शनिबार, मंसिर ८, २०८१

कथा : अनुसूयाकी आमा

स्नेह सायमी२०७७ पुष ४ गते ८:२१

अनुसूया तीस वर्षकी भइन् । बिहेको प्रस्ताब आएको आयै छ । अनुसूया भने बिहे गर्न मानिरहेकी छैन । उ भन्छे –“बिहे त मैले गर्ने हो, मैले भोग्ने हो । त्यसैले निर्णय पनि मैले लिने हो ।”
यो कुरा सुनेदेखि अनुसूयाका बा आमा चिन्तित छन् । चिन्ता एउटै छ, अनुसूयाले रोजेकी मान्छे कस्तो पर्ने हो । अनुसूयाको आमाले उनलाइ सम्झाइन – “छोरी तिमीहरु पढेलेखेका छौ । दुनियाँ बुझेका छौ । तर बिहे गर्ने पात्र छान्ने कुरामा त तिमीभन्दा हामी अनुभवी छौं नि । त्यसैले तिम्रो दुलाहा छान्ने जिम्मा हामीलाइ देउ ।”

अनुसूया पड्किन् बम जस्तै – “तपाइं कुन युगको कुरा गर्दै हुनुहुन्छ ? के म गाइ, भैंसी, बाख्रा, पाठा हुँ ? तपाइँहरुले जहाँ पठायो त्यहीँ जाने ? मेरो बिहे गर्ने पात्र मैं छान्छु । ”

अनुसूयाकी आमा । नाम उनको शान्ति । तर सबैले किन हो अनुसूयाकी आमा भनेरै बोलाउँछन् । सबै आमाहरुले एकपटक बुहारी भएरै आएको सुखदुखको कथा एकातिर छ भने अर्कोतिर छोराछोरी हुर्केसँगै उनीहरको चिन्ता पनि उत्तिकै छ । उनले सोचिन्, एक पटक साथीहरसँग सल्लाह गर्छु । उनको एउटा साथीहरको समूह छ, सबै जसोका छोराछोरीको बिबाह भइसकेको । अनि गइन् हरिमायाको घर जहाँ अरु साथीहरलाइ पनि निम्तो थियो ।

स्कूले साथीहरु सबै पचास नाघिसकेका । छोराछोरीको बिवाह गरिसकेका । त्यसैले पनि खुलेयाम कुरा गर्न मिल्छ ।

अनुसूयाको आमाले आफ्ना साथीहरुसँग सल्लाह गरिन् बिहेको बारेमा । अनुसूयाको मत पनि जाहेर गरिन् र त्यसको समाधान सुझाउन अनुरोध पनि गरिन् । त्यहाँ नयाँ पुराना दुबै रिति र जमानाका कुरा भए । हरिमायाले कुराको उठान गरिन जस्तै – नेपाली संस्कारमा बिहे भनेको दुइ ब्यक्तिबिच मात्र नभइकन दुइ घरका बिचमा हुन्छ । त्यसैले ब्यक्ति भन्दा पनि कस्तो घर भन्ने चासो हुने गर्छ । हाम्रा हजुरबाका पालामा कसैले जन्मनासाथ, वा कसैले बिहे गर्ने पात्रहरु पाँच सात वर्ष नहुँदै अर्थात बिहे गर्ने पात्रहरुले बिहे भनेको नै थाहा नहुँदै ती पात्रका अभिभावकहरुले बिहेका कुरा छिन्ने, बिहे नै गरिदिने र बिहे पश्चात फेरि माइती पठाइदिने वा लोग्ने कै घरमा बसेपनि वास्तबिक लोग्ने स्वास्नीको अर्थ र सम्बन्ध थाहा नभएका कारण बिेहे गरेका पात्रहरुबिच सँगै खेल्ने, झगडा गर्ने, एक अर्काको गुनासो गर्ने गरेको सत्य कथा त सुनेकै हो । बिहे भनेको दुइ घरबिच जोड्ने बलियो धागो हुन्थ्यो । त्यसका लागि सबैभन्दा महत्वपूर्ण कुरो भनेको घर परिवारप्रतिको समर्पण हुन्थ्यो । त्यसैले बिहेलाई घर गरेर खानु पनि भनिन्थ्यो ।

