बेल्जियमका लागि नेपाली राजदूतले कामदारलाई यतै छोडेर फर्किए नेपाल
![](https://nepalplus.com/wp-content/uploads/2020/11/lok-bahadur-thapa.jpg)
लोक बहादुर थापा
आफ्नो कार्यकाल सकेर गत हप्ता नेपाल फर्किएका बेल्जियमका लागि नेपाली राजदूत लोक बहादुर थापाले निजी सहयोगीको रुपमा ल्याएका दुईजना आफन्तहरुलाई ब्रसेल्समै छोडेर नेपाल फर्केका छन् । डेढ वर्ष अघि मात्र थापाका एक जना निजी सहयोगीलाई सह चालकको रुपमा र अर्का एक जनालाई ‘भोज भतेर’ ब्यवस्थापकको रुपमा दुतावास कर्मचारीमा नियुक्त गरिएको थियो ।
दुबै जना चार वर्ष अघि थापा सँगै ब्रसेल्स पुगेका थिए । यि दुबै जना थापाका आफन्त हुन् । पूर्व राजदुत थापाले भने यो सामान्य प्रकृया भएको र दुतावासमा कर्मचारी आवश्यक परेको हुनाले उनिहरुलाई दुतावासमा नियुक्ती दिइएको बताएका छन् ।
यस्ता कर्मचारी नियुक्त गर्दा स्थानिय नेपाली समुदायबाट प्रतिस्पर्धाका आधारमा गरिनु पर्ने परराष्ट्र मन्त्रालयले ब्यवस्था गरेको छ । तर दुताबासहरुले भने पदपूर्तीका लागि कुनै पनि बिज्ञापन आव्हान नगरि आफ्ना निजी सहायकहरुलाई त्यस्ता पदमा राख्ने गरेका छन् । पूर्व राजदुत थापाले बेल्जियमका पत्रपत्रीकामा बिज्ञापन दिँदा महँगो पर्ने भएकोले आफूहरुले सूचनापाटीमा टाँसेर निबेदन आव्हान गरेको बताए । थापाले नेपालप्लस साँगको कुराकानीमा भने- ति पदहरुका लागि कसैको पनि निवेदन नआएपछि उनिहरुलाई नियुक्ती दिइएको हो । अर्को कुरा, खासमा त्यति थोरै तलबका लागि कसैको आवेद आउँदा पनि आउँदैन । ९ सय युरो तलबका लागि कसले आवेदन दिने ?” पूर्व राजादुत थापा अगाडि भन्छन् – ” म राजदुत भएर जाने बित्तिकै नेपाली समुदायबाट एक जना चालक खोज्नु पर्यो भनेर प्रयास पनि गरियो । तर कसैले पनि रुची देखाएनन् । यति थोरै तलबमा कसले काम गर्ने ?” ।
राजदुतलेहरुले निजी सहायकहरुलाई सम्बन्धित देशमा बस्ने चाँजो पाँजो मिलाएर एक्लै फर्किने गरेका घटनाहरु नयाँ भने होइनन् । बिगतमा पनि यस्ता घटना र उजुरीहरु परराष्ट्र मन्त्रालयमा मात्र नभएर अख्तियारमा समेत परेका छन् । खास गरेर बेल्जियम, जापान, जर्मनी, बेलायत र अष्ट्रेलिया जस्ता क बर्गमा पर्ने देशमा पुगेका राजदुतहरु निजी सहयोगिको रुपमा आफन्तहरु लिएर जाने र फर्किदा रित्तै फर्किने गरेका दर्जनौं उजुरीहरु परराष्ट्रका फाइलमा लिपिवद्ध छन् । तर कुनैपनि राजदूतलाई कारवाही गरिएको अहिलेसम्म सार्वजनिक गरिएको छैन ।
परराष्ट्र श्रोतका अनुशार क वर्गका नियोगहरूमा पोस्टिङ भएका परराष्ट्रका कर्मचारीले निजी सहयोगीका रूपमा लगेका व्यक्तिहरूको भिसा स्टाटस परिवर्तन गराई वा अवैध नै बनाएर भए पनि उतै छाड्ने गरेका छन् । त्यो धेरै पटक देखिएको छ । नियोग सम्बन्धि निर्देशिकामा नियोगहरूमा खटिएका राजदूत तथा कूटनीतिक कर्मचारी मध्ये राजदूतले दुईजना र कूटनीतिक कर्मचारी (अधिकृत र माथिल्लो स्तरका कर्मचारी)लाई एकजना निजी सहयोगी लैजान सक्ने व्यवस्था छ । तर अधिकांशले आफ्ना सहयोगिहरु उतै छोडेर फर्किने गरेका छन् । खास गरेर युरोपियन युनियन अन्तर्गतका मुलुकहरुमा ५ वर्ष सम्म स्थानिय कर्मचारीको रुपमा बस्न सके सम्बन्धित मुलुकको स्थाई बसोबास अनुमतिका लागि आवेदन दिन सकिने हुनाले पनि यता आउने अधिकांश राजदुतले आफन्तहरुलाई ल्याउने गरेका छन् ।
पूर्व राजदूत थापाका दुबै जना सहयोगिहरुले पनि पोर्चुगलको आवाशिय अनुमती प्राप्त गरिसकेको बताइएको छ । यदि पाँच वर्ष पहिले नै दुतावासबाट निकालिएको खण्डमा उनिहरु पोर्चुगल पुगेर बस्न सक्ने छन् । तर पूर्व राजदूत थापाले आफ्ना ति सहयोगीहरुले पोर्चुगलको आवाशिय अनुमती लिएको बारेमा आफूलाई कुनै जानकारी नभएको बताए ।
![](https://nepalplus.com/wp-content/uploads/2020/11/embassy-letter.jpg)
आफूले लगेका कर्मचारी सँगै फर्काउन परराष्ट्रको पत्र
बिदेशमा सँगै लगेका सहयोगिलाई उतै छोडेर फर्किने क्रम बढ्दै गए पछी परराष्ट्रको सामान्य प्रशासन महाशाखाले २०७५ माघ ३ गते चलानी नम्बर ४९३३ रहेको अति महत्वपूर्ण र अति जरुरी पत्र सबै बिदेशस्थित नियोगमा सर्कुलर गरेको थियो । सर्कुलरमा ‘विदेशस्थित नेपाली कूटनीतिक नियोगका नियोग प्रमुखलगायत सबै कूटनीतिक कर्मचारीहरूले साथमा लगेका सर्भिस स्टाफ–पर्सनल, एटेन्डेन्ट–निजी, सहयोगी–निजी, कामदार–अर्दलीहरूलाई कार्यकाल समाप्त भई नेपाल फर्किंदा अनिवार्य रूपमा आफैँसाथ नेपाल फर्काउनुहुन निर्देशनअनुसार अनुरोध छ’ लेखिएको छ । “तर पनि नियोग प्रमुखहरुले यसको पालना गरेको देखिएन” परराष्ट्रका एक कर्मचारी भन्छन- “यसका लागि कडा भन्दा कडा कानुन नै ल्याउनुपर्ने हुन्छ ।”