बेलायतका लागि सिफारिस राजदूत रेग्मीले भने: ‘मलाइ कुटनीतिक तालिम चाहिन्न’

बेलायतका लागि नवनियुक्त राजदुत लोकदर्शन रेग्मी
कुनै मुलुकको राजदूत नियुक्त भएर जानुअघि सबैभन्दा सुरूमा अनिवार्य तवरमा लिनैपर्ने कूटनीतिक प्रशिक्षणमा बेलायतका लागि नवनियुक्त राजदुत लोकदर्शन रेग्मीले सहभागिता जनाउन अस्विकार गरेका छन् । नवनियुक्त कूटनैतीक नियोग प्रमुखहरुका लागि आयोजना हुने यस्तो प्रशिक्षण अनिवार्य भनिएको छ । तर रेग्मीले यो प्रशिक्षणमा सहभागी हुन इच्छा देखाउनु भएन- परराष्ट्र मन्त्रालयका एक अधिकारिले बताए ।
यस्तो प्रशिक्षणमा कसरी कुटनीति संचालन गर्ने, कसरी काँटा-चम्चा चलाउने, टाइ-सुटको म्यानरदेखि बोलीचाली तथा व्यवहार सम्मका कुराहरू समेत जोडिएका हुन्छन् । तर, पूर्वमुख्य सचिव एवं हाल ओली सरकारको निगाहबाट बेलायतका लागि राजदुत नियुक्त रेग्मीले कूटनीतिक प्रशिक्षण लिन ठाडै अस्वीकार गरेका छन् । परराष्ट्र मन्त्रालयले उपलब्ध गराउने प्रशिक्षणमा सहभागी हुनुको अर्थ र औचित्य नरहेको भन्दै रेग्मीले आफूलाइ कुनै प्रकारको तालिम जरूरी नरहेको बताएका छन् ।
रेग्मी मुख्य सचिवबाट अवधी सकिनु डेढमहिना अघि रजिनामा दिएर ओली योजनाको समर्थन गर्दै मोलमोलाईको बजारमा आएका थिए । त्यसै अनुरुप उनले गत १५ असोजमा मुख्यसचिव पदबाट राजीनामा दिएका थिए । राजिनामा गरेकै दिन ओली सरकारले बेलायतको लागि राजदूत सिफारिस गरेको थियो । त्यसबेला प्रधानमत्री ओलीकै चाहनामा रेग्मीको ठाउँमा परराष्ट्र सचिव शंकर बैरागी मुख्य सचिवका रूपमा पदस्थापन भएका हुन् । मन्त्रालयका एक जना अधिकारी भन्छन- परराष्ट्र मन्त्रालयको पटक पटकको आग्रह पछीपनि उहाँ प्रशिक्षणमा आउनु भएन ।
रेग्मीसँगै राजदूत सिफारिस भएका पूर्वअर्थमन्त्री डा. युवराज खतिवडा (अमेरिका) र डा. निर्मल विश्वकर्मा (दक्षिण अफ्रिका) भने प्रशिक्षणमा सहभागी छन् ।
आइतबार देखि आरम्भ भएको ३ दिने प्रशिक्षणमा कूटनीतिक डिलिङ, नेपालको प्राथमिकता, प्रोटोकल, आर्थिक कुटनीती लगायतका मामलामा छलफल-बहस चल्नेछ । परराष्ट्र मन्त्रालय अन्तर्गतको परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान (आईएफए) ले यो तालिम दिने गर्छ ।
‘यो आफैंमा मर्यादाहीन कुरा हो,’परराष्ट्रका एक सहसचिव भन्छन्— ‘जतिसुकै माथिल्लो ओहदामा रहेको भएपनि वर्तमानमा उहाँ बेलायतको लागि नेपाली राजदुत मात्र हो । जुन प्रोटोकलको आधारमा सहसचिव स्तरको हो ।
‘पद र प्रभाव बढाउनकै लागि मरिहत्ते गरी राजदूत बनेर गएका रेग्मीलाई कसले तह लगाउने ? ति सहसचिवको गुनासो छ ।
यसैसित संवन्धित तलको समाचारपनि पढ्नुस्