अफ्रिकामा पोखिएको रगतले हाम्रो आत्मा पखालीरहेको छ
सहारा मरुभूमिबाट उडेको बालुवाले कानो शहरलाई पुरै छपक्क पारेको थियो । आकाश डम्म भएको छ । पानी पर्ला जस्तो । पानी त के पर्थ्यो र ! एकाएक शहर भरि ठूला ठूला बिस्फोटका आवाज प्रलय भएझैं आए । कार्यालयबाट घर फर्कँदै गरेका दुई यायावर गाडीभित्रै रुमल्लिए । दुबैको होस हवास उड्यो । गोली चल्यो । यताबाट पनि उताबाट पनि । गोलीको आवाज, मानव चित्कार र धुलो र धुवाँले छोपिएको कानो शहर । मान्छेहरुको आर्तनाद र चिच्चाहटले करोड जनसंख्या भएको नाइजेरियाको दोश्रो ठूलो शहर कानोमा संहार र प्रलयको दुखान्त बादल मडारियो । अलग रङका ती दुई यायावर गोलीका पिडाले सडकमै चिच्याए । न सुन्ने कोहि थिए । न उद्दार गर्ने कोहि ।
अबेर राती शहर रणभुमिबाट सुनसान मशानघाट जस्तो भयो । घर डेरा नफर्केकाहरु बल्ल खोजी भयो । साथीभाई आफन्तले नफर्केका आफन्तहरुको चासो राख्न थाले । सहरमा कर्फ्यु लागिसकेको थिए । हजार भन्दा बढि मान्छेहरु मारिएका थिए । अरु हजारौं घाइते थिए । शहरका अस्पताललमा सकेसम्म छिटो दुगुर्याइँदै थियो ।
बोकोहरामको कानो सहर आक्रमण र त्यस पछिको दोहोरो भिडन्तको खबर नाइजेरियामा मात्र होइन पुरै संसारभरि आगो झैं फैलिसकेको थियो । कानो शहरको मुटुमा भएको यो आक्रमणले बाँकी विश्वमा कस्तो तरंग ल्यायो थाहा भएन । तर हामी त्यहाँ बस्नेहरुको मुटुले ठाँउ छोड्यो । धेरै दिनसम्म खुट्टा लगलग कामे । मृत्युको त्रास निकै भयंकर हुँदो रहेछ ।
“दाइ, हाम्रा दुई साथीहरु पनि फर्केनन् । अफिसबाट आफैँ गाडी चलाउँदै हिँडीसकेका थिए । फोन पनि बन्द छन् । के छ खवर खै ? केही पत्ता लगाउन सकिएन । बाहिर जान पनि कर्फ्यु छ । चिन्ता लागीरहेको छ । उनिहरु सँगै काम गर्ने भाइले अबेर राती खबर गरे । मन चिसो भयो । रातभरी छट्पटी भयो । निद्रा परेन । ” हे भगवान उनिहरुलाई सलामत देख्न पाइयोस” । तर त्यस्तो भएन, मेरो पुकार शुन्यमा अलप भयो । भोलिपल्ट ती दुबै जनाको लास अस्पतालको शव गृह भित्र अन्य लासको खातै खातमा चिसा भेटिए- बुटवलका राज सिंह र स्याङ्जाका हरिप्रसाद भुसाल । परदेश पुगेका दुई नेपाली युवाहरू बोको हरामको गोलीले कानोमा मारिए ।