चलन अहिले पनि के छ भने दुलही भित्र्याउँदा सासुले बुहारीलाई साँचोको झुप्पाले तानेर, आँगनमा अन्न र दियो (आगोको प्रतीक) र कलश (पानीको प्रतीक) राख्ने चलन छ । त्यो भनेको बुहारीलाई घर ब्यवहारमा संलग्न गर्नु थियो । अन्न भण्डार उबेलाको सम्पत्ति थियो । भान्सा भनेको अर्को महत्वपुर्ण अधिकार क्षेत्र थियो । यी रितिथितिले बुहारीलाई घरधनी बनाउनु थियो । तर यी कुराहरुलाइ त अहिले अत्यन्त नकारात्मक रुपमा लिइन्छ । महिलालाइ घरमा थुन्नु, घर, आँगन र भान्सामा सिमित गर्नु ।

शुभलक्ष्मीले बिचैमा कुरा काटीन् –“बुहारी भनेपछि जोत्न थाले नि त सासुहरुले ?”

हरिमायाले जवाफ दिइन् “बुहारीलाइ सासुले जोत्ने, बुहारीले सासु झुक्याउने त ब्यक्तिका सोच र ब्यबहारका कुरा भए । तर संयुक्त परिवार हुनासाथ नै परिवारका सबै सदस्यहरुबिच एक आचारसंहिता हुने भयो । सासु ससुराले पनि बुहारी छोरीका अगाडी अनुशासनमा बस्नुपर्ने हुन्छ । सबै किनमेल खानपीन, स्वास्थ्य, काम सबै कुराका लागि लिखित वा अलिखित नियम कानून हुन्छ । सामाजिक मर्यादा हुन्छ । तब न घर चल्छ । सबै कमाइ सामुहिक रुपमा जम्मा हुँदा आर्थिक सम्पन्नता पनि हुन्छ । परिवारको संख्याका कारण छरछिमेकमा इज्ज्त पनि हुन्छ ।”

हरिमायाको कुरा फेरि पनि शुभझक्ष्मीलाइ चित्त बुझेन र भनिन् – “तर छोरी बुहारीलाइ त मान्छे गन्दैनन् नि परिवारमा । लैंगिक बिभेद चर्को हुन्छ । छोराको जुठो खानु पर्ने । कसैलाइ मन नपरेको काम छोरी बुहारीले गनुृपर्ने छ नि त ।”

हरिमायाले सम्झाउने पारामा भनिन् – “यस्तो कुरा त घरैपिच्छे फरक हुन्छ । त्यसैले त उ बेला बिहे गर्ने बेलामा कुन खानदानको ? कुन संस्कारको ? आमा बा कस्ता ? आमा र हजुरआमाको घर र माइति कस्तो हो ? लगायत आर्थिक हैसियत र सामाजिक प्रतिष्ठा पनि हेर बिचार गर्थे । अरु भनेको काम त कामै हो । कुन सानो कुन ठूलो । कुन राम्रो कुन नराम्रो । त्यो पनि आफ्नै घरको । अहिले त सबैका परिवार सचेत र शिक्षित छन् । त्यसैले काममा बाँडफाँड नहोला जस्तो लाग्दैन । पहिले पनि त लोग्नेमान्छे घर बाहिरको काम गर्थ्यो । स्वास्नी मान्छे घरभित्र । अब समय परिवर्तन भयो । सकेको सबैले सबै काम गरे हुन्छ । बिदेशतिर आएका दाजुभाइ दिदीबहिनीको काम हेर्नुस त, के रोजेर काम पाइन्छ ? घरमा त रोजेर पाइन्छ । यो गर्नसक्छु यो सक्दिन भन्न पाइन्छ ।”

