शनिबार, भदौ २८, २०८२

  अपहरित हुँदै जेन्जीको अभियान

रमाकान्त क्षेत्री २०८२ भदौ २७ गते १४:३७

जेन्जीले गरेको ऐतिहासिक आन्दोलन भौतिक रूपमा उपस्थित भएर देख्न नपाए पनि, मातृभूमिबाट हजारौँ माइल टाढा कम्प्युटर स्क्रिनमार्फत त्यसको साक्षी बन्ने अवसर मिल्यो। आन्दोलन सुरु भएको आज तीन दिन मात्र भए पनि, घटनाक्रम यति द्रुत गतिमा विकसित भयो कि यस अवधिले महिनौको अनुभव गराएको छ। सोमबार निहत्था बालबालिकालाई गोली लागेको दृश्य अझै मानसपटलमा ताजै थियो, त्यो मेटिनुअघि नै मंगलबार बिहान लोकतान्त्रिक मुलुकका आधारस्तम्भहरू—व्यवस्थापिका (संसद भवन), कार्यपालिका (सिंहदरबार) र न्यायपालिका (सर्वोच्च अदालत)—एकपछि अर्को गरी खरानी बन्दै गए।

आफ्नै छोराका उमेर समूहका जेन्जीहरु गोलीले ढल्दा, आफ्नो देश जलिरहेको देख्दा कहिले मन भकानियो, कहिले आँखा रसाइरहे। नेताका घरहरू ढल्दै गए, सम्पत्तिहरू लुटिँदै गए, निर्दोष महिलाहरूलाई आगोमा जलाइँदै थियो। नेताहरूका घरमा पसेर रगताम्य बनाउँदै घिसारिएका दृश्यहरूले यति धेरै उकुसमुकुस गरायो कि त्यो दिन छिट्टै सकियोस्, छिट्टै अन्धकारले ढाकिदियोस् भन्ने मनभित्र प्रार्थना गरि रहे, तर अहँ—त्यो दिन त एक युगजस्तै लम्बियो।

म जस्ता लाखौँ प्रवासी नेपालीहरूको त्यो दिनको नियति त्यही थियो। नेपालको राजनीतिमा चासो नराख्ने विदेशमै जन्मेको मेरो जेन्जी छोराले स्कुलबाट अस्वाभाविक रुपमा टेक्स्ट पठायो, ‘KP Oli has resigned’.  २–४ पटक नेपाल जाँदा गासिएको सम्बन्धले उसलाई त्यति छोएछ भने, शरीर यता भए पनि मन नेपाल हुने हामी पहिलो पुस्ताका प्रवासीको मन नछुने कुरा भएन।

म सामान्य मानिस भएकोले राजनीतिलाई गहिराईमा बुझ्न सक्दिन। मैले कुनै दलको सदस्यता नलिएकोले म कुनै दलबाट दिक्षित पनि छैन। तर यति भन्न सक्छु—ठूला राजनीतिक दलहरूले जनता र युवापुस्ताको अपेक्षा अनुसार देश चलाउन सकेका थिएनन्। कुनै न कुनै दिन ठूलो परिवर्तन अवश्य आउनु पर्ने थियो।

त्यो परिवर्तन ल्याउने प्रयास कहिले विवेकशीलको नाममा भयो, कहिले नयाँ शक्तिको नाममा, कहिले राष्ट्रिय स्वतन्त्र पार्टीको नाममा। तर ती सबै केवल क्षणिक उत्साहमा सीमित भए, समयको भेलमै हराएर गए वा जाने बाटोमा छन्। जेन्जीहरूको जनजागरणले लागेको छ अब इतिहास मोड्ने निर्णायक क्षण आयो।

हामीले ३७ सालको जनमत सङ्ग्र, २०४६ र ६२/६३ को जन आन्दोलनस, माओवादी युद्ध, २०१५ को महाभूकम्प र कोभिड–१९ भोगियो। हाम्रा देशका यी घटनामा मात्र होइन, २४ घण्टाभित्र राज्यसत्ता गर्ल्यामगुर्लुम ढल्नु सायद संसारमै दुर्लभ घटना होला। यसले एकातिर जेन्जीहरूको शक्ति र साहसलाई उजागर गरेको मैले महसुस गरेको छु भने अर्कोतिर घटनाक्रम जसरी विकसित हुँदै गए, त्यसले असंख्य प्रश्नहरू मनमा उब्जाइदिएको छ।

