आइतबार, वैशाख १६, २०८१

अहिलेका सबै समस्या प्रधानमन्त्रीकै कारणले खडा भएका हुन् : झलनाथ खनाल

नेपालप्लस राजनितिक संवाददाता २०७७ पुष २ गते २२:२३

नेपाल कम्युनिष्ट पार्टी र सोहि पार्टीको नेतृत्वमा रहेको ओली सरकार बिच भयंकर युद्द चलिरहेको छ । बितेका एक वर्ष यता पुरै देश, सरकार र पार्टीको विबादमा रुमल्लिईरहेको छ । न नेकपाले निकास पाएको छ न सरकारले ढुक्कसँग काम गर्न । तर देशले भने लामो समय देखि पार्टी र सरकारको यो विबादको मुल्य चुकाईरहेको छ । नेकपा भित्र प्रतिपक्षको भूमिकामा देखिएकाहरु मध्ये झलनाथ खनाल पनि एक हुन् । हुन त खनाल यो बिचमा त्यति चर्चामा छैनन् । तर प्रचन्ड-नेपाल गूटका मुख्य ‘कि मेकर’ यिनै हुन् । बिगत ८ महिना देखि नै खनाल निकै बेफूर्सदिला छन् । यो ८ महिनामा सायद यिनले ४ महिना बैठकमै बिताए । तरपनि बिवाद सुल्झिएको छैन । अझ, गत मंसिर ३० गतेको अध्यादेश काण्डले नेकपामा भूकम्प ल्याएको छ । नेपालप्लसले चर्चामा नदेखिएका तर अहिलेको बिवादमा चर्चा गर्नै पर्ने यिनै ‘कि मेकर’ झलनाथ खनालसँग छोटो वार्ता गरेको थियो । जहाँ उनले पार्टीको निर्णय नमाने प्रधानमन्त्री ओलीलाई कारवाही गरिनेतर्फ संकेत गरे ।

तपाईंहरुले प्रधानमन्त्रीसँग चाहेको खास के हो ?
-उहाँले नेकापाका कार्यदिशा, सिद्धान, विधी र पद्दतीहरुको परिपालना र पार्टीले गरेका निर्णयहरुको सम्मान गर्नुपर्छ भन्ने हाम्रो चाहना हो । तथा सरकारले पार्टीको घोषणा पत्र, निती, पार्टीको लक्ष्यलाई कार्यन्वन गर्नुपर्छ भन्ने हामीहरुको सोच हो । अर्को कुरा प्रधानमन्त्रिले आफ्नो गूटलाई मात्र होइन सबैलाई समेटर जानु पर्दछ । यत्रो पार्टीमा एउटा मात्र गूटलाई संचालन गर्दै जाने कुराले ठूलो समस्या सृजना गरेको छ । सिंगो पार्टीलाई देख्ने, सिंगो पार्टीलाई संचालन गरेर जाने, राष्ट्र र जनताको हितलाई सर्वोपरी राखेर जाने कुराहरुलाई प्रधानमन्त्रिले गम्भिरतापूर्वक लिनु पर्दछ । हामीले चाहेको त्यही हो उहाँ सँग । उहाँको निजी सम्पत्ति देशलाई दिनुहोस् भनेका होइनौं ।

तपाईंहरुले काम गर्नै दिनुभएको छैन । देश र जनताका लागि कसरी काम गर्ने त प्रधानमन्त्रीले ?

दुई तिहाई बहुमत प्राप्त गरेर हामीले प्रधानमन्त्रीको रुपमा उहाँलाई सर्वसम्मत रुपमा निर्वाचित गरेका हौं ! त्यति भएर पनि काम गर्न सकिन्न भने के गर्दा चाहिँ काम गर्न सकिन्छ त ?

तपाईंहरुले कहिले प्रधानमन्त्री छोड्, कहिले पार्टी अध्यक्ष छोड् भनेर र्याख र्याख पारिरहनु भएको छ । यस्तो टेन्सनमा कसरी काम गरुन प्रधानमन्त्रिले ?

पार्टीले गरेका निर्णयहरु नमाने पछी के गर्ने त ? पार्टीले बनाएको प्रधानमन्त्री भएपछी पार्टीका निर्णय मान्नु पर्‍यो । लागु गर्नुपर्‍यो । हामीले भनेको त्यहि हो । यो नमाने पछी छोड्नु पर्‍यो । हटिहाल्नु पर्‍यो भन्नै पर्छ । उहाँका ब्यक्तिगत निती लागू गरेर हुन्छ ? नेकपाका निती लागू हुनु पर्‍यो । नेकपाका निर्णय र कार्यक्रम लागू हुनुपर्‍यो । उहाँका ब्यक्तिगत कुरा लागु गरेर हुन्छ त ?

देश चलाउने मामिलामा हरेक कुरामा पार्टीको ‘डिक्टेशन’ आवश्यक हुँदैनन होला नि त ?

