नेपालमा चलेको अर्को एउटा नाटक
एउटा गित, यसअघि पनि शायद धेरै पटक मैले उधृत गरे हुँला ।
फेरि पनि गर्दैछु –
कती हेर्नु नाटक,
देखाउने उनै हुन,
उनै थिए, उनै छन्,
रहने उनै हुन ।
भोटै खसालेपनी, पाउने उनै हुन
संसद बोलाए नी, आउने उनै हुन ।
उनै थिए, उनै छन्, रहने उनै हुन् ।
…….नगुर्नस भो गाली, मैले पनि नमस्ते चढाउने उनै हुन् ।
नेपालको राजनीतीक सन्दर्भमा ठयाक्कै मिल्ने यो भन्दा कालजयी गित मैले आजसम्म सुनेको छैन । पढेको छैन ।
यो गित चटयांग माष्टरले लेखेको र धिरेन्द्र प्रेमर्षिले गाएको जस्तो लाग्छ । तर म निश्चीत भने छैन । अन्यथा पर्न गए माफ गर्नुहोला ।
खैर, म यहाँ यतिबेला गित लेख्ने र गाउनेको वर्णन गर्न खोजीरहेको छैन । म त त्यो गित भित्रका नाटकका पात्रहरुलाइ सम्झिरहेको छु । र देखिरहेछु, जो हिजो पनि थिएँ । आज पनि छन् । र भोलीपनि रहने छन् मृत्यु नभएसम्म । अन्यथा नसोच्नुहोला– नेपालका नेताहरुको शायदै मृत्यु हुन्छ । मरुन भन्ने कामना गरेको होइन । उनीहरु कालजयी जस्तै देखिन्छन् नेपाली राजनीतीमा । यसैले त नाटकमा पटक पटक यीनै दोहोरी वा तेहेरी रहन्छन् । गाली त, मलाइ पनि गर्न मन छैन । किनभने गितमा भनीए जस्तै मैले पनि नमस्ते चढाउने उनै हुन् ।
तर कहिलकाहिँ दिमागमा आउँछ– के ती नमस्तेका लायक थिए र छन् ?
दिमागको कुनै कुनाले भन्छ– ती, नमस्तेका पनि लायक थिएनन् र छैनन् ।
समयक्रममा साँच्चीकै यस्तो हुन्छ– ती नमस्तेका लायक रहँदैनन् । तर मलाइ नमस्तेको बानी परीसकेको छ ।
र त, म वा तपाइ हामी नमस्ते गर्छौं । तपाइ हामी बिर्सन्छौं– ती मात्रा अभिनय गरिरहेका छन् ।
नेपालका नेताहरु किन किन मलाइ हिन्दी चलचित्रका हिरोहरु जस्ता लाग्छन, जो ठुलो भिरबाट नदीमा हामफाल्छन । र फेरि व्युँतीएर आफुले मनपराएकी युवतीलाइ प्रेम गर्न आइपुग्छन् ।
यो वा त्यो को कुरै छैन । अहिलेका नेपालका प्रधानमन्त्री के पी ओली, जसलाइ महाकाली सन्धीताका नेपालकालागि भारतीय राजदुत के.भी. राजनले लाजीम्पाटमा एकदुइ घण्टा कुराइदिन्थ्ये । उनै के पी ओली, पुष्पकमल दाहाल, माधब कुमार नेपाल, शेरबहादुर देउवा, बामदेब गौतम वा जो कोही होऊन, यी क्रमश हिजोआज हिन्दी चलचित्रका हिरो वा कुनै कच्चा लेखकले लेखेको नाटकको पात्र जस्तो बन्दै गैरहेका छन् ।
उनाीहरुले बोल्ने डाइलग, उनीहरुले गर्ने अभिनय र हाउभाऊ । हेर्नुस त, कती मिल्दो छ – असीको दशकको हिन्दी चलचित्रका हिरोहरुसँग ? असीको दशकका हिन्दी चलचित्रका हिरोहरु, जो अस्वाभाविक चरित्र निर्वाह गर्दथे । हो कि क्या हो भने जस्ता डाइलगहरु बोल्थ्ये । र दर्शक सिठठी बजाउँथे ।
म आज नेपालको राजनीतीका पात्रहरुमा किन किन ठयाक्कै त्यहि दुरुस्त, असीको दशकका हिन्दी चलचित्रका हिरोका रुपहरु देखिरहेको छु ।
दर्शक देखेर पो मलाइ ताजुब लाग्छ । ती हेरेका हेर्यै छन । ती कहिले दरबार मार्ग, ती कहिले खुलामन्चमा, उसैगरी खडा छन । दर्शक अर्थात नेपाली जनता कती नअघाएका होलान उनै खलपात्रहरुका एकै खालका नाटक हेरेर ? न कुनै नयाँ पन, न कुनै सृजना ? तैपनी, ती किन झुम्मिएका होलान ? तैपनी किन सिठठी बजाएका होलान ?
