कोरोनाको संक्रमण दर मात्र होइन, मृत्यु दर पनि उच्च छ यसपटक
गत साल पनि कोरोना संक्रमणको झिल्को नेपालगंजबाटै शुरु भएको थियो । यसपटक पनि नेपालगंजनै पहिलो शिकार भयो । नेपाल भारत सिमाना मध्ये नेपालगंज पश्चिम नेपालको असाध्यै व्यस्त नाका हो । अन्य क्षेत्रबाट भन्दा नेपालगंजबाट भारत आवतजावत गर्नेहरुको संख्या ठूलो छ । जब भारतमा संक्रमण बढ्दै जान्छ, नेपालीहरु सुरक्षाको निम्ति आफ्नो थातथलो खोज्दै आइपुग्छन् । यो स्वाभाविक प्रकृया पनि हो ।
पोहोर समाजमा कोरोनाको आतंक थियो । मानिसहरु के हो ? कसो हो ? भन्ने भयग्रस्त अवस्थामा थिए । केन्द्र सरकार, स्थानीय निकाय र आम मानिसहरु तयारी अवस्थामा थिए । यसपटक एकैचोटी भारतमा फैलिंदा नेपाल पनि पस्यो । मानिसहरु एक किसिमबाट कोरोनालाई सामान्य मान्न थालिसकेका थिए । ठूला ठूला राजनीतिक जुलुसहरु भैरहेका थिए । धार्मिक कार्यक्रमहरु चलिरहेका थिए । मास्क लगाउन बिर्सिसकेका थिए । सबैलाई नेपालीहरुले कोरोना यसैगरी पचाइदिनसक्छन् भन्ने भ्रम परेको थियो ।
यसपटक त्यसो भएन । तिब्र रुपमा फैलिने कोरोनाले नेपालगंज र आसपासका गाउँ गाउँमा मानिसहरु संक्रमित भएका छन् । संक्रमण दर मात्र होइन, मृत्यु दर पनि उच्च छ यसपटक । घरका पुरै परिवार नै ज्वरोले थलिएका फोनहरु हामीलाई आइरहेकाछन् । हाम्रो मेडिकल टिम स्थानीय निकाय, नेपालगंजको सरकारी अस्पताल, अरु सबै स्वास्थ्य संघसँस्थासँग समन्वय गरेर काम गरिरहेको छ । पोहोर नाकाबाट छिर्नेहरुलाई सम्बन्धित गाउँपालिका या जिल्लाको समन्वय समितिले बसमा हालेर लैजान्थ्यो । क्वारेन्टाइन अनिवार्य गरिएको थियो । अहिले बोर्डरबाट छिरेका मानिसहरु खुलेआम हिंडे । सार्वजानिक यातायात प्रयोग गरेर जिल्ला जिल्लामा छरिए । यसरी संक्रमण फैलियो ।
हो, मानिसहरुमा कोरोना संक्रमणका लक्षणहरुको बारेमा धेरै चेतना छ । घाँटी सुख्खा भएर दुख्यो, ज्वरो आयो, सास फेर्न अप्ठेरो भयो, स्वाद हरायो, पखाला लागिरह्यो भने कोरोना हुनसक्दछ भन्ने अनुमान मानिसहरुलाई भएको छ । घरघरमै अक्सिजनको लेभल हेर्न पनि मानिसहरुले थालिसके । तर समुदायमा फैलिन नदिन च्यानल समातेर त्यो च्यानल ब्रेक गर्ने काम भएन । बेलैमा कोरोना हो कि होइन भनेर मानिसहरु जँचाउन आएका पनि छैनन् । घरमै उपचार गर्ने र अन्तिम अवस्थामा मात्रै आइपुग्ने प्रवृत्ति बढिरहेको छ । यसले गर्दा मेडिकल टिमलाई धेरै प्रेसर भइरहेको छ ।
हामीहरुले २५० को स्पेशल कोभिड बेड तयार गर्दैछौं । पर्सिसम्ममा तयार हुन्छ । फेरि कोभिडका बिरामीलाई उपचार गर्दा नियमित दुर्घटना हुने र अरु बिरामीहरुलाई पनि उपचार गर्नैपर्यो । त्यसको निम्ति पनि तयारी छ । हिजो मात्रै मन्त्रालयबाट जिम्मेवार व्यक्तिहरुले हामीसँग राय माग्नु भएको थियो । नेपालगंजको सरकारी अस्पताल, हाम्रो मेडिकल कलेज र अरु प्राइभेट स्वास्थ्य संस्थाहरुलाई असाध्यै प्रेसर परेको छ । अस्पतालहरु भरिएका छन् । सबै बेडहरुमा अक्सिजनको सुविधा पुर्याउनेगरी तयारी भएको थिएन । एकैपटक चाप बढ्दा समस्या भएको छ ।
