कहाँ हराए मजदूर संगठनका नेताहरु ?
कोरोना संक्रमणका कारण सबैभन्दा बढि प्रभावित कोही छन् भने ती मजदूरहरु नै हुन् । चाहे त्यो स्विजरल्याण्डका मजदूरहरु हुन् या नेपालका । दिनभरी पसिना बगाएर बेलुकी केटाकेटीको निम्ति चुल्हो जलाउने संघर्षशील जमिनका श्रमिकहरुको त बिचल्ली नै भएको छ । घरमा पकाउने अन्न नभएपछि आत्महत्या गर्न बाध्य भएका दुर्दान्त समाचारहरु समेत बाहिर आइरहेका छन् । कोरोना संक्रमणको कहर र यसबाट मृत्यु हुनेका त कुरा रोगसँग सम्बन्धित भए, काम गर्ने ठाउँ नै मसानघाट जस्तो चकमन्न भएपछि भरिया, सवारी साधनका श्रमिकहरु लगायत धेरैको स्थिति दिनदिनै बिग्रँदै गइरहेको छ । यो पक्ष धेरै चर्चा नगरिएको पक्ष हो ।
देशमा पंचायती व्यवस्थाको अन्त्य भएपछि मजदुरहरु संगठित हुन थाले । श्रमिकहरु, पेशागत सबै पेशाकर्मीहरु एकतृत हुन संविधानले खुला गरिदियो । पंचायती व्यवस्थाको विरुद्ध नेपाल राष्टिय शिक्षक संगठनले खेलेको भूमिका अझै पनि सुनौला अक्षरमा लेखिएकै छ । शिक्षकहरु गाउँ गाउँमा गएर संगठन नगरेको भए न आजका पार्टी हुन्थे, न हुन्थ्यो तिनको संगठन । त्यस्तै ससाना हाते उध्योगदेखि नेपालमा चलाइएका ठूला उध्योग धन्दामा समेत मजदुरहरु संगठित हुन थाले । जसले गर्दा काम अनुसारको ज्याला पाउने, निश्चित घण्टासम्म काम, बढि काम गरेको ओभरटाइम जस्ता गरिखानेहरुको पक्षमा आवाज उठाउन सजिलो भयो । गणतन्त्रको यो फड्कोसम्म आइपुग्दा मजदुरहरु सँगठित हुँदा गरिखानेहरुकै पक्षमा फाइदा भएको देखिन्छ ।
तर, सत्ताको निम्ति श्रमिकहरुको एकता कहिल्यै पाच्य हुँदैन । शिक्षक संगठनमा वाम वर्चश्व देखेर कांग्रेसी सत्तालाई रिस उठ्यो र उसले शिक्षक संगठन फुटाइदियो । फूटले कतै हित नभएपछि ती फेरि जोडिन पर्ने अवस्थामा
आइपुगेका छन् । तर शिक्षक संगठनमा न हिजोको जस्तो तेजतरार गति छ, न जोश । फोहोरी राजनीतिले गिजोलिएका शिक्षकहरु र सरकारको शिक्षाप्रतिको अस्पष्ट नीतिले कुहिरोमा हराएका काग जस्ता भएकाछन् ती ।
मजदूर क्षेत्र हेर्नोस्, तत्कालीन एमालेको जिफन्ट, कांग्रेसको मजदुर संघ देखि लिएर नारायणमान विजुक्छेसम्मका श्रमिक संघ संगठनहरु आआफ्ना झण्डा गाडेर मजदुर हक हितका गीत गाएर बसेको दशकौँ भइसक्यो । तर कोरोना संक्रमणका बेला सबै टाउको लुकाएर बसेका छन् । अरु मजदुरका त कुरै छोडौँ, आफ्ना सदस्यहरुको चुल्हो जलेको छ कि छैन, ती कसैलाई मतलब छैन । राहतको नाममा नेपाल कम्युनिष्ट पार्टीको पकड भएका ठाउँमा आफ्ना कार्यकर्तालाई, कांग्रेसी पकड भएको ठाउँमा उनकै कार्यकर्तालाई दाल चामल बाँडेका जनप्रतिनिधिहरु खास कोरोनाले चुल्हो रित्तिएको बेला हराइरहेका छन् । यो बडो दूर्भाग्यको कुरा हो ।
