बिहीबार, वैशाख २०, २०८१

फ्रिजभित्र ५० हजार यूरो भेटिएपछि

नेपालप्लस न्युज डेस्क२०७७ माघ १२ गते २३:१४

फ्रान्समा अहिले रातको समय कोरोनाको कारण कर्फ्यू लागेको छ । जनवरी २५ को मंगलबार राती सेन ए मार्ने शहरमा यौटा युवक विना मास्क लखर लखर बाटोमा एक्लै हिँडिरहेको अवस्थामा भेटियो । २८ वर्षिय ती युवकले जाडोमा बाक्लो ज्याकेट लगाएका थिए । तर अघिल्तिर ज्याकेट भुक्क उठेको थियो ।

रातमा हिँड्न मनाही गरिएको समयमा यसरी नियम उल्लंघन गरेको देखेपछि पुलिसले ती युवकको खानतलासी लिए । भुक्क उठेको जिनिस त लगभग दुई किलो जति चरेस रहेछ । खल्तीमा साना ठूला नोठ गरी चार हजार पनि भेटियो । केटाको मुखबाट गाँजाको ह्वास्स गन्ध आएको थियो ।

केटालाई हत्कडी लगाएर घर जाँदा भान्सामा यौटी २६ वर्षकी तरुनी बडेमानको स्वरमा गीत लगाएर नाचिरहेकी भेटिइन् । पुलिसले खानतलासी लियो कोठाको । चरेसका ससाना पोका, चरेस बनाउन उपयोगी हुने सामानहरु, अलि अलि गाँजा भेटियो । ती दुबलाई पक्रेर पुलिस थाना लग्यो ।

घरको खानतलासी लिने बेला फ्रिजमा त्यति राम्रोसँग पुलिसले हेरेको थिएन । ती युवतीले केरकारको क्रममा फ्रिजभित्र पैसा पोको पारेर राखेको सूचना दिइन् ।

फेरि पुलिस फर्केर ती युवकको कोठामा आएर फ्रिजका सामान एक एक गरेर हेर्यो । नभन्दै प्लाष्टिकमा पोको पारेर राखेको पैसाका मूठा भेटिए । पुलिस थानामा लगेर गनेको ५० हजार यूरो पो पुग्यो । नेपालीमा हिसाब गर्दा आधा करोड भन्दा माथि नै हुन्छ ।

लामो समयदेखि चरेस बेपारमा लागेका यी युवक अहिले थुनामा छन् । पैसा पुलिसले सरकारको खातामा जम्मा गर्नेछ । ती युवतीलाई भने साधारण केरकार गरेर फिर्ता पठाइदिएको खबर ल पारिजियँ पत्रिकाले छापेको छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक