शनिबार, मंसिर ८, २०८१

अपहेलना र शोषणको शिकारमा नर्सिङ पेशा

आकृती तिमल्सिना २०७७ असोज ८ गते ९:०७

स्वास्थ्य परिचारिका, अझ प्रख्यात भाषामा भन्ने हो भने ‘नर्स’ । कर्मका आधारमा स्वास्थ्य-सेविका जसको सहयोगले स्वास्थ्य दरिलो हुन्छ । जीवन फूर्तिलो बन्छ । असहाय, कमजोर र गरिबीको मारमा पिल्सिएकाहरुलाई उद्दार गर्ने क्रममा पहिचानमा आएको ‘नर्स पेशा’ ले आज विश्वमा एक अपरिहार्य र सर्वजनहिताय पेशाको रूपमा आफ्नो स्थान कायम गरेको छ । विभिन्न धर्महरुलाई आधार बनाएर आफ्नो जग बसालेको यस पेशाले १९ औं शताब्दि तिर आएर आफ्नो पहिचान ‘धर्म निरपेक्ष पेशा’ को रूपमा प्राप्त गर्‍यो ।

विश्वभरि नै यो पेशालाई लोकप्रिय बनाउन नर्सिङ पेशाकी संस्थापक “फ्लोरेन्स नाइटेङ्ल” ले अहम् भुमिका निर्वाह गरिन् । पितृसत्ताको भावनाले प्रेरित नेपाली समाजमा भने “राजकुमारी प्रेक्क्षा राज्य लक्ष्मी देवि शाह” ले नर्सिङ पेशामा संलग्नताको स्विकृतिकालागि चालेको कदम उल्लेखनीय मानिन्छ । चार जनाबाट सुरु भएको नेपालको नर्सिङ यात्रा आज लाखौंमा पनि अगणनीय छ । बिस्तारै यस पेशाले आफ्नो हाँगा फैलाउँदै विभिन्न बिभागमा समावेश भएको छ । नेपालमा पनि व्यापकता बढाउँदै गएको यो पेशा आज नाजुक हुँदै जाँदा अपहेलनाको शिकार बन्न पुग्नु दुखद पक्ष हो ।

धामी, झाँकृ र वैध्यहरुमा सिमित स्वास्थ्य क्षेत्र फैलिएर आज अस्पताल र स्वास्थ्यकर्मीहरुमा आइपुगेको छ । परम्परागत स्वास्थ्य सेवाले आज वैज्ञानिक रुप लिँदै छ । स्वास्थ्य सेवामा जनचासो बढेसँगै नर्सिङ पेशा पनि फस्टाउँदै सुखद पक्ष हो । बि.सं २०१३(१९५६ इ.सं.) मा स्थापना भएको नेपालकै पहिलो नर्सिङ विध्यालयबाट सुरु भएको स्वदेशी नर्सिङ शिक्षा नेपाली चेलीबेटीहरुको प्रमुख पेशा बनेको छ । केहि वर्ष पुरुषले पनि यो शिक्षा हासिल गरेता पनि फेरि यो शिक्षा महिलामा मात्र सिमित रह्यो । केहि समय यता भने स्वास्थ क्षेत्रमा नर्सिङ पेशाको महत्त्व बुझेर नेपाल सरकारले महिला र पुरुष दुबैको सहभागितालाई मन्जुर गराएको छ । सिमित क्षेत्रमा मात्र सिमित नर्सिङ पेशा आज हरेक क्षेत्रमा अपरिहार्य बन्दै गएको छ ।

विकाशोन्मुख राष्ट्र नेपालले आज करोडौं स्वास्थ्य परिचारिका उत्पादन गरिसकेको छ । छोरी-चेलीलाई घरको चुला-चप्का र चार कुनामा सिमित राख्ने नेपाली समाजमा आज हरेक घरमा एक स्वास्थ्य परिचारिका छिन् । दिन-दुखी र असहायहरुको हेरचाहबाट सुरु भएको यो सेवा आज वालवालिका, प्रौढ,वृद्ध-वृद्धाहरुको शारीरिक, सामाजिक, मानसिक स्वास्थ्यमा विस्तार भएको छ । नर्सिङ शिक्षाको आगमनसँगै विभिन्न नर्सिङ कलेज, अस्पताल, वृद्ध-वृद्धा आश्रम, वालवालिका कियर क्लिनिक, रिह्याविलिएसन सेन्टर, होम कियर क्लिनिक आदिमा नर्सहरुको प्रभाव बढ्दो छ । महिला स्वास्थ्य क्षेत्रमा समर्पित भएसँगै घर-परिवार र समाजको स्वास्थ्य सम्बन्धि ज्ञान र चासो पनि बढ्दै गएको छ । अझ नेपालमा नर्सिङ पेशामा महिलाको मात्र उपस्थितिले महिला सशक्तिकरणमा झन् टेवा थपेको छ । नर्सिङ सेवा बिस्तार भएसँगै यसको माग पनि बढ्दै गएको छ । दिन-प्रतिदिन उकालो लाग्दै गरेको अन्तर्राष्ट्रिय मागले लाखौं नेपाली चेलीहरुलाई यो क्षेत्र तर्फ आकर्षित गराएको छ । आज नर्स अस्पतालमा मात्र नभएर जनप्रशासन, समूदाय, विध्यालय, उध्योग आदिमा समेत फैलिएका छन् । स्वास्थ्य क्षेत्रमा बिज्ञानले पारेको प्रभावसँगै केही सिमित स्वास्थ्य परिचारिकाहरुलाई विभिन्न स्वदेशी तथा बिदेशी संस्थाहरुबाट नयाँ-नयाँ सीप, आपतबिपतमा आइलाग्ने समस्याको समाधान गर्ने तरिका, नयाँ औजारको प्रयोग आदिका बारेमा समय-समयमा दिइने प्रशिक्षणले यो पेशाप्रति थप जनइच्छा जगाएको छ ।

