धार्मीक नेताको भेषमा रुपान्तरित कम्युनिष्ट नेता ओली !
भारतको विवादित कर्पोरेट मिडिया जि न्यूजका पत्रकार सुधिर चौधरी र ग्राभीटास कार्यक्रमकी पाल्की शर्मासँग विविध विषयमा नेपालका प्रधानमन्त्रीले गरेको वार्तालाप अहिले नेपालमा निकै चर्चाको विषय बनेको छ ।
हिन्दी र अंग्रेजी भाषामा लिइएका अन्तर्वार्ताको क्रममा नेपालका प्रधानमन्त्रीले हिमवत्खण्डको व्याख्या, भारतवर्षको अस्वीकृति, नेपालको महिमामण्डन, कालापानी लिम्पियाधुराकासाथै प्राचिन नेपालका अनेकौं सन्दर्भमा व्याख्या र विवेचना गरेका छन् । याज्ञवल्क्य, गार्गीकालीन विद्वान सभादेखि उनले पौराणिक हिमवत्खण्डको व्याख्या गरेको सुनेर यस्तो लाग्छ, ओलीजी महापण्डित नै रहेछन् । मन्त्रमुग्ध भएर सुनिरहेका धेरै मानिसहरुले ओलीको ज्ञान र विवेकको अपार प्रशंसा मात्रै होइन, यसरी शीर ठाडो पारेर सिमाना मिचिएको कुरा अहिलेसम्म कुनै प्रधानमन्त्रीले गरेको थिएन भनेर सामाजिक सन्जालमा ओली जिन्दावादको नारा घन्काइरहेका छन् ।
यसरी नारा लगाउने धेरैजसो नेकपा ओली समूहका कार्यकर्ता र चिनिएकै राजावादीहरु छन् । राजतन्त्र आइदिए हुन्थ्यो भन्ने कांग्रेसीको एकसरो असन्तुष्ट समूहपनि ओलीको जयगानमा व्यस्त भैसकेको छ ।
राजनीतिशास्त्रका पण्डितहरु भन्ने गर्छन् राजनीतिमा जे देखिन्छ, त्यो सत्य हुँदैन । जे भित्र भित्रै सल्किँदै गरेको हुन्छ, त्यो देखिँदैन । ओलीको सतहमा देखिएको राष्ट्रभक्ति, पूर्वीय दर्शन र संस्कृतिको अपार ज्ञान र तीन करोड नेपालको भाग्य निर्माण गर्ने जनताको सार्वभौमथलोको बध पछिको निर्भिकपूर्ण अभिव्यक्तिले केही कुराहरु प्रति निश्चय नै संकेत गरेको छ ।
पहिलो कुरा त सुधिर चौधरी भारतीय सरकारका प्रतिनिधि भएर हाम्रा प्रधानमन्त्रीसँग वार्ता गर्न आएका होइनन् । उनी एक पत्रकार हुन् । एउटा निजी कर्पोरेट हाउस जसको मूल ध्येय भारतीय जनता पार्टीको एजेण्डाको प्रचार गर्नु हो र नाफा कमाउनु हो, त्यसका विवादित पत्रकारसँग गरिएको सामान्य वार्तालाप मात्रै हो । एकजना पत्रकारसँग गरिएको कुरालाई सिंगो भारत सरकारसँग गरिएको ठूलै वार्ताको रुपमा बुझिनु र विजयको उल्लास मनाइनु आफैंमा अल्पज्ञान हो । सत्यतथ्य नबुझीकन र विषयका
अनेकौं आयामतिर नसोंचिकन सत्ताले डोर्याएको बाटोमा कोहि पनि सचेत नागरिक हिंड्दैन । हिंड्नु पनि हुँदैन । राज्यसँग प्रश्नहरु गर्नुपर्छ । सचेत नागरिकले औंला उठाइरहनुपर्छ ।
जी न्यूज नै किन ?
नेपाल कम्युनिष्ट पार्टीको निर्देशन अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले जब लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटेर नक्शा जारी गरे, जी न्यूज यहि च्यानल हो जसले नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छीको चरित्रसँग जोडेर प्रधानमन्त्री ओलीको खेदो खन्यो । उसले नैतिक मान, मर्यादाको ख्यालै नगरीकन मनपरी बोल्यो । अतिसह्य भएपछि नेपालका केबल नेटवर्कहरुले भारतीय च्यानलहरु बन्दै गरेर देशप्रेमको उदाहरण प्रस्तुत गरे । चीनको उक्साहटमा नक्शा जारी गर्ने, चिनियाँ राजदूतको मोहपाशमा परेको जस्ता नानाथरी लेख्नै र बोल्नै नमिल्ने शब्दावलीको प्रयोग गरेर हाम्रा प्रधानमन्त्रीको हुर्मत लिएको ६ महिना नबित्दै बालुवाटारको ढोका यिनै विवादित मानिसहरुलाई किन खोलियो ?
