शनिबार, मंसिर ८, २०८१

प्रवासी नेपालीका चर्चित दुई उत्कृष्ठ पुस्तक : वनको वैभव र देश देशावर

निराजन श्रेष्ठ / स्विजरल्याण्ड२०७७ पुष २८ गते १०:०५

जीवा लामिछानेको किताव देशदेशावर पढें । उहाँकै यस अघिको प्रकाशित किताब ‘सरसर्ती संसार’ भने अडियोमा सुनेको थिएँ । उज्यालो रेडियो नेटवर्कको श्रुति संवेगमा फेला पारेपछि सुन्न थालेको थिएँ । २९ वटा शिर्षक भएको ‘सरसर्ती संसार’ तिन दिनमै सुनेर भ्याएँ । काम र परिवारपछि छुट्याइएको समयलाइ सदुपयोग गरि यति छिटो सुनेको किताव मध्ये यो पनि एक हो ।

श्रुति संवेगमा अचुत घिमिरेको मिठो र पारिलो लयका साथ मादल, तबला, मुरलीको ध्वनीले आनन्दको मिठो बुट्टा भरिदिएको छ । सुनीरहन मन लाग्ने जादु छर्कीए जस्तो लाग्यो उनको बोली । त्यसैले पनि होला, मैले त्यति छिटो सुनेर सकेको ।

निराजन श्रेष्ठ / स्विजरल्याण्ड

केहि समय पछि नेपाल लगायत युरोपको नेपाली समुदायमा परिचित ददि सापकोटाको वनको बैभव’ र जीवा लामिछाने को ‘देश देशावर’ ले टूलो स्थान लिएको सुनें । पढ्दै गरेको अरु किताव पनि पन्छ्याएर यी किताव पढ्न मलाइ सारै हतार भयो । ददि सापकोटाले त्यो नेपाल, दुखेको युरोप, पन्छी जगत र वनको बैभव गरि अहिलेसम्म चार पुस्तक प्रकाशन छन् । उहाँको लेखाइप्रति धेरैजसो पाठकहरु आकर्षित हुने गर्छन् । मैले उहाँबाट पत्रकारिता क्षेत्रमा धेरै सिक्ने मौका पाएको छु ।

नेपाल प्रति फ्रान्सेलीहरुको अनुभव रहेको “त्यो नेपाल ” र एघार देशमा रहेका अट्ठाइस नेपालीको कहरलाइ “दुखेको युरोप” मार्फत उजागर गरिदिएको पाउन सकिन्छ । दुखेको युरोपमा बिदेशिएका वा बिदेशिन बाध्य भएका नेपालीहरुको ब्यथाले प्रत्येक नेपालीको मन छुन्छ । यी दुबै किताबबाट ददि सापकोटाको नाम अझ व्यापक रुपमा प्रचलित हुन गयो ।

भर्खर मात्र प्रकाशित ‘वनको बैभव’ सारै रोचक र ज्ञानबर्दक रहेछ । थोरै समय पाउँदासाथ पढुँपढुँ लागिरहने किताब मध्ये यो पनि एक हो मेरो लागि । काम गर्दा उब्रेको थोरै समयमा किताब पढ्ने मेरो बानी हो । मेरो पढ्ने समय भनेकै काममा रहँदा हो ।

सायद प्रकृति र जनावरका बिषय मलाइ सारै मनपर्ने भएर पनि होला, यो किताव पढ्न मलाइ रोचक लागेको । कमिलादेखि हात्तीसम्म । घर पालुवादेखि जंगली जनावरसम्म । उड्ने देखि पानीमा बस्नेसम्मको आनीबानी अचम्मकै हुँदो रहेछ भन्ने स्पष्टसँग किताब पढेपछि मात्र थाहा पाएँ । हुन त कहिलेकाहिँ जीवजन्तुले गरेका क्रियाकलाप नियाल्दै आफूले आफैंलाई प्रश्न गर्ने गर्थें । के गर्न खोज्दै छन् यिनले ? के कुरा गर्दै होलान ? केका लागि झगडा गर्दै छन् ? इत्यादि भनेर । बल्ल थाहा भयो “वनको वैभव” पढेर ।

मान्छेले मात्रै मनदेखि यौनसम्म उपद्रो गर्छन भन्ने विश्वास गरेको थिएँ पहिले । तर हैन रहेछ । जनावरहरु पनि कमका चाहिँ हुँदा रैनछन् भन्ने कुराको भ्रम मेटियो । यौन, प्रेम,माया, ममता, बलात्काअरका विषयमा त जनावरहरु झनै खप्पिस पो हुने रहेछन् । जिवजन्तुका यस्ता अचम्मै लाग्ने, रोचक र कौतुहलपूर्ण वानी ब्यहोराबारे वनको वैभवले पढौं पढौं लाग्ने शैलीमा बाहिर ल्याइदिएको छ ।  ददि सापकोटाले प्रत्येक पटक नयाँ र रोचक विषयमा किताव प्रकाशित गरेको देख्दा कहिलेकाहिँ लाग्छ, कसरि यस्ता विषयमा लेख्न सकेका होलान् ।