अन्तर्राष्ट्रिय स्तरमा मौलाउँदै गएको नर्सिङ पेशा राष्ट्रिय स्तरमा भने खुम्चिँदै गएको छ । यस पेशामा संलग्नता बढ्दै गएपनि जनसोच झनै खुम्चिँदै गएको छ । महिला वर्गीकृत यो पेशा आज अपहेलना र शोषणको कारण बन्दै गएको छ । उच्च ओहदामा रहेका ब्यक्तिहरुको तुच्छ सोचाइबाट नर्सिङ पेशा अछुत छैन । लाखौं खर्चेर कष्टसाथ शिक्षा आर्जन गरेका नर्सहरु मध्ये आधा भन्दा बढि नर्स बेरोजगार छन् भने रोजगार पाएकाले पनि उचित सेवा र सुबिधा पाएका छैनन् । बिरामीको चाप बढे पनि अस्पतालले स्वास्थ्य परिचारिकाको चाप भने बढाउन सकेका छैनन् ।

घण्टौंको शारीरिक र मानसिक व्यस्तताले आघात नेपाली नर्सको न त पेट भरिन्छ न त उनीहरुको कर्मले उचित कदर नै पाउँछ । स्वास्थ्य सेविका डाक्टर र बिरामीबाट मात्र होइन आफ्नै सहकर्मीहरुबाट नै हेपिएका छन् । यहाँ महिला महिलाबाट नै शोषित छन् । प्राकृतिक प्रकोपले निम्त्याएको आकस्मिक अवस्था र महामारी फैलिएको कठिन समयमा त उनीहरु दयनीय परिस्थितिमा बाँचिरहेका हुन्छन् । तलब थप, सुरक्षा कवच र भत्ताको त कुरै नगरौं; आफूले प्राप्त गर्नुपर्ने पसिनाको कमाई पनि नपाएर उनीहरुले राजीनामा पत्र बुझाउँदा समेत स्वीकृत गरिँदैन । खस्किँदै गएको नर्सिङ शिक्षा र कम तलबको पेशाले स्वास्थ्य क्षेत्रलाई नै असर पारेको छ । अझ बिडम्बना त के हो भने नर्सिङ पदमा संलग्न भएका व्यक्तिहरुको दस्तखत लिएर तयार पारिएका स्वास्थ्य सम्बन्धि राष्ट्रिय योजना नर्सहरुका आवाजलाई नै समावेश नगरी पारित गरिएका छन् ।‌

“सेवा नै धर्म हो” भन्ने भनाइबाट प्रेरित नर्सिङ सेवा आज गरिब, दुखी र असहायहरुको सहयोगमा मात्र होइन हरेक जात-जाति, लिङ्ग, उमेर र धर्महरुको शारीरिक, मानसिक एवं सामाजिक स्वास्थ्यसँग गाँसिएको छ । यि यावत समस्याकाबिच पनि आजको २१औं शताब्दिमा स्वास्थ्य परिचालिकाहरुले आफ्नो छुट्टै महत्व कायम गरेका छन् । नर्सहरु निरन्तर प्रयास र संघर्षले विश्वसँगै नेपालमा पनि नर्सिङ पेशा फस्टाउँदै गएको छ । नर्सिङ पढ्ने अवसरहरु बढे पनि दुखको पक्ष के भने रोजगारी र सुविधाका अवसरहरु भने घट्दै गएका छन् । अन्तर्राष्ट्रिय क्षेत्रमा प्रख्यात बन्दै गएको यो पेशा नेपालमा भने शारीरिक, मानसिक, आर्थिक र सामाजिक तनावले भरिभराउ छ । महिलाको अधिकांश सहभागिता भएको यो पेशामा न त आफूले गरेको काम गनिन्छ न त दामले खल्ती नै भरिन्छ। राज्यले खुलाएका सिमित रोजगारी अवसर, महिलाले महिला माथि नै गर्ने शोषण अनि सम्बन्धित निकाय र सरकारको मौनता बढ्दै जाने हो भने स्वास्थ्य क्षेत्र मात्र होइन सिङ्गो राष्ट्रको विकास नै ओझेलमा पर्ने छ । मेरो विचारमा, नेपाल सरकारले यथाशीघ्र नर्सहरुको सेवा र सुविधालाई मध्यनजर गर्दै उचित रोजगारीको अवसर मिलाउने, नर्सिङ शिक्षा र स्वास्थ्य सेवाको गुणस्तर बढाउन स्वास्थ्य योजना लागू गर्ने काममा ढिलाई गर्नै हुन्न । स्वदेशी पौरखलाई स्वदेशमै खर्चिनु नितान्त आवस्यक छ भन्ने सोचेर कार्य गर्नुपर्छ भन्दा अतियुक्ति हुने छैन ।

(आकृती नर्सिङ सेवासित संवन्धित छन्)

तपाइँको प्रतिक्रिया