सुधिर चौधरी यस अघि नै सय करोड काण्डमा अडियो टेप नै बाहिर आएर छानविनमा परेका व्यक्ति हुन् । भारतमा नेपाल भारत सम्बन्धका जानकार वर्षौंदेखि लेखिरहेका, सुनिरहेका र सुनाइरहेका पत्रकारहरु छँदाछँदै बालुवाटार कोटरीले किन सुधिर शर्मालाई रोज्यो । जी न्यूजका मालिक भारतको उपल्लो सदनमा भारतीय जनता पार्टीको तर्फबाट संसद सदस्य रहेको तथ्य कसैबाट छिपेको छैन । यसैबाट साधारण मानिसले पनि भारतीय कुटनीतिबारे अनुमान लगाउन सक्छ । अन्तर्वार्तामा प्रस्तुत सुधिर चौधरी जी न्यूजका होइनन्, उनी कुनै प्रायोजित विषयवस्तुमा चुपचाप टाउको हल्लाउने सहमतिका साथ काठमाडौं ओर्लिएको सहजै बुझ्न सकिन्छ ।
प्रधानमन्त्री ओलिद्वारा हठात रुपमा गरिएको संसद बिघटनको मुद्दा गणतन्त्रको निम्ति आवाज बुलन्द गरेको बुद्धिजीवी, नागरिक समाज, पत्रकारहरुले आवाज चर्काइरहेको बेला, यहि मुद्दा सर्वोच्च अदालतमा विचाराधिन रहेको बेला । किन भारतीय कर्पोरेट च्यानलमा भारत र चीनको बीचमा समन्वयकारी भूमिका खेल्छु भनेर ठूला गफ गर्नुपर्यो ओलीले ? स्वयम् नयाँ जारी गरिएको नक्शालाई स्कूलको पाठ्यक्रममा सामेल नगराउन आदेश दिइरहेका छन् । यदि ओली साँच्चिकै राष्ट्रवादी हुन् भने किन उनले स्कूलको पाठ्यपुस्तकमा सामेल गराउन सक्दैनन् नेपालको नयाँ नक्शा ? नक्शा छपिएका कितावलाई बिच बाटोमै थन्क्याउनु कस्तो खाले राष्ट्रबाद थियो ? र अहिले विषयान्तर गर्नको निम्ति झट्ट हेर्दा भारतको विरोध गरे जस्तो पनि देखिने तर भित्रभित्रै भारतीय संस्थापनको योजना अनुरुप ओलीले राष्ट्रवादी नेताको नयाँ अवतारको रुपमा आफूलाई पेश गर्न नै यो जी न्यूज रोजेको कुरा सहजै बुझ्न सकिन्छ ।
मोदी डाक्ट्रिनको नेपाली भाष्य
नेपाली र अंग्रेजीका दुवै अन्तर्वार्तालाई गहिरोसँग हेर्दा के बुझ्न सकिन्छ भने उनमा अब कम्युनिष्ट आन्दोलनसँग कुनै मोह छैन । उनी नेपालको कम्युनिष्ट आन्दोलनबाट धेरै पर अध्यात्म, दर्शन र हिन्दूत्वको भेग विषयमा पुगिसकेका छन् । भारतमा मोदीले हिन्दू राष्ट्रवादको मूल ग्रन्थ सावरकरको हिन्दूत्वलाई मानेको छ । प्रधानमन्त्री ओलीले पनि सावरकरको हिन्दूत्वको मूल नाराको नेपाली भाष्य निर्माण गरिसकेका छन् । त्यो भाष्यको आभा उनले अन्तर्वार्तामा दिएका छन् ।
ओलीले अन्तर्वार्ताको शुरुमै भनेका छन्, ‘उनी कार्यकारी प्रधानमन्त्री होइनन् ।’ संविधानको कुन चाहिं धाराले भनेको छ- आफूले विघटन गरेर जब आफैं प्रतिनिधिसभाको सदस्य भइन्न, तब उसँग पूरा प्रधानमन्त्रीय अधिकार रहन्छ भनेर ? पूरै मिचाहा र फासिवादी शैलीमा राष्ट्रपतिको नांगो समर्थनमा चलिरहेका ओलीलाई अब कुनैपनि संविधानका धारा उपधाराले छुने अनुभूति नै छैन । उनी राज्यसत्ताको सम्पूर्ण रुपमा दुरुपयोग गरेर एकछत्र आफ्नो अधिपत्य जमाउन आतुर छन् ।
