मंगलबार, वैशाख १८, २०८१

राजनीतीमा ‘बा’

सन्जय घिमिरे२०७७ फागुन ८ गते १८:५५

झण्डै एक साता अमेरिकाको एउटा ठुलो राज्य टेक्सस, हिउँको चपेटामा पर्‍यो । टेक्सस खासमा नेपालको तराइ जस्तो हो– अमेरिकाको । नेपालको तराइमा बेस्सरी हिउँ पर्‍यो भने के हुन्छ ? हो , त्यस्तै भयो । अस्त व्यस्त ।

बिद्युत आपूर्ती बन्द भयो । पाइपहरु फुटेर पानीका आपूर्तीहरु बन्द भए । माइनस सत्र डिग्री सेल्सीयसको तापक्रममा न घर–कोठा तताउने उर्जा, न पिउने पानी । धेरैको बिजोग भयो । कोही ताता सेल्टर खोज्दै हिंडे । कोही आफना चिने जानेका, जसका घरमा बिद्युत आपूर्ती छ, तिनकहाँ शरण लिन गए । धेरैको जिवन कष्टकर बन्यो ।

कोहीले हिउँ पगालेर पानी पिए । कोहीले मोटरमा रात बिताए ।
यही बिचमा, एकजना ‘बा’ लाइ छोरीले भनीन– “यस्तो चिसोमा के यहाँ बसिरहनु ? जाउँ एक दुइ दिन क्यानकुनतीर ।”

टेक्ससमा माइनस सत्र डिग्री सेल्सीयस तापक्रम भैरहँदा क्यानकुनको तापक्रम छब्बिस सत्ताइस डिग्री सेल्सियस थियो ।

क्यानकुन एउटा मेक्सिकन शहर हो । सामुन्द्रीक तटको यो शहरमा बिदा मनाउनेहरुको बाह्रैमास ओइरो लाग्छ ।

‘बा’ को मन पग्ल्यो । ‘बा’ ले प्यारी छोरीको आग्रह टार्न सकेनन । बुधबारको टिकट लिए । र , लागे क्यानकुनतीर । जहाजमा उड्दै गर्दा कसैले ती ‘बा’ को तस्वीर खिच्यो । र , पोष्ट गर्‍यो सोसियल मिडीयामा । तस्वीर भाइरल बन्यो । भाइरल यसकारण बन्यो कि– टेक्सस चिसोले आत्तीएको बेला, छोरीका लागी तातो खोज्दै हिंडने ‘बा’ सामान्य ‘बा’ थिएनन ।

‘बा’ थिए , टेक्ससका सिनेटर टेड क्रुज, जो सन २०१६ मा अमेरिकी राष्ट्रपती उम्मेदवारको दावेदार पनि थिए । सोसियल मिडीयामा जसै त्यो तस्वीर सार्वजनीक भयो, ती ‘बा’ अर्थात सिनेटर क्रुजको खपीनसक्नु बिरोध भयो । सिएनएन जस्ता मिडीयाहरुले त खोइरो खन्ने नै भए । खनेको खन्यै गरे । क्रुज जो डोनाल्ड ट्रम्पका पक्षपाती हुन ।

यसकारण पनि खोइरो खने – लाखौं टेक्सनलाइ अन्धकार र कठयाङ्ग्रीँदो चिसोमा छोडेर, टेक्सनहरुका नेता क्रुज आफु भने सुटुक्क तातोको लागी क्यानकुन लागेका थिए ।  अन्तत यस्तो अवस्था सृजना भयो – बिचरा ‘बा’ अर्थात क्रुज भोलीपल्टै अर्थात बिहीबारको फर्कने टिकट लिए । जबकी उनी शनीबार मात्र फर्कनेवाला थिए । बिहीवार फर्किए ।

फर्कनु के थियो एयरपोर्टमा उही प्रश्न । पत्रकारहरुले ‘रोम जलीरहेको बेला किन बाँसुरी बजाइरहेको ?’ भनेर निरोलाइ सोधे झैं ती ‘बा’ अर्थात सिनेटर क्रुजलाइ सोधीरहे । अन्तत ती ‘बा’ अर्थात सिनेटर क्रुजले भने – “म बाट गल्ती भयो । मैले त्यसो गर्नु हुँदैनथ्यो । मसँग एकातीर छोरीका प्रतीको जिम्मेवार थियो । अर्कोतीर टेक्सनहरुहरुले दुख भोगीरहेको बेला उनीहरुलाइ मैले छोडनु सही थिएन ।”

खासमा सिनेटर क्रुज, एउटा असल ‘बा’ बन्न खोजेका थिए, छोरीका नजरमा । उनले भने झैं उनीसँग आफ्नी छोरी वा परिवार प्रतीको जिम्मेवारी त छँदै थियो ।  छोरी र ‘बा’ को मायामाथी म यहाँ के तर्क गरुँ ?

