बुधबार, भदौ ४, २०८२

चिच्याएर रुने ठाउँको खोजी

सारीका गौतम / ब्रिसबेन, अष्ट्रेलिया२०८२ भदौ ३ गते १८:३०

कर्मको देश जाने सपना थियो । श्रीमानले सबै प्रक्रिया थाल्नुभएको थियो । कागजातहरू अध्यागमन कार्यालयमा पुगिसकेका थिए। हाम्रा छोराछोरी र उहाँको भविष्य एउटै दिशामा गइरहेका थियो ।

हाम्रो योजना केही महिनामा भेट्ने थियो । तर समयको लेखाजोखा बेग्लै रहेछ। एक दिन अचानक उहाँलाई अस्पताल भर्ना गर्नुपरेको खबर आइपुग्यो । क्यान्सरले उहाँलाई अन्तिम अवस्थामा पुराइसकेको रहेछ ।

जीवन ढल्दै गर्दा उहाँले “मेरो श्रीमतीलाई बोलाइदेऊ”… भन्नुभएछ । उहाँको उपचारमा संलग्न चिकित्सकहरूले पत्र लेखे ।

नेपाली दाजुभाइ, दुतावास र परिवारकै सघन प्रयास र केही संयोगबीच म मेरो सपनाको देश आइपुगेँ । म यता आइसक्दा ढिलो भइसकेको थियो। उहाँलाई मैले देख्दा शरीर चिसो भैसकेको थियो। जीवनको मुख्य अध्याय त्यसैदिन त्यही चिसो शरीरमा विर्सजन भैसकेको थियो । शवदाह र शहरको संवेदनहीनता उहाँको दाहसंस्कारको दिन बडो कठिन दिन थियो ।

म बिलकुल नयाँ शहर आइपुगेकी थिएँ । भाषा फरक । मानिस फरक । केही दाजुभाइ र दिदी बहिनीको सहारामा जसै म काठको बाकसमा चिरनिद्रामा सुतेको शरीरलाई हेर्थे त्यसै त्यसै म भक्कानिन्थेँ । तैपनि उहाँसँगका अन्तिम क्षणहरू मैले गुमाउन चाहिन । उहाँको छातीमा अड्याएर आँसु झारीरहेँ । त्यो क्षण, मलाई उहाँको छातीको न्यानोपनको अनुभव भयो।

उहाँ ब्युँझनुहुन्छ कि जस्तो पनि भयो । शायद उहाँको छातीलाई मैले तताएकी थिएँ । त्यो न्यानोपन जसमा म समृद्ध भएको ठान्थे । मेरो सुरक्षा कवच मान्थे । मेरा ताता आँसुले उठाउन पो सक्छन् कि भनी भ्रममा परेँ । मलाई चिच्याएर रुन मन थियो । तर अवस्था हेरिकन म बिस्तारै रोएँ । अरु रमिते जस्तै थिए । कोही रुँदैन । म एक्लो रुने ।

यसै बेला कुनै बलियो हातले मलाई तान्यो । यसरी तान्यो मानौँ म कुनै एक टिनको बाकसको बिर्को थिएँ जसलाई घचक्क दबाएर चाबी लगाउन सकिन्छ । त्यो बेला मैले महसुस गरेँ, शहरका मानिसहरू यन्त्र जस्ता हुँदा रहेछन् । यहाँ प्रेमको भाषा अधुरो हुने रहेछ र सान्त्वनामा आत्मीय शब्दहरू नहुने रहेछन् । नेपालमा भएको भए, म चिच्याएर रुन सक्थेँ । म आफ्नै कपाल लुछी लुछी रुन पाउँथे । उफ्री उफ्री रोएर आँसु रित्ताउन पाउँथे । तर मेरो सपनाको देशमा ? आँसुले पनि लाज मान्दो रहेछ ।

शवदाहको प्रक्रिया यति यान्त्रिक थियो कि मानौँ कुनै जटिल सरकारी फाइल प्रक्रिया हो । मानौं कमिलाको ताँती सगरमाथा उक्लिरहेको छ । मानिस बट्टा बन्द भैसक्यो तर शव जलाउन पनि दिन कुर्नुपर्ने । दिन मात्रै कुर्ने होइन शबदाह गृह अगाडी त शबले पनि लाइन लाग्नुपर्ने रहेछ ।

जसै उहाँको शरिर लाइनमा बस्यो मलाई ‘बाँकी रहेका अस्थीहरू सिंगमरमरको बट्टामा हालेर दिइनेछ’ भनियो । त्यो लिन फेरी ‘पर्सी आउनु’ भनियो । शरीर धुवाँ भएर आकाशमा गैसक्यो । आत्मा कता पुग्यो थाह छैन ।

बडो अन्यौलतामा परेँ म । हे भगवान त्यो हड्डी धुवाँ किन नभएको हो । मलाई लाग्थ्यो, मृत्यु अन्तिम हो र धुँवा अर्को जीवनको यात्राको शुरुवात । तर यि हड्डिहरु या अस्थिहरु र सीँगमरमरको बट्टा । मृत्यु त अझै बाकी पो हुने रहेछ । त्यो सग्लो अस्तित्वको केही भाग त बट्टामा कैद पो हुने रहेछ । यस्तो अस्तित्व जसको स्वर म सुन्दिनँ, तर स्पर्श गर्न सक्ने माया भने अझै बाँकी हुने रहेछ।

आखिर म नेपाली हुँ । पानी र माटोसँग आत्मा जोडिएको संस्कृति हो मेरो । अस्थि बिर्सजनकालागि महाकुन्डहरुमा पुगिन्छ । त्यो बट्टाको अस्थि बिसर्जन गर्न त यहाँ फेरी अनुमति पो लिनुपर्ने रहेछ । म कता अनुमति खोज्दै हिँडौँ ? कहाँ जाउँ ? कुन पवित्र नदी या समुन्द्र तट पुगौँ जबकी मलाई केही थाह नै छैन । घरमा राखौँ मेरो धर्म र कर्मले दिँदैन । बाहिर पुर्‍याउँ ठाउँ चिनेको छैन ।

यसै न उसै त्यो बट्टा बोकेर पानीका मुहान खोज्दै हिँडे । ताल तलाउ र जलाशयहरु हेर्दै हिँडेँ । केही लागेन । अन्त्यमा एक नदी भेटेँ । त्यही नदीको जलाशयमा मैले बट्टा घोप्टाएँ ।

हलका हड्डीहरु बगेर गए ।  गरुँगा जति तलै पुगे । माछाहरुलाई भनेँ तिमीहरुले यहाँ भित्र गुँड बनाउनु ।

उहाँलाई भनें “अर्को जुनीमा हामी यहि शहरमा सँगै जन्मौँला ।” म साक्षी थिएँ, आत्मीय सम्बन्धहरू एक पछि अर्को गर्दै बगेका क्षणहरुको ।

त्यो सिंगमरमरको सुकिलो बट्टा धोइपखाली गर्न मन लाग्यो । हात हालेर पखाल्दै थिएँ । झन्झन गर्दै केही हड्डीका टुक्राहरू हातमा परे। मलाई लाग्यो, उहाँ जान मान्नु भएको छैन । मलाई नै समातिरहनुभएको छ। झ्यालको सिसा झैं मन चर्कियो। तर त्यहाँ चिच्याएर रुन कहाँ पाइन्थ्यो र ! किनभने मैले अनुमति लिएकी थिइन ।

अन्तिममा फेरी पनि चिच्याउने धोको मनमै राखेर घर फर्केँ । सुनपानीले कोठा चोख्याएँ। लोग्नेको मलामी मै थिएँ । अभिभावक मै थिएँ । दागवत्ती दिने छोरो पनि मै थिएँ । सबै थोक मै थिएँ ।

अन्तिममा मैनबत्ती बालेर उहाँको फोटो सामु राखेँ। त्यो बत्तीको उज्यालोमा, लाग्यो म पनि जलीरहेकी छु — मौन, एक्लो, भित्रैभित्र। मेरा बच्चाहरु छन् । उतै छुटेका छन् । न भाषा साथमा छ, न आफ्नो समाज। जे छ केही दिनका लागि यो कोठा छ ।

मेसेन्जरमा कुरा हुँदा उहाँले यि सडक र गल्लीहरु देखाउनुहुन्थ्यो । यही फोनकै संवादबाट मैले उहाँ हिँड्ने बाटो चिनेकी थिएँ। अहिले, म त्यही बाटो हिँड्छु जहाँ उहाँका पाइला अझै बाँचिरहेझैँ लाग्छ। र, म फेरि पनि उहाँका पाइलाहरु खिइएका ठाउँहरु देख्दा चिच्याएर रुन मन लाग्छ।

शहर विकसित छ। व्यवस्थित छ । तर दुख बिसाउनकालागि एकान्त छैन । चिच्याउन पाउने खाली मैदान छैन। त्यसैले तपाइँहरुलाई सोधिरहेकी छु, यहाँ चिच्याएर रुने ठाउँ कहाँ छ ? श्रीमानको सम्झनामा, एउटा मैन जलेको छ… र म पनि।

(यो एक वास्वतिक कथामा आधारित लेख हो । मुल पात्र गोप्य राखिएको छ ।) 

तपाइँको प्रतिक्रिया