अहिले देश केपी ओलीले होइन नेकपाले चलाईरहेको छ । देश नेकपाको नितिका आधारमा चल्नुपर्दछ । देश मात्र होइन नेकपाका नेता कार्यकर्ता सबै नेकपाको नितिका आधारमा चल्नुपर्दछ । त्यो चाहे प्रधानमन्त्री होस, उपप्रधानमन्त्री होस्, सभामुख होस वा मन्त्री होउन् । नेकपाबाट निर्वाचित भएर गएपछी सबैले पार्टीको निती, कार्यक्रम र निर्णयहरु मान्नु पर्दछ । आफ्नो ढंगले चल्न पाईंदैन ।

प्रधानमन्त्री पार्टीले भने अनुसार चल्नु भएन । अब तपाईंहरुले के गर्नु हुन्छ त ?

उहाँ चल्नु भएन भने त्यस बारेमा पार्टी छ । पार्टीले आवश्यक निर्णय गर्छ ।

चल्नु भएन भन्दापनि उहाँ पार्टीको निती अनुसार नचलेर यत्रो हंगामा भएको छ, के गर्नुहुन्छ तपाईंहरुले ?

हामी यस बारेमा समिक्षा गरिरहेका छौं । देखिरहनु भएको छ नि अहिले कति समस्या खडा भएका छन् । ति सबै समस्या उहाँकै कारणले खडा भएका हुन् । हामीले छलफल गरीरहेका छौं । एउटा निष्कर्षमा पुगिन्छ । पार्टीले जे निर्णय गर्छ त्यहि हुन्छ ।

अध्यादेश काण्ड किन भयो ? कसरी लिनुभएको छ ?

अध्यादेश गम्भिर खतराको कुरा हो । संबिधान बिरोधी कुरा हो । त्यो हाम्रो पार्टीको र समग्र लोकतन्त्रको मर्म र भावना विपरित कुरा हो । हामीले तुरुन्त फिर्ता गर्नुस् भन्यौं । उहाँले फिर्ता गर्नु भयो । राम्रो गर्नु भयो ।

प्रधानमन्त्रीले अध्यादेश ल्याउने, तपाईंहरुले फिर्ता गर्नुस् भन्ने । देशलाई कहिलेसम्म डामाडोल अवस्थामा राखिरहनु हुन्छ तपाईंहरुले ?

हामीले होइन डामाडोल अवस्था बनाएको । प्रधानमन्त्रिलाई सोध्नुस् किन देशलाई डामाडोल बनाउनुहुन्छ भनेर ! फोन गर्नुस् उहाँलाई । मैले के जवाफ दिने ? तपाईंको यो प्रश्नको जवाफ दिने पक्ष भनेको प्रधानमन्त्री हो ।

राष्ट्रपतीले जुन स्पीडमा अध्यादेशमा मोहर ठोकेर पठाउनुहुन्छ त्यसलाई कसरी हेर्नु भएको छ ?

म अहिले तपाईंसँग राष्ट्रपतिको बारेमा टिप्पणी गर्न चाहन्न । राष्ट्रपतिको बारेमा टिप्पणी गर्नुपर्दा म अरु नै ढंगले गर्छु । तर अध्यादेश ल्याउने कुरामा प्रधानमन्त्रीले जुन हिसाबले भूमिका खेल्नु भो त्यो गलत छ ।

राष्ट्रपतिको बारेमा यत्रो विवाद भएको छ, तपाईंले बोल्दिन भनेर कहाँ हुन्छ ?

यो आम जनताले बोलिरहेका छन् । तपाईंहरुले बोलिरहनु भएको छ । त्यहि कुरा पर्याप्त छ ।

तपाईंहरुको कुरा पनि त्यहि हो ?

हामीले बोल्नै पर्दैन । अहिले यस विषयमा जनताले बोलिरहेका छन् । त्यहि हो हाम्रो कुरा ।

अनी नि, संबैधानिक परिषदको अध्यक्ष प्रधानमन्त्री ! अध्यक्षले बोलाएको बैठकमा सभामुख किन नगएको ? यस्तोपनि हुन्छ ?

त्यो सभामुखलाई सोध्नुस् किन नगएको भनेर । मलाई किन सोधेको ? उहाँ बैठकमा नजाने अनी जवाफ चाँही मैले दिनुपर्छ भन्ने पनि हुन्छ ?

तपाईंहरुको गुटको सल्लाह अनुसार नै नगएको रे त उहाँ बैठकमा ?

यो गलत कुरा हो । तपाईं पत्रकारहरु यहाँबाट मात्र नभएर युरोपबाट पनि खुराफाती कुराहरु फैलाउनुहुन्छ । यस्तो काम कृपया बन्द गर्नुस् । यस्तो खुराफातीले झन बिग्रिन्छ मुलुक ।

अब केपी ओलीलाइ अध्यक्ष वा प्रधानमन्त्रीबाट हटाउन के गर्दै हुनुहुन्छ ?

हटाउनु पर्छ वा पर्दैन भन्ने नेकपाको कुरा हो । नेकपाको केन्द्रिय कमिटी, स्थायि कमिटी र सचिवालयले गर्ने कुरा हो यो । पत्रकार सँग गर्ने कुरा होइन !

यो कुरा पत्रकारसँग कहिले गर्ने त ?

पत्रकारसँग कुरा गर्ने भनेको हाम्रो पार्टीले निर्णय गरेपछि मात्र हो । अहिले हतारो नगर्नुस् ।

तपाइँको प्रतिक्रिया