छोरी र ‘बा’ को मायामाथी गरिने हरेक तर्कहरु कुर्तक हुन्छन भन्ने म जान्दछु ।  तर क्रुज ‘बा’ मात्र थिएनन । ती त टेक्ससका लाखौं जनताका भरोसा पनि थिए । जनता जो चाहे ती रिपब्लीक होऊन, डेमोक्रेट वा स्वतन्त्र । समग्र जनताले एक अभिभावक वा नेता खोज्छन संकटहरुमा ।

हो मलाइ थाह छ – छोरीका करका अगाडी ‘बा’ को केही लाग्दैन । तर राजनीती, देश सेवा र समाज सेवामा ‘बा’ ‘बा’ हुँन पाउँदो रहनेछ । यसो भनौं, राजनीती त ‘बा’ भन्दापनि माथीको विषय रहेछ ।

तैपनि, ठिक यतीबेला, मेरो मातृदेशमा कोही किन आज प्रधानमन्त्री के पी ओलीलाइ ‘बा’ बनाउन तल्लीन छ ? म सोचीरहेको छु । ठिक यतीबेला, मेरो मातृदेश नेपालमा आज कोही किन ‘बा’ हुन खोजीरहेको छ ? म सोचीरहेको छु । तर आज फेरि कोही किन ‘बा’ बन्न र कोही कसैलाइ ‘बा’ बनाउन खोजीरहेको छ मेरो मातृदेश नेपालमा ? म अचम्भीत छु । राजनीतीमा ‘बा’ लाइ ‘बा’हुन छुट छैन ।
नेपालका प्रधानमन्त्रीका त झन् आफ्नै छोरा छोरी छैनन् । तैपनी किन ती ‘बा’ बन्न खोजीरहेछन ?

एकातीर क्रुजको पश्चाताप र अर्कोतीर नेपालका प्रधानमन्त्री ओली’बा का तुजुक । के नेपालका प्रधानमन्त्री ओली ‘बा’ले कुनै दिन सिनेटर क्रुज जस्तै पश्चाताफ गर्लान् ?  म के जानुँ ? किनकी, तीनले पश्चाताफ गरेको मलाइ थाह छैन । छँदा खाँदाको संसद बिघठन गरेकोमा पश्चाताप गर्न नगर्नेले अरु के मा पश्चाताप गर्लान ?

ती जो, जतीबेला, दुइ किलोमिटरको टाढाको आफ्नो सरकारी बासस्थान बालुवाटार छोडेर होली वाइन वाला कुनै छोरो वा छोरीको आग्रहमा सोल्टी होटलमा तीन दिन बास बस्न गए, पश्चाताप त उतीबेलै गर्नु पर्थ्यो । गरेनन् । जब ‘बा’ हरुमा ‘बा’ हुनुको घमण्ड चढ्छ तीनले आफ्ना गल्तीहरु देख्दैनन् ।

छोरा छोरीको आग्रहमा हो वा ‘बा’ हुनुको सनकमा, नेपालका ‘बा’ बाट थुप्रै त्रुटीहरु भएका छन् । तर खै किन हो, सिनेटर क्रुज जस्तो सजिलै गल्ती भयो भन्न ती सक्दैनन् । ती त झन ‘बा’ बन्ने एकोहोरो धुनमा छन् ।

राजनीतीमा नेता र ‘बा’ दुइ फरक चिज हो रहेछन् । ‘बा’ साँघुरो रहेछ, नेताको अगाडी । राजनीतीमा ‘बा’ हुँदैन । राजनीतीमा नेता हुन्छ । र नेता सबको हुन्छ ।  ‘बा’ माथी छोरी छोरीका र छोरा छेरी माथी ‘बा’ का असिम प्रेम, जिम्मेवारी र आग्रहहरु हुन्छन् । म यो राम्ररी बुझ्दछु । तर जब नेता ‘बा’ बन्न थाल्छ, मान्नुस उसको हालत सिनेटर क्रुजको जस्तो हुन्छ । ढिलो वा चाँडो !

तपाइँको प्रतिक्रिया

फेसबुक