दस वर्षे माओवादी युद्धमा पनि जोगिएका संरचना एकै दिनमा ध्वस्त हुँदा, करिब २ लाख सेनाका, प्रहरीका र सशस्त्रका जवानहरू त्यो दृश्यका निस्क्रिय दर्शक बने। सिंहदरबार राज्यको प्रतीक थियो; त्यो कुनै दलको मात्र कार्यालय होइन। त्यहाँ राज्यका संवेदनशील कागजातहरू थिए, न्यायको पर्खाइमा हजारौं नेपालीका मुद्दाका मिसिलहरू सर्वोच्च अदालतमा थिए। सिंहदरबारभित्रै सेनाका गण थिए, केही सय मिटर टाढै भद्रकालीमा ठूलो व्यारेक थियो। त्यसरी नजिकै भए पनि, माओवादी युद्धमा ज्यानको बाजी मारेर जोगाइएका यी संरचना यसपटक किन सुरक्षित हुन सकेनन् भन्ने प्रश्न मनमा बारम्बार उठ्छ।

पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी धर्मपत्नीको बुढानिलकण्ठ निवासमा पर्याप्त संख्यामा सुरक्षाकर्मी देखिन्थे। सुरक्षाकबज बनाएर त्यहाँ शान्तिपूर्ण तरिकाले नियन्त्रण सम्भव थियो जस्तो लाग्थ्यो। तर रगताम्य हुने गरी लछार–पछार हुँदा पनि सेना केवल निरिहदर्शकझैँ देखिनुमा कतै मानवीय संवेदना थाकेको त होइन? वा त्यसबेला कुनै आदेशले तिनको हात बाँधिएको थियो?

देउवा, ओली र राष्ट्रपति रामचन्द्र पौडेल लगायतका नेताहरूको निजी निवासमा लगभग एकैसाथ आगो लाग्नु के संयोग मात्र थियो? आन्दोलनकारीहरूले गल्ली–गल्लीमा रहेका नेताहरूको घर एकैसाथ कसरी पत्ता लगाए होलान्? के त्यो स्वस्फुर्त थियो, वा पूर्व योजना?

आगो लगाउने यो आन्दोलनको फेनोमेना नै देखियो। पहिलेका आन्दोलनमा प्रायः टायर बालेर स-सानो आगो लगाइन्थ्यो। तर यसपाली को आगोको प्रकृति एउटै देखिन्थ्यो, जुन तालिम प्राप्त व्यक्तिहरूले मात्र गर्न सक्ने खालको थियो। कम्प्युटर वा मोबाइलमा रमाउने जेन्जीहरूले यस्तो काम गर्न सम्भव हुनै सक्दैन।

साँझ ६ बजे सर्वदलीय बैठक बोलाएका प्रधानमन्त्री केपी ओलीले दिउँसै किन राजिनामा दिए? प्रधानमन्त्रीको निवासमा नै सेनाले सुरक्षा दिन नसकेर उनलाई हेलिकप्टर चढाएर किन सेनाको व्यारेकमा पुर्याइयो? राजिनामा दिएपछि मात्र उनलाई व्यारेकमा सुरक्षाको सुनिश्चित गर्नु के केवल संयोग मात्र थियो?

शितलनिवासमा आगो लगाउन किन साँझ सम्म कुर्नुपर्‍यो, जबकी अरु महत्वपूर्ण भवन र निवास बिहानै जलेका थिए? आज एक जना वरिष्ठ पत्रकारले सेनाले राष्ट्रपतीलाई राजिनामा दिन बाध्य पार्ने कोशिस गरेको खुलासा गरेका छन्। यदि यो सत्य हो भने, शितलनिवासमा आगो लगाएर राष्ट्रपतीलाई तर्साउन खोजिएको थियो वा सुरक्षाको नाममा उनलाई पनि नियन्त्रणमा लिन खोजिएको थियो? राष्ट्रपतीबाट राष्ट्रको नाममा भिडियो वा अडियो मार्फत संवोधन आउन नसक्नुले उनी नियन्त्रणमा रहेको आशंका बढाएको छ।

