आइतबार, वैशाख २३, २०८१

पाटनबाट चोरिएको मुर्ति अमेरिकाको डेनभर म्युजियममा

नेपालप्लस संवाददाता / काठमाडौं२०७७ फागुन ५ गते ७:१७

पाटन, कुम्भेश्वर मन्दिर गाः हिटी गल्लीमा छ— सानुमाया चिया पसल । त्यसै पसलको आडमा छ— दशौं शताब्दीमा निर्माण भएको मानिने उमामहेश्वरको मुर्तीको अवशेष ।

अवशेष यस अर्थमा सन् ६० को दशकमा चोरिएको बहुमुल्य उमामहेश्वरको मुर्तीपछि त्यो राख्ने जग मात्रै सानुमाया चिया पसल आडैमा देखिन्छ, अरु केही पनि छैन । आधा शताब्दीअघि चोरिएको यो मुर्ती अहिले आएर अमेरिकाको डेनभर म्युजियममा फेला परेको छ । तर अनौठो लाग्ने कुरा यो छ कि यो मुर्ति चोरिएर कसरी अमेरिका पुग्यो, कसले लग्यो र कसरी लग्यो भन्ने सोधखोज अझै हुनसकेकै छैन ।

शिव–पार्वतीको यो आकर्षक मुर्ति ६० को दशकमा चोरिएको भनेर इतिहासबिद् लैनसिंह वाङदेलले उनको बहुचर्चित कृति ‘स्टोलन इमेजेज अफ नेपाल’मा उल्लेख गरेका छन् ।

कोलोराडो राज्यको राजधानी डेनभरमा रहेको बिख्यात संग्रालयमा यो मुर्ति पाइएकोबारे समाचार बाहिर आएपछि अमेरिकाको वासिङटन र न्यूयोर्कमा रहेको नेपाली कुटनीतिक नियोगले पनि यो संग्रालयमा सम्पर्क गरेका छन् । ‘तर, उमामहेश्वरको यो मुर्तीमा नेपालको हकदावी लाग्नै नसक्ने दावी संग्रालयले गरिरहेको छ,’परराष्ट्र मन्त्रालयमा अमेरिका–युरोप डिभिजन हेर्ने एक उपसचिवले बताए—‘सन् ६० को दशकमा हराएको यो मुर्तिको त्यसबेलाको पुलिस रिपोर्ट र आवश्यक सर्जिमिन खोज्ने काम अहिले भैरहेको छ । यहाँँका सबै प्रकृया पुरा भए पछी हामीले कुटनैतीक तवरबाट कुरा गर्नेछौं ।

सन् ६० को दशकदेखि सन् ९० दशकसम्मै नेपालबाट चोरिएका बहुमुल्य मुर्तिमध्ये ३० भन्दा बढी घर फिर्ता गराइएको भएपनि अझै १ सय जति मुर्ति बाहिरी मुलुकमैं रहेको स्थिती छ । तर, चोरी भएर पत्ता लागेपछि घर फर्काइएका मुर्ती पनि कुनै प्रहरी चौकी वा कतै पुरातत्वको भण्डारमा थन्क्याइएको अवस्थामा यसको महत्व र अर्थ कहींकतै पनि सावित हुन सकेको छैन ।

तपाइँको प्रतिक्रिया