ओली समूहका व्यक्तिहरु आफ्ना विपक्षीहरुको तेजोबधका निम्ति खटिएका दृष्टान्तले नै यो सबको तस्वीर बताइरहेको छ । स्वयं ओलीले आफ्नै पूर्व सहकर्मीहरु माधव नेपाल र प्रचण्डलाई ‘मरेको भए श्रद्धान्जली दिन आउने थिएँ’ भन्ने तहको भाषा प्रयोग गरेपछि अरु केहि सोंच्नै परेन । उनीहरु भौतिक, मानसिक र सबै रुपमा असहमतहरुको सफायामा उद्दत रहनेछन् भन्ने कुरा आगामी दिनमा देखिनेनै छ ।
सेना, प्रहरी र सत्ताका सबै ठाउँमा आफ्नो कब्जा जमाइसकेपछि उन्मत्त सत्ताधारीहरुको गतिविधि हेर्न सुनौली पारी पुगेहुन्छ जहाँ केही महिना अघि अतिवादीहरुले घरभित्रै थुनेर पत्रकारलाई ज्यूँदै जलाएका थिए । केही गरी प्रतिनिधिसभा पुनर्स्थापना भइहाल्यो भने पनि मोदी डाक्ट्रिनको नेपाली संस्करण तयार पारेर राजावादी, हिन्दूवादी र आफ्ना गूटका मानिसहरु भेला पारेर ओलीले भारतीय जनता पार्टीको नेपाली संस्करण निकाले भने अचम्म नमाने हुन्छ ।
नक्कली राष्ट्रवाद : लहरो एमसीसीसम्म
केपी ओली सरकारमा गएदेखि अहिलेसम्म नेपालको नक्शाको अद्यावधिक लगत राख्ने, सिमामा सुरक्षा चौकीहरु मजबुत बनाउने र आफ्नो सिमाको सुरक्षाको निम्ति बलियो संयन्त्र बनाउनेतिर कहिल्यै सोचेनन् । यस बारेमा कुनै पनि कार्यक्रम आएन । सिमानामा बस्ने जनताहरुले आफ्नै बलबूतोमा नेपाल राज्यको सिमाना जोगाउनुपर्ने वाध्यता यतिबेला छ । काठमाडौंमा बसेर नेताहरुले त नक्शामा गुमेको भूभाग पनि ल्याइसके । भएको जमीन जोगाउन भारतीय सिमाना प्रहरीको गोली खाएर गोविन्द गौतम जस्ता धेरै नेपालीहरुले ज्यान गुमाएको सरकारले थाहा पाएर पनि नपाए जस्तो गरिरहेको छ । टेलीभिजनमा निकै चर्का राष्ट्रवादका कुरा गर्ने ओलीले किन
सिमानाको रक्षाको निम्ति विशेष फोर्स तयार गर्न सक्दैनन् ? प्रचण्डलाई दोष दिएर नेपालको आन्तरिक राजनीतिमा सदैव हस्तक्षेपकारी भूमिका खेल्ने भारतका बारेमा केही पनि नबोल्नु उनको अर्को चतुर्याइँ हो ।
टोप बहादुर रायमाझीले त मन्त्री हुनासाथ भनिसके, जतिसक्यो चाँडो अमेरिकी सहायता रकम ल्याइहाल्नुपर्छ । एमसीसी पास गरिहाल्नुपर्छ । अब जतिसक्यो चाँडो यो सरकारले एमसीसीका मागहरु पूरा गर्नेछ । त्यसो भयो भने प्रतिनिधि सभा विघटनको कू लाई परोक्ष रुपमा साथ दिइरहेका भारत, अमेरिका र युरोपेली युनियनको ओलीलाई साथ रहिरहनेछ । कथम् अदालतले संसद ब्यूँताएन भने मुलुकमा जुन नयाँ द्वन्द्वको आगो बल्नेछ, त्यहि आगोमा ओलीको सत्ता लम्बिंदै जानेछ । यसो भयो भने, नेपाललाई सदैव अस्थिर राख्न चाहने भारतीय रणनीति र नेपालको अस्थिरतामा चीन कमजोर बनाउने अमेरिकी योजनाले मूर्तता पाउनेछ ।
सर्वसत्तावादको घोंडामा सवार ओलीले आफ्नो विचारसँग असहमत जनताका प्रतिनिधिप्रति गरेको दुर्व्यवहार, दुर्वचन, निन्दा र जतिसक्दो दमन गरेर जाने रणनीतिको संकेत जो छ, त्यसलाई महाज्ञानी र पौराणिक ज्ञानका ज्ञाताको आवरणमा राष्ट्रवादीको मुकुट पहिर्याएर फेरि उपयोग गर्ने रणनीतिको पहिलो श्रृंखलाको रुपमा यो अन्तर्वार्तालाई बुझ्नुपर्दछ । अब यसैगरी यस्ता कहानीहरुका बाँकी भाग हेर्न नेपाली दर्शक तयार भएर बस्दा हुन्छ । किनभने शासकहरुले नेपाली मनोविज्ञानलाई कसरी निस्तेज पार्न सकिन्छ भन्ने कुरा राम्रोसँग बुझेका छन् ।