नेताहरू बाहेक बिनोद चौधरी, उपेन्द्र महतो जस्ता व्यवसायी र चन्द्रागिरी केबलकार जस्ता निजी क्षेत्रमा लगानीमाथि पनि आगो लगाइएको थियो। दुर्गा पर्साईले कारबाही गर्नु पर्ने सूचीमा उनीहरूको नाम सार्वजनिक गरेका थिए। के उनीहरूकोमा आगो लाग्नु केवल संयोग मात्र थियो? आन्दोलनभन्दा पहिले पर्साई धुनामुक्त हुनु पनि के संयोग मात्र थियो? सेनापति द्वारा ‘पर्साई र राष्ट्रिय स्वतन्त्र पार्टी’लाई पनि आन्दोलनको स्टेकहोल्डर मान्नु कुरा साचो हो भने अहिलेको आन्दोलनमा उनीहरुको हिस्सा रहेको प्रष्ट गर्दछ।

रबि लामिछानेलाई सुरक्षाको कारण देखाउँदै नख्खुजेलबाट मुक्त गर्ने र अर्को तिर त्यहाका कैदी छुटाएर यसको दोष रबि लामिछानेलाई दिने प्रपञ्च गरिएको जस्तो पनि देखिन्छ। यही प्रकरणले रबिको छविलाई  लगभग शून्य बनाएको छ। पहिले उनको फेसबुकको स्टाटसमा ‘रबी दाई हाई हाई’ जस्ता सकारात्मक कमेन्ट मात्र देखिन्थे, तर जेल छूट्ने प्रकरणपछि उनलाई गालीको बर्षा आएको छ। रबिले यसको सार्वजनिक रूपमा प्रतिवाद गर्न समेत बाध्य भए। जेल छुट्दा सबैलाई लागेको थियो—अबको प्रधानमन्त्री रबी नै हुन। तर जेन्जीहरूले प्रधानमन्त्री सिफारिस गर्ने आज भएको भर्चुअल कार्यक्रममा उनको नाम सिफारिस गर्न कसैले आँट गर्न सकेन। आन्दोलनमा राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ता प्रयोग त भए, तर रबिको संभावना अहिलेलाई टर्यो।

रबिलाई जस्तै जेन्जीहरूलाई पनि असान्दर्भिक बनाउन खोजियो भने आश्चर्य मान्नु पर्ने छैन। कसलाई प्रधानमन्त्री बनाउने भन्ने विषयमा सेनाको व्यारेकको अगाडि जेन्जीहरूबीच विवाद गराएबाट उनीहरूलाई पनि कमजोर पार्न खोजिएको त होईन भन्ने प्रश्न उठेकोछ।

प्यारा जेन्जीहरू, लोकतन्त्र रह्यो भने मात्र तपाईंहरूको आवाज बलियो हुन्छ। लोकतन्त्रले तपाईंहरूको पुस्तालाई मात्र होइन, केही हदसम्म हाम्रो पुस्तालाई पनि आफ्नै लागि र देशका लागि केही गर्ने सपना देखाउने हिम्मत दिएको छ, आत्मविश्वास जगाइदिएको छ। हामी जस्ता विदेशमा बसेर देशलाई खुलेर आलोचना गर्ने अवसर पनि यही लोकतन्त्रकै उपहार हो। बागलुङको दुर्गम गाउँबाट बैंकमा कार्यालय सहायकको काम सुरु गरेका चन्द्र ढकाल जस्ता व्यक्तीहरुलाई नेपालकै धनी मध्ये एक बन्ने अवसर पनि लोकतन्त्रले नै दिएको हो।

हो, लोकतन्त्र हाक्ने नेताहरू भ्रष्ट भए र तपाईं हाम्रो अपेक्षाअनुसार देश चलाउन सकेनन्, तर लोकतन्त्र आफैँ खराब होइन। यसको जगेर्ना गर्ने ऐतिहासिक जिम्मेवारी तपाईंको काँधमा आएको छ। देश खरानी बनाउनेहरुलाई यो ऐतिहासिक जिम्मेवारी नसुम्पिनु होला। देश र प्रवासी नेपालीहरू तपाईंको साथमा रहने छन्। देशले पछिल्लो तीन दिनको घटना फेरी देख्न नपरोस्।

तपाइँको प्रतिक्रिया

फेसबुक