जीवा लामिछानेको ‘देश देशावर’ को प्रशंसा सुन्दा लाग्थ्यो, सायद गैर आवासीय नेपाली सघंका चर्चित व्यक्ति भएकाले पनि होला यति धेरै कितावको प्रशंसा र प्रचारप्रसार गरिएको । तर किताब पढेपछि म आफैं गलत भएको महसुस गरें ।

कितावमा आफ्नो यात्राको अनुभव, गएका बिभिन्न देशहरुको इतिहास र जानकारी सहित केहि रमाइला र मनोरन्जनात्मक विषय रहेकोलेपनि यो कितावलाई ज्ञानबर्दक र संदेशमुलक बनाएको छ ।

नेपालीहरुले अफ्रिकी मुलुकहरुको नाम लिँदा हेरिने दृष्टिकोणलाइ चिरेर सकारात्मक देखाउन खोजेको छ । अफ्रिकाका सकारात्मक र भुलिएका पाटाहरु यसमा उल्लेख छन् । बिकास र परिवर्तनका लागि गरिएका क्रान्तिले छाडेका अवशेष, देशका प्राचिन, ऐतिहासिक सम्पदा र विभिन्न श्रोतलाइ संरक्षण, सदुपयोग र प्रयोग गरे पर्यटकिय आकर्षणलेनै देश बिकास गर्न सकिने ज्ञान र संदेश छ यो पुस्तकमा । देश र जनतालाइ मध्यनजर राख्दै पदको मर्यादालाइ आत्म मनन् गरेर राजनीतिक व्यक्तित्वहरुले आफ्नो काम कर्तब्य गर्दा के हुन्छ भन्ने खालका धेरै संदेश यस किताबमा भेटिन्छ ।

नेपाल प्रति नेपालप्रेमी बिदेशी हेरिबेर्ट हुन् या स्वदेशी कुलमान घिसिङ र महाबिर पुन जस्ता होउन् । यस्ता व्यक्तित्वहरुले देशप्रति गरेको देनलाइ कदर गर्नु आवस्यक छ । तिनको देन, ज्ञान र सिपलाई पहिचान गरेर, खोजेर र बुझेर सम्मान गर्नु आवस्यक छ । त्यसो गर्दा भविष्यमा झन धेरै देन दिन सक्छन्, आड र भरोसा दिन्छन् भन्ने सकारात्मक संदेश पनि यहि पुस्तकमा भेतिन्छ । देश भित्र रहेका सानो होस् या ठूलो लगानीमा खुलेका आफ्नै ब्यवसायलाइ सरकारले महत्व र राम्रो सुरक्षा दिए देशको आर्थिक स्थिति बढ्न धेरै समय लाग्दैन भन्नेपनि यो किताबले देखाउन खोजेको छ ।

किताव पढ्दा मानिस आफ्नो निजि र राजनीतिक स्वार्थको पछाडी लाग्नाले क्रान्ति र क्रुरताले निम्त्याएको जंगली जनावर प्रतिको दुखद कुराले कहिले दुखित बनाउँछ । कहिले श्रीलंकाको खानाले कानबाट धुवाँ निक्लेको कुराले हसाउँछ । सबै कुराको मिश्रणले गर्दा कितावको वजन बढेको छ ।

जीवा लामिछानेको नेपालमा राजनीतिक, व्यवसायीक र देशका अन्य क्षेत्रका व्यक्तिहरुसँग राम्रो घुलमिल रहेको छ । सबैले यो किताव पढेर आफ्नो पदको जिम्मेवारी सम्हाल्दै देशका लागि केहि गर्लान् भन्ने आसा किन नगर्ने ?

यसो भन्दैगर्दा मलाइ भने कितावमा जीवा लामिछानेले आफ्नो यात्राको व्यक्तिगत अनुभवका कुरा भने अझै खुलेर नलेखेको हो की भन्ने लागिरहेको छ । ज्ञानका कुरा, संदेशका कुरा र जानकारीका साथसाथै अझै बढी आफूले गरे र भोगेका व्यक्तिगत कुरा लेखिएको भए सुनमा सुगन्ध हुन्थ्यो कि ? किनकि यो नियात्रा भएकाले । हुन त आफूले कमाएको नाम र चर्चाले गर्दा पनि भोगेका र गरेका कुरा खुलेर लेख्न अलि रोकेको हो कि ?

समग्रमा वनको वैभव र देश देशावर प्रवाशमा बसेर कलम चलाउने लेखकका दुई बलिया पुस्तक हुन् । दुई फरक विधाका यि पुस्तक आआफ्नो विधामा धेरै महत्वपूर्ण र रोचक जानकारि दिन्छन् ।

तपाइँको प्रतिक्रिया