शुभलक्ष्मीले आफ्नो बेलाको कुरा सम्झेर भनिन् –“तैपनि बुहारीहरुलाई संयुक्त परिवार गाह्रो नै छ ।”

हरिमायाले अनुसूयाकी आमातिर फर्केर भनिन् – “ए अनुसूयाकी आमा, तपाई आफैं भन्नुस न । घरमा बुहारीले तपाइँलाइ कस्तो ब्यबहार गरोस् भन्ने चाहनु हुन्छ ?”

अनुसूयाकी आमाले सजिलै भनिन् –“म त कमसेकम अरु केही नगरेपनि सम्मान चैं गरोस, मेरै घरमा मेरा बुहारीले मलाइ अपमान नगरोस । घरका कुरा खुलेयाम गरोस । पारदर्शी होस भन्ने चाहन्छु ।”

हरिमायाले भनिन् – “त्यसो भए अनुसूयाले जून घरमा बिहेगरेपनि लोग्नेमात्र होइन परिवारका अरु सदस्यको मात्र ख्याल राखोस । तपाईले सासुको नाताले जे चाहनुहुन्छ अनुसूयाको सासुले पनि चाहन्छिन भनेर सन्देश दिनुहोस । मिलेर बस्छन् । मुख्य कुरा भनेको सोच हो । हामीले बुझ्नुपर्ने कुरा के हो भने अहिलेको नयाँ पुस्ताको तिब्र चाहना भनेको नेपालमा बसेर अमेरिकाको जिन्दगी बिताउन खोज्नु हो । पुरै एकलकाँटे । अति ब्यक्तिबादी । आफु भलो त जगत भलो । ब्यक्तिबादी सोचले त ब्यक्ति न बन्छ , घर त बन्दैन नि । त्यसैले परिवारमा मिलेर बस्ने हो भने ब्यक्तिबादी कुरा नसिकाउँ । प्रोत्साहन नदिउँ । हुन त हाम्रा कुरा पनि कति पो मान्छन र ? आफूलाइ धेरै जान्ने नै भन्ठान्छन् । होइन भने मैले भनेजस्तो गर्नुपर्छ भन्नेपनि छैन । अमेरिकामा जस्तै पनि गर्न हुन्छ । बाबुआमाप्रति निर्भर पनि नहुने, सँगै पनि नबस्नेै । तर म चैं यो बिधि रुचाउँदिन है । सम्मान गर्नसके सासु पनि आमा नै हुन् । कुनैपनि बाबुआमा आफ्ना छोराछोरीलाइ माया नगरी बस्नै सक्दैनन् । के तपाइँहरु सक्नुहुन्छ ?

सासु भइसकेका पाका महिलाहरुका घरका आआफ्ना घरका कथाहरु थिए । तर यो भन्ने बेला थिएन । हरिमाया सबैभन्दा बुझ्ने, सल्लाह दिने स्वभावकी थिइन् । सबैले हरिमयााकै कुरामा सही थापे ।

यति सुनिसकेपछि अनुसूयाका आमाले मनमनै सोचिन् । उनी आफैलाइ थाहा थिएन, उनले त्यहाँ भएको कुरामा कति सहमत भइन कति भइनन् । छोरीलाइ के सुझाब दिइन् । छोरीले कति मान्लिन् कति नमान्लिन् । के सहयोग गरिन् उनका साथीहरुले पनि थाहा पाएनन ।

छुट्ने बेलामा शुभलक्ष्मीले प्वाक्क भनिन् – “हाम्रो यो पुस्ता त बुहारी हुँदा सासुलाइ मान्नुपर्ने । सासुहुँदा बुहारीलाइ मान्नु पर्ने ।”

तपाइँको प्रतिक्रिया