अहिले राज्यले सबै मेडिकल संघसंस्थाहरुलाई समान व्यवहार गरेर फिल्डमा उतार्न सक्यो भने केही हप्तामै स्थितिलाई काबु बाहिर जान नदिने गरी काम गर्नसक्ने विश्वास राख्दछौं हामी मेडिकल व्यक्तिहरु । त्यसको निम्ति नाकाबाट आउनेहरुको कम्तिमा व्यवस्थापन हुनुपर्दछ । उनीहरुको राम्रोसँग परीक्षण गर्नुपर्दछ । त्यसका निम्ति सरकारले व्यवस्थापन गर्नुपर्दछ । केही दिन सुरक्षित स्थानमा राख्ने बन्दोबस्त मिलाउन सकियो भने समुदायमा फैलिन पाउँदैन । एक व्यक्तिदेखि अर्को व्यक्तिसम्म सम्पर्कमा आउन नदिन लकडाउन बाहेक अर्को कुनै विकल्प नै छैन । लकडाउनका बेला काम गरेर गुजारा चलाउनेहरुको हकमा स्थानीइ, प्रदेश र केन्द्र सरकारले उचित बन्दोबस्त गर्नुपर्दछ । हामी गर्नेबेला यही हो भनेर खटेका छौं । अन्तिम सास रहेसम्म हामी मैदानमै हुन्छौं । यो हाम्रो व्यवसायिक धर्म नै हो ।
राज्यको निजी मेडिकल कलेजहरुलाई हेर्ने नजरिया फरक छ । नीतिगत कुराहरु, जनताको सोंचाइ जे जस्तो भएपनि अहिले पहिलो काम भनेको मान्छेको ज्यान बँचाउनु हो । सरकारी होस् या निजी, सबै स्वास्थ्यकर्मीको पहिलो प्राथमिकता भनेको बिरामी हुन् । राज्यले सरकारी तहमा काम गर्नेहरुलाई जसरी बजेट दिएर सहयोग गरेको छ, निजी क्षेत्रबाट कोभिडको युद्धमा लडिरहेका स्वास्थ्यकर्मीहरुलाई पनि सुरक्षा दिनुपर्दछ । सरसामानहरु खरिदमा सहयोग पुर्याउनुपर्दछ । जिल्ला जिल्लामा मात्र होइन, केन्द्रमा समेत निजी र सरकारीको समन्वय गरी जनप्रतिनिधिको सहभागिता हुने गरी टिमवर्क गर्नुपर्दछ ।
स्वास्थ्यकर्मीको मनोबल नबढाइकन काम गर्न सकिन्न । अहिले असाध्यै छिटो न्यूमोनिया फैलिएर बिरामीहरुलाई सास फेर्न गाह्रो भइरहेको अवस्था छ । भारतको समाचार हेरेकै छौं । विगतमा जे भयो भयो, अब भोलिको निम्ति कोरोनाको महामारीलाई काबुमा राख्ने गरी सबै मिलेर काम गर्नुपर्दछ । बोर्डरमा कडाइ नहुँदासम्म हामी स्वास्थ्यकर्मी मात्रै खटेर केही हुन्न । हाम्रो अस्पताल पनि भरिभराउ भैसकेको छ । बोर्डर बन्द गर्ने भनेको होइन, बोर्डरबाट आउनेहरुलाई सुरक्षित रुपमा व्यवस्थापन गर्ने काम राज्यले नै गर्नुपर्दछ ।
हामी पनि राज्यकै हिस्सा हौं । प्रादेशिक सरकारले केही रकम छुट्याएको सुन्यौं । अब पर्खेर हेर्नेबेला छैन । जनस्तरबाट होइन राज्यस्तरबाट सम्पूर्ण तयारी गर्न ढिला भैसकेको छ । ढिलो भइसक्यो । अझ ढिला भए धेरै क्षति हुने खतरा मुखैमा आइरहेको छ । यसो भन्दैमा आत्तिएर समस्याको समाधान हुँदैन । हामी मैदानमा भएकालाई राज्यले सशक्त रुपमा खटायो भने कोराना काबुमा आउनसक्दछ । नलागेकाले लापरवाही नगरौं । अरु सबै काम छोडेर सामूहिक पहल भयो भने हामीले नियन्त्रण गर्न सक्दछौं भन्ने आत्मविश्वास छ ।
(डा. कनौडिया नेपालगंज मेडिकल कलेजका निर्देशक हुन् । यो आलेख नेपालप्लससितको कुराकानीमा आधारित छ)