कोही भन्छन– जसरी पात्रहरु बिकेका छन, उसैगरी दर्शकहरु पनि किनिएका छन । दरबार मार्गमा आउनेहरु किनीएका हुन । खुलामन्चमा आउनेहरु पनि किनीएका थिए । बसको टिकट , पुलाउ र अलीकती पैसा ।
तर मलाइ किन किन दर्शक अर्थात जनतालाइ किनीएका भन्न मन छैन । ती त बिचरा, जिवन गुजाराको चक्करमा छन् । कसैले केही दिन्छु भन्यो, खर्च टर्छ भन्ने ठाने, आए । नाटक हेरे, गए । दोष त तीनीहरुको हो, जसले आफनो बिरुप चित्र र नांगो स्वरुप देखाउन निर्दोष मान्छेहरुलाइ ल्याए र पसारो पारे ।
हुनत, यस्तो पनि हुन सक्छ– दर्शकहरु, नाटकका पात्रहरुका नांगा रुपहरु हेर्न ओइरहेका हुन् ।
हलीउडको एउटा चलचित्रमा एउटा सन्दर्भ छ – चलचित्रमा कोही एक जानेमाने पात्रको मृत्यु हुन्छ । दाहसँस्कारमा हजारौं मान्छेहरु उपस्थित हुन्छन् । मृतकमाथि अली बढी नै सहानुभुती राख्ने एकजना सहभागीले दाहसँस्कारमा उर्लीएका मान्छेका संख्यालाइ लीएर मृतकको प्रख्यातीको तारीफ गर्छ । बिचैमा कोही एउटाले डाइलग मार्छ– “यत्रा मान्छेहरु, उसको मृत्युको शोक मनाउन आएका होइनन्, यि मान्छेहरु यसकारण आएका हुन कि उनीहरु निश्चीत गर्न चाहन्छन– साँँच्चीकै उ मर्यो कि मरेन भनेर । निश्चीत भएपछि उनीहरु ढुक्कले घर फर्कनेछन ।”
आज नेपालमा भैरहेका सभा र प्रदर्शनहरुमा देखिएका भिड कतै हलीउडको फिल्मको जानेमाने पात्रको दाहसँस्कारमा उपस्थित भिड जस्तै त होइन, जो उही जानेमाने पात्र मर्यो भन्ने निश्चीत गर्न चाहन्छ । र ढुक्क भएर घर फर्कन चाहन्छ ? फेरि पनि कृपया अन्यथा नलिनु होला, म कसैको मृत्युको कामना गरिरहेको छैन ।
म यत्ती मात्र चाहन्छु– उहि, सधैंको उस्तै खालको नाटकको अन्त्य होस । ती नाटकका पात्रहरु अब नदोहोरीऊन् ।
नेपालका राजनीतीक पात्रहरुप्रती सधैं मलाइ शंका छ । तर बिचरा दर्शक ? कतीले ती पात्रै चिन्दैनन् । त्यस्ता दर्शकहरुलाइ कसरी म शंका गरौं ? कसले ? कुन दिन ? कुन विषय वा कुन बखेडा झिकेका कारण नेपाल आज फेरि भुमरीमा परेको छ, मलाइ खोतल्नु छैन । को दोषी वा को निर्दोष छ ? छुटयाउने, म को हुँ र ? म यत्ती मात्र जान्दछु– नेपाल फेरि कतै भुमरीमा छ । यो भुमरीमा कसले पार्यो ? मलाइ किटान गर्नु छैन ।
नाटकलाइ कसले कमजोर बनायो ? खोल्दै गरौंला । लेख्नेले बिगार्यो, वा निर्देश गर्नेले ? भन्दै गरौंला । खेल्ने पात्रहरुले बिगारे वा दर्शकरुहरु नै कच्चा छन ? यो पनि खोतल्दै गरौंला ।
म यत्ती मात्र जान्दछु– नेपालमा फेरि पनि असाध्यै दुखलाग्दो र लाजमर्दो नाटक चलीरहेको छ । देखाउने पात्रहरु उनै छन् । मान्छेका जिबनका चरित्र चित्रण गर्दै साँच्चीकै जिवन्त नाटक गर्ने सुनील पोखेरेलहरु, नेपाली राजनीतीका पात्रहरुको नाटक देखेर शायद कतै कुनामा बसेर लजाउँदै वा दुख मनाउ गरिरहेका होलान् ।
सुनील जी मलाइ माफ गर्नु होला, कतै मैले नाटकलाइ होच्याएको जस्तो देखिएमा । नेपालमा यतिबेला कमजोर नक्कली राजनीतीक नाटकको समय छ । तपाइ जस्ता असली नाटयकर्मिहरु सचेत हुनुहोला । म त, तपाइ र निशा जीको फ्रान्सिेली नाटक एन्टीगोनी देखिको फ्यान । नक्कली नाटयकर्मिहरुका बिरुद्ध तपाँइहरुपनि जाग्नुस । सक्कली जस्तो होस, तैपनी मलाइ असाध्यै मन पर्छ । नक्कली त, करोडौंको भएपनि नक्कली नै हो ।
यो समय हो– नक्कलीहरुको पहिचान गर्ने । म चाहन्छु– नेपाली जनताले नक्कलीको पहिचान गरुन् । अरु त के भनुँ ? यो समय हो सक्कली र नक्कली नाटकको भेद छुट्याउने ।