शनिबार, पुष २०, २०८१

विविध झाँकी र सांस्कृतिक कार्यक्रमसहित पेरिसमा तमुहरुको ल्होसार

नेपालप्लस संवाददाता / फ्रान्स२०८१ पुष १५ गते २:०६

 

तमु समाज फ्रान्सले पेरिसमा सांस्कृतिक कार्यक्रम र विभिन्न झाँकीसहित ल्होसार पर्व मनाएको छ । कार्यक्रमको सुरुवात पेरिस स्थित नेपाली राजदूत सुधीर भट्टराई र तमु समाजका अध्यक्ष तगदिर गुरुङले पानसमा बत्ती बालेर गर्नुभएको थियो । तमु समाजका अध्यक्ष तगदिर गुरुङले कार्यक्रमको सभापतित्व गर्नुभएको हो ।

तमु समाजका वरिष्ठ उपाध्यक्ष श्रीप्रसाद गुरुङ द्वारा स्वागत मन्तव्य व्यक्त गरिएको यस कार्यक्रमको सुरुमै नेपाली राष्ट्रिय गान बजाइएको थियो । यसपछि सन् २०२४ मा पेरिसमा कालगति या दुर्घटनामा परेर देहत्याग गर्नुभएका छ जना नेपालीहरूको सम्झनामा एक मिनेट मौन धारण गरियो । तमु समाज फ्रान्सकै संरक्षक स्वर्गिय रामजी गुरुङलाई पनि सम्झना गरिएको थियो ।

श्रद्दाञ्जली पछि तमुहरूको राष्ट्रिय गीत बजाएर कार्यक्रमलाई निरन्तरता दिइएको थियो । कार्यक्रम हलमा तमु सभ्यता र संस्कृतिसँग निकट सम्बन्ध राख्ने सयौंको उपस्थिति थियो । बिभिन्न जनजातिका सांस्क्रितिक वैभवलाई माया गर्ने नेपाली समुदाय, पेरिस स्थित बिभिन्न नेपाली सँघ संस्थाका प्रमुख र प्रतिनिधिहरूको बाक्लो उपस्थिति थियो । उहाँहरूले पनि ल्होसार अर्थात तमुहरूको नयाँ वर्षको अवसर पारेर शुभकामना मन्तव्यहरू व्यक्त गर्नुभएको थियो ।

तमु पात्रो अनुसार यस वर्ष गिद्ध वर्गको बिदाइ गरि सर्प वर्गलाई स्वागत गरिएको छ । यो खुसियालीमा आयोजित यस कार्यक्रममा विशेष परिकार, तमु भेषभुषाको लोभलाग्दो प्रस्तुति गरिएको थियो । अन्य समुदायका नेपाली तथा तमु शैलीका परम्परागत र आधुनिक नृत्यहरूको विशेष प्रस्तुतीले सबैलाई रोमान्चित गराएको थियो । कार्यक्रमको बिचमा तमुहरूको रहनसहन संस्कृति र परम्पराबारे तमु समाजका पूर्व महासचिव कृष्ण गुरुङले व्याख्या गर्नुभएको थियो ।

प्रमुख अतिथिको भूमिका निर्वाह गर्नुभएका फ्रान्सस्थित नेपाली राजदूत सुधीर भट्टराईले विदेशमा हुर्किरहेको दोस्रो पुस्तालाई नेपाली संस्कृति तथा परम्पराहरू बुझाउन यस्ता कार्यक्रमहरूले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘यस्ता कार्यक्रमहरू हाम्रो सभ्यता र संस्कृतिको पुस्तान्तरण गर्ने माध्यमहरू हुन् । नेपाली दुतावास तपाइहरूका यस्ता कार्यक्रमहरूको प्रोत्साहन र हातेमालो गर्न सधैं तत्पर रहन्छ ।‘

यसै अवसरमा तमु समाज फ्रान्स र नेपाली समाजलाई बिभिन्न योगदान दिनुभएका तीन महानुभावहरूलाई सम्मान गरिएको थियो । जसअनुसार लियोजोँ एथ्रन्जेयर फ्रान्सका मेजर ज्ञान बहादुर गुरुङ (अनुपस्थित), समाजसेवी कविन्द्र कायस्थ र युवा गायक तथा कार्यक्रम सञ्चालकका रुपमा परिचित नवीन परियारलाई सम्मान स्वरुप राजदुतले खादा ओढाउनुभयो । तमु समाजका सँस्थापक अध्यक्ष लक्ष्मण गुरुङ तथा अध्यक्षले परियारलाई भाँग्रा ओढाउनुभएको थियो ।

कार्यक्रम सन्चालन तमु समाज फ्रान्सका उपाध्यक्ष श्रीप्रसाद गूरुङ, उपाध्यक्ष आकास गुरुङ, महासचिव जीपी गुरुङ र पूर्व सांस्कृतिक विभाग संयोजक शर्मिला गुरुङले गर्नुभएको थियो । यो कार्यक्रमका लागि नृत्य संयोजन तमु समाजकै सांस्कृतिक विभाग संयोजकद्वय जेनी गुरुङ र डम्बर गुरुङले गर्नुभएको थियो ।

कार्यक्रममा दुइ दर्जन भन्दा बढी नृत्य तथा गायन प्रस्तुत गरियो । परापूर्व कालदेखि तमुहरूको समुदायमा चलिआएको भूतप्रेत मन्छाउने पर्व टोहटेका केहि झलकहरु देखाउंदा कार्यक्रम थप रोचक बनेको थियो । चैत र साउन महिनाको अन्तिम मंगलबार भुत प्रेत धपाउने चलनको कौतुहलमय प्रसंगपनि सुनाईएको थियो ।

तपाइँको प्रतिक्रिया

फेसबुक