यता ति दुई जनाका रगतका छिटा सहाराका बालुवामा मिसिएर फ्यात्त भूँईमा खसे होलान । उता काली गण्डकी र तिनाउमा आपन्तका आशुहरु भेल बनेर उर्लिए । मैले मेरो जीवनमा कहिल्यै सोचिन । कहिल्यै यस्तो लागेन, हाम्रो रगत बालुवामा यसरी खेर जाला भनेर । सँगै दिनचर्या साटासाट गर्ने साथीहरुको रगत बग्यो । अफ्रिकाभरि हामी थोरै नेपालीहरु छौं । हाम्रा आँशुहरु रोकिएनन- बेन्यु , निजर र नाइल साना देखिए । हामी उता देशबाट आतंकका गोली छल्दै यता आएका थियौं । सपना अंकुराएका थिए । सपनाका मसिना आँकुरा निमेषमै किचिमिची भए । हाम्रो संसार भत्के जस्तो भयो । खोइ कसले लेखे होला निर्वाणको कथा । हाम्रो कथा त निर्वाण पूर्व नै सकिन्छ । हरेक बिहान हामी निमिट्यान्न भएर तङ्ग्रीएका हुन्छौं- बाकसमा देश फर्काइनेहरुको कथा मुटु हल्लाउने खालको छ ।
बोको हरामको बिम्ब के होला हाम्रा तिर ? गएको दशकमा नाइजेरिया भन्ने बितिक्कै बोको हरामको देश । काला बुर्का ओडेका र काँधमा राइफल बोकी मान्छेलाई मार्दै हिँडिरहेका आतंककारीको हुल वा केही न केही त्यस्तै डरलाग्दो आतंकको बिम्ब ! नाइजेरियामा बस्छु भन्ने बित्तिकै स्वजन आपन्तले सोध्ने बोको हराम आतंकको कथा । मध्य पश्चिमी अफ्रिकाको सहारा मरुभूमिको तलतिर चाड देखि सेनेगल सम्म फैलिएको भुमागमा बोलिने हउसा भाषामा यसको शाब्दिक अर्थ ” पश्चिमी शिक्षा निषेध गर ” हुन्छ ।
हो नाइजेरियाको उत्तर पूर्वी कुनोमा लेक चाडको ठिक तल, निजर, चाड र क्यामरुन तीन देशको सिमामा रहेको बोर्नो राज्यको राजधानी मैदागुरीमा, एक इस्लामिक सन्तले सन २००२ मा पश्चिमी शिक्षा हटाउनु पर्छ, ईस्लामिक शिक्षाको पठन पाठन हुनुपर्छ भन्ने अभियान थाले । तिनको नाम थियो मोहम्मद युसुफ । शुरुमा ईस्लामिक स्कुल, मस्जिद र देश भरबाट बिद्यार्थीलाई निशुल्क शिक्षा थालेका ती युसुफले भित्रभित्रै त्यो स्कुलबाट अब ईस्लामिक राज्य स्थापनाका लागि सैन्य दस्ता तयार कुरो राज्यले सात बर्षपछि मात्र छनक पायो । त्यति बेलासम्म मुस्लिम जनसंख्या रहेको बोर्नोमा बोको हरामको शान्तिबादी सन्त आन्दोलन शुरु गरिएको भनिएको थियो । तर सन २००९ मा गोलीका माला र स्वचालित राइफल बोकेका युसुफका काला बुर्काधारी बोकोहरामहरुले शहर भरिका सुरक्षा क्याम्पमा एकै चोटि आक्रमण गरे । उता नेपालका माओबादीले जस्तै । तब बल्ल राज्य तिल्मिलायो, जवाबी कार्वाहीमा युसुफलाइ मार्यो र उसको शव सहरभरी डुलायो । अनी फेरी सरकार सुत्यो । सरकारलाई लाग्यो, युशुफको मृत्युपछी बोकोहरामको युद्ध सकियो । कथा टुङ्गिएन । मोहम्मद युसुफ मारिएको केही समयपछि अबुबाकर शेकाउले त्यो आतंककारी संगठनको कमान्ड सम्हाल्यो । र आफू प्रमुख भएको घोषणा गर्यो ।
