यक्रमको अन्तमा विशेष अतिथीलाई खादा तथा सम्मान पत्रले सम्मान गरिएको थियो । ‘राजेश हमालसित मिट एण्ड ग्रीट’ कार्यक्रममा गायन र न्रित्यका साथै अन्य विशेष भूमिका खेल्नेहरुलाई हमालको हातबाट सम्मानपत्र हस्तान्तरण गरिएको थियो । कार्यक्रमको अन्त्य हुनु अघि हमालसित फोटो खिच्नकालागि लामो लाईन लागेको थियो ।

कार्यक्रमलाई बिभिन्न संस्था र ब्यक्तिहरुले आर्थिक सहयोगसमेत गरेका थिए ।

कार्यक्रमको सभापतित्व एनआरएनए फ्रान्सका अध्यक्ष लोक वबादुर पूनले गरेका थिए । प्रमुख अतिथी नेपाली राजदूतावास पेरिस फ्रान्सकी कार्यवाहक राजदूत श्रीमती सिता बस्नेत थिईन् । विशेष अतिथी महानायक राजेश हमाल थिए ।

कार्यक्रममा एनआरएनए फ्रान्सका संस्थापक अध्यक्ष, आईसिसि सदस्यहरु, पूर्व अध्यक्षहरु, इनास फ्रान्सका पूर्व अध्यक्ष तथा विभिन्न संघ संस्थाका अध्यक्ष, प्रतिनिधी, पत्रकार, बुद्दिजिवी तथा बिध्यार्थी र अन्य नेपालीको बाक्लो उपस्थिति थियो।

कार्यक्रम गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद फ्रान्स र अन्तरास्ट्रिय नेपाली कलाकार समाज (ईनास) फ्रान्सको संयुक्त आयोजनामा गरिएको थियो ।

कार्यक्रमका सभापति लोक बहादुर पूनले कार्यक्रम समयभर साथ दिएकोमा अनुग्रहित भएको बताए । उनले आर्थिक, नैतिक, भौतिक, सबैखाले सहयोग गर्ने र कार्यक्रममा सहभागि हुने सबैमा धन्यवाद दिए ।

 

 

तपाइँको प्रतिक्रिया

फेसबुक