अरु त छोडौँ, संसारका मजदुरहरु एक हौँ भन्ने मूल मन्त्र मानेर वर्षौ मजदुर संगठनको राजनीति गरेका विष्णु रिमाल जो प्रधानमन्त्रीका मुख्य सल्लाहकार हुनन्, उनै सत्तामा भएको बेला मजदुरहरु भोकभोकै मर्नु या आत्मदाह गर्ने अवस्थामा
पुग्नु दुर्भाग्यपूर्ण कुरा हो ।
हुनत यो सरकार मजदुरप्रति कत्तिको सम्वेदनशील छ भन्ने कुुरा त कोरोनाको शुरुवाती दिनमै जब सुत्केरी, गर्भवति श्रमिकहरु वागलुङगबाट हिँडेर भोकैप्यासै सिन्धुपाल्चोक पुगेको खबर हेरेर पनि रमिते बन्यो, त्यहीँबाटै प्रष्ट भएको थियो । संचार माध्यमको ब्यापक खबरदारी, युवाहरुको बुलन्द आवाज र सामाजिक संजालहरुमा भोकैप्यासै हिँडेका गरिब श्रमिकहरुको चित्कार छ्यालब्याल भएपछि ढिलै भएपनि सरकारले स्थानीय निकायसँग समन्वय गर्न बाध्य भएको थियो र उनीहरुको उद्दार भएको थियो ।
मजदुर संगठनका नेता सत्तासिन भएको कम्युनिष्ट शासनमा गिटी कुटेर खाने, दिनभरी सिमेन्ट उचालेर दुईचार पैसा जोहो गर्ने श्रमजीवीहरुका ठेकेदार बेपत्ता हुँदा ठेकेदार समाएर कारवाही गर्नु त कता हो कता उल्टै हिँडेका मजदूरहरुमाथि नियम उल्लंघनको आरोपमा सजाय गर्न तम्सिएको दृष्य देखिएकै थियो । कुन सत्ताले कुन कारखाना बेच्यो, त्यसमा कुन मजदूर संगठनका नेता सामेल भए, त्यतातिर बहस अहिले नगरौँ । अहिले यत्ति मात्र भनौँ कि यस्तो विपत्तिका बेला श्रमजीवीहरुको पक्षमा नबोल्ने पनि कहिँ मजदूर सँगठन हुन्छ ? त्यस्तो सत्ता पनि कहिँ श्रमिकहरुको सत्ता हुन्छ ?
यहाँनेर श्रमजीवीहरुले पनि बुझ्नुपर्ने कुरा के छ भने, के गरिखाने बर्ग सधै सत्ताको भर्याङ, या सत्ताको ताबेदारी, या निहित नेताहरुको स्वार्थपूर्तिको माध्यम मात्रै बन्नुपर्ने हो ? हिजो कम्युनिष्टहरुलाई कांग्रेस मनपरेन, मजदूरहरु विभिन्न नारा लगाएर सडकमा आए । धुकुर धुकुर चलेका केही कलकारखाना बन्द गराए । देशको अर्थतन्त्र टाट उल्टँदै जानमा सोझा मजदूरहरुलाई राजनीतिक दलहरुले गोटी बनाए । आज कांग्रेसलाई कम्युनिष्ट मन परेन, अनि फेरि कम्युनिष्टका हरेक काममा विरोध गर्नु धर्म जस्तै हुन पुग्यो । राजनीतिक आस्था र विचारको आधारमा तानातान गर्नुको साटो आफ्नो हक अधिकारको निम्ति सबै विचारका मजदूरहरु एक भएर बोलेको खोइ ? खोइ आवाज उठाएको र भनेको, यस्तो अप्ठेरो परेको बेला कहाँ हरायौ ए नेताहरु ?
मजदूरहरुको निम्ति खुलेका भए पो यी संगठनहरु उनीहरुले आवाज उठाउँथे । धर्मको नाममा ब्यापार गर्न बसेका पन्डाहरु झैँ मजदूर संगठनलाई भजाएर आफ्नो र निकट दलको फाइदाको निम्ति मात्रै काम गरिरहेका मजदूर संगठनहरुको चिरफार र पुनर्संरचना हुन जरुरी छ । आफ्नो राजनीतिक दाउपेचका निम्ति सडकमा उतार्ने तर चुल्हो जलेका बेला सत्ताको भजन गाउने मजदूर नेताहरु मजदूरका नाममा कलंक हुन् । मजदूरहरुले विद्रोह गर्ने बेला भैसकेकोछ ।