त्यतिबेलासम्म त्यो समुहले बोर्नोका धेरै गाउँहरु सहित अन्य तीन देशमा फैलिएको सिमान्चलको सम्बोसा जङ्गलभित्र आफूलाई मजबुत रुपमा स्थापित गरिसकेको थियो । हत्या, हिसा, लुटपाट, अपहरण र बलात्कार दैनिकी बन्यो । पुलिस, राजनेता र बिरोध गर्ने सबैको दिनदहाडै घाँटी रेटियो । नाइजेरियाका ३६ मध्य तीन राज्यका ग्रामीण इलाका आतंककारीले नियन्त्रणमा लिए । मुस्लिम र क्रिश्चियन आधाआधी जनसंख्या भएको यो देशलाई चार बर्षमा नै बोको हरामको डढेलोले छोप्यो ।
त्यहि बेला हो, तिनले कानो सहर आक्रमण गरेको । जहाँँ हामीले हाम्रा हितैषी गुमायौं । परिवारले प्रियजन गुमायो । सन २०१२ को त्यो उदेक लाग्दो दिन जसले कहिल्यै नमेटिने छाप बनायो । हाम्रो मुटुमा । त्यस पछि २०१३ र २०१४ मा यी आततायीको आतंक उत्कर्ष पुग्यो । अल कायदासँग जोडिएर चिबोकको एक माध्यामिक स्कुलबाट लगभग ३ सय छात्राहरुको अपहरण गरे । सम्बोसा जङ्गलको आफ्ना सैन्य क्याम्पमा लडाकुहरुका यौन दासीका रुपमा तिनको प्रयोग गरे ।
कमान्डर शेकाउलाई २१ जना अबोध छात्राहरुलाई निजी यौन दासीको रुपमा प्रयोग गर्ने गरेका थिए । ईश्वरको राज्य स्थापना गर्ने नाममा लडिरहेका आतंककारीको यो बर्बरता बर्तमान कालखण्डमा पुरै विश्वले भयानक र कल्पनै गर्न नसकिने घटनाको रुपमा लिएको छ । पछि २०१५ मा मुहम्मद बुहारीले राष्ट्रपति जिते पछि जब त्रीदेशिय सेनाले अपेरेशन चलायो । यिनको आतंक र प्रभाव खुम्चिँदै गयो । छिट्टपुट्ट भने अझै बेलाबखत चलिरहेकै छ । तीसहजार भन्दा बढि मान्छे मारिएको, २० लाख भन्दा बढि मान्छे आन्तरिक रुपमा बिस्थापित भएको यो बोको हराम आतंकलाई मैले नाइजेरिया बसाइमा नजिकैबाट देखें । मित्र गुमाएँ । यहाँँ आउनुपूर्व देश भित्र माओबादी आतंकको नजिकबाट अनुभव गरेको थिएँ ।
लाग्यो, जहाँ भएपनि बन्दुक हाम्रै छातीमा सोझिएका हुन्छन् । ठिक चार महिना अघि दशैं थियो । लेगोस स्थित मेरो घरमा दशैं भेला र रमझम चल्दै थियो । मादल बज्न शुरु भयो र मादलु भाका सँगै एउटा पातलो कदले नेपाल सम्झ्यो । वालिङ्गका पाखा पखेरा वा के के सम्झ्यो । पिता माताका दशैका राता टीका वा सर सङ्गीका साथ वा यस्तै मादलको घिनतांग । र सुरिलो आवाज घन्क्यो, झ्यालैमा बसेकी कान्छिलाई।।।।।
चार महिना पछि त्यो सुरिलो आवाज सधैंका लागि बिलिन भयो । शुन्यमा हरायो कतै । तर मेरो मन मस्तिष्कबाट हराउन सकेन । मुटुमा छपियो भाका । आँशु बनेर बगिरह्यो पछिसम्म । भाइ हरिप्रसाद भुसाल । उनको शब बन्द बाकसमा पठाउँदा होस वा उनको परिवारलाई क्षतिपूर्ति पठाउन लडिरहँदा तिम्रो आवाज घन्केको सुनिरहेको हुन्छु । राज्यले सुनेन त के ? अफ्रिकामा पोखिएको तिम्रो रगतले मेरो आत्मालाई पखालिरहने छ ।