तिहार : फूल, उज्यालो र सद्भावनाको पर्व
कार्तिक कृष्ण त्रयोदशीबाट शुरु भई कार्तिक शुक्ल द्तियासम्म रमाइलो गरी मनाइने तिहार फूलै फूलको सुगन्ध, दीपहरुको उज्यालो र पारिवारिक मात्रै होइन पशुपक्षी समेतको सद्भावको पर्वको रुपमा मनाइँदै आएको छ । कागतिहारदेखि शुरु भएर भाइटीकासम्म यमपन्चक बडादशैं जस्तै शरद ऋतुमा पर्ने दीपहरुको मौलिक उत्सव हो ।
धनधान्यकी देवी लक्ष्मीपूजाको रातलाई सुखरात्री पनि भनिन्छ । वैदिक मान्यता अनुसार महादेवको उत्पत्ति भएको फाल्गुण कृष्ण चतुर्दशीको रात महाशिवरात्री, भदौ कृष्णपक्षको अष्टमीको राति मोहरात्री, असोज शुक्लपक्षको अष्टमीको राती कालरात्री र महालक्ष्मीको पूजा हुने रातलाई सुखरात्री भनी हिन्दू धर्मालम्बीहरुले मान्दै आएका छन् । नेपालमा
मात्र नभई नेपालीहरु पुगेका युरोप, अष्टेलिया, अमेरिका, वेलायतमा नेपाली शैलीमा यमपन्चकका चाडहरु मनाइन्छ । लक्ष्मीपूजा गरिन्छ र भाइटीका मनाइन्छ ।
त्यस्तै भारतीय, वर्मेली, भूटानी, थाइ लगायत विभिन्न देशमा छरिएर रहेका हिन्दू धर्मावलम्वीहरुले आफ्नै आफ्नै लय र शैलीमा लक्ष्मीको पूजाआराधना गर्ने गरेको पाइन्छ ।
भैलो र देउसी संस्कृति भने नेपालको आफ्नै मौलिक सँस्कृति रहेको कुरा इतिहासकारहरुले उल्लेख गरेका छन् । देउसी खेल्ने क्रममा चर्चा हुने बलिराजाको आफ्नै इतिहास रहेको छ । केहि इतिहासविद्हरुले उनलाई कर्णाली क्षेत्रका बलिराज शाही हुन् भनेका छन् भने केहीले बलिहाँग मगर राजाले देउसी खेल्ने चलाएको कुरा तर्कसहित पेश गरेकाछन् ।
यमपन्चकको पहिलो दिन कागको पूजा गरेर मानिसको दैनिकसँग जोडिएका पशुपक्षीहरुप्रति सम्मान गर्ने चाडको रुपमा पनि तिहार चर्चित छ । कुकुर, गाई, गोरुको पूजा हुनुका पछाडि भने वैज्ञानिक कारण छ । कृषिमा आधारित हिन्दूहरुले आफूहरुलाई खाद्यान्नको बन्दोबस्त गराउन सघाउने गोरु, पौष्टिक आहार दूध, दहीको प्रबन्ध गर्ने गाई, सुरक्षा दिने कुकुर, शुभ अशुभको सँकेत दिने पौराणिक पक्षी कागको पूजन गर्नु स्वाभाविक नै हो ।
यमपन्चकको अन्तिम दिन भाइटीका लगाइदिएर दिदी बैनीहरुले दाजुभाइको दीर्घायूको कामना गर्दछन् । तराइतिर भैयादूजको रुपमा भाइटीका मनाइन्छ । कालहरुका राजा यमराज र बहिनीको यमुनाको पौराणिक कथासँग जोडिएपनि मुलतः दीर्घायू र धनधान्य, स्वास्थ्यको कामना गर्दै दिदी बहिनीहरुले दाजुभाइलाई टीका लगाइदिने र दाजुभाइले दिदी बहिनीलाई सम्मान गर्ने चलन आफैमा राम्रो हो ।
कृषिमा आधारित हाम्रो जस्तो देशमा खेतीपाती भित्र्याएपछिको शरद ऋतुको उल्लासमय मौसम, खुलेको आकाशमा मनाइने तिहारले पारिवारिक, आफन्त र इष्टमित्रको सम्बन्ध अझ गाढा बनाउन सघाउँछ ।
ढकमक्क फूलेका मखमली र सयपत्री फूलहरु, खुलेका आकाशमा देखिएको स्निग्ध हिम श्रृंखलाले मानिसहरुमा छुट्टै जोश र जाँगर पैदा गर्दछ । नेपालीहरुको महान पर्व तिहारको उपलक्ष्यमा नेपालप्लस पत्रिका परिवारपनि सबैको सुस्वास्थ्य र दीर्घायूको कामना गर्दछ । यमपञ्चकको समयमा नै नेवारी समुदायको नयाँ बर्ष र म्ह: पूजा हुने गर्दछ !