शुक्रबार, वैशाख २१, २०८१

खोइ कहाँ छन् डा. सशांक कोइराला ?

नेपालप्लस संवाददाता / नवलपुर२०७८ जेठ ७ गते २०:१९

डा. सशांक कोइराला नवलपुर क्षेत्र नम्बर १ बाट संघिय संसदमा निर्वाचित जनप्रतिनिधी । उनले संविधान सभाको सदस्य हुँदै संघिय संसदसम्म नेपाली कांग्रेसको तर्फबाट तीन पटक यसै क्षेत्रबाट निर्वाचन जिते । साविकको नवलपरासी क्षेत्र नम्बर-१ पंचायतकाल देखिनै नेपाली कांग्रेसको बलियो पकड भएको क्षेत्र । सूर्यभक्त अधिकारी, तिलक सापकोटा र हेमराज कोइराला जस्ता स्थानिय तहमा भिजेका नेताहरुले संगठन गरेको भएर पनि हल्लिन नसक्नेगरी नेपाली कांग्रेको किल्ला बनेको थियो यो क्षेत्र ।

नेपाली कांग्रेसका सुर्यभक्त अधिकारी, महेन्द्रध्वज जीसी, दामोदर वस्ताकोटीले यहि क्षेत्रबाट लगातार चुनाव जित । ०६२-०६३ को जनआन्दोलन पछी भतिजा सशांकको ब्यक्तित्व बनाउन गिरिजा र सुशिल कोइरालाले यहि क्षेत्रलाई रोजे । त्यस यता सशांक कोइराला लगातार यहि क्षेत्रबाट सांसद छन् । अर्का प्रदेश सभा सांसद तथा गण्डकी प्रदेश सभामा प्रतिपक्षी दलका नेता कृष्णचन्द्र नेपाली पनि यसै क्षेत्रबाट निर्वाचित हुन । दाउन्ने पारी परासीलाई मुल थलो बनाएका नेपालीले क्षेत्र नम्बर-१ बाट टिकट लिने पटक पटक जमर्को गरेका हुन ।

पछिल्लो चुनावसम्म आइपुग्दा केन्द्रसम्म यिनको बोली चल्न थालेको थियो । सजिलैसँग आए, आराम सँग चुनाव जिते । नेपालीको लडाईं पोखरामा चलेको छ- मुख्यमन्त्री बन्नका लागि । सशांकको लडाईं काठमाडौंमा छ । पार्टी सभापति बन्ने रेसमा नाम दर्ता गरिसकेका छन् । सर्सर्ती हेर्दा नवलपुर पूर्वका यि सांसदहरुको काठमाडौं-पोखरा दुबै ठाउँमा उस्तै खाले रवाफ छ ।

तर यो कोरोना महामारिमा आफुले चुनाव जितेको क्षेत्र वा जिल्लाको अवस्थाका बारेमा जान्ने बुझ्ने यिनिहरुलाई जाँगर चलेको छैन । दुबै अवशरको जोड घटाऊमा ब्यस्त छन । यता चुनाव जिताएर सिंहाशन प्राप्तिको दौडसम्म पठाएको जिल्ला र क्षेत्र कोरोनाको लपेटामा छ । नवलपुर पूर्वका सबै गाउँपालिका र नगगर पालिकामा करिव ७० प्रतिशत जनता कोरोनाको चपेटमा पुगेको अनुमान छ र मृत्‍यु दर ह्वात्तै बढेको छ । अस्पातलहरुमा बेड छैनन, अक्सिजन छैन । अली भित्री गाउँका मानिसहरुले एम्बुलेन्स सेवा समेत पाएका छैनन् । कोरोना संक्रमित भएर आइसोलेशनमा बसेकाहरुले खान पाएका छैनन् । स्थानिय संघ संस्थाहरुको पहलमा केही काम भएको भए पनि पर्याप्त छैन । स्थिती हरेक देन भयावह बन्दै गइरहेको छ । काठ्माडौंका सांसद गगन थापाले एक्लो प्रयासमा आफ्नो क्षेत्रमा एम्बुलेन्स, आइसोलेशन र क्वेरन्टिन सेन्टरहरुको सुरुवात गरेका छन् । उनी दिनभरी गौंडा गौंडामा चाहरेर अक्सिजनको जोहो गर्छन् र आवश्यकता अनुसार वितरण गर्छन् ।

यस्तो काम अन्य केही सांसदले पनि गरेका छन । यो सबै सुनेका र टीभीमा देखेका नवलपुर पुर्वका जनता आक्रोसित मात्र होइन आफ्ना सांसद प्रती निरास पनि छन् । पूर्व सांसद समेत समेत रहेका नवलपरासी नेपाली कांग्रेसका नेता महेन्द्र ध्वज जीसी आफ्ना सांसदहरुको मौनतालाई आश्चर्यजनक रुपमा लिएको बताउँछन् । उनी भन्छन्- “हाम्रा सांसदहरु माथिल्लो तहका भएकोले हो कि गाउँतिर ध्यान गएको छैन । उनिहरुले हामीले भनेको पनि सुन्दैनन ।”

‘तपाईंहरुले जिल्ला र क्षेत्रमा सहयोगका लागि आग्रह गर्नु भएको छैन ?’ भन्ने नेपालप्लसको प्रश्नमा जीसीले भने- “हामीले कहाँँ संपर्क गर्न सक्छौं र उहाँहरुलाई ? स्थिती कस्तो छ भने जताततै हाहाकार छ, सरकार छ छैन भन्ने कुरा हामीले बुझ्नै पाएका छैनौं । हाम्रा सांसदहरु जनताको संपर्क भन्दा बाहिर छन ।”

‘जनताको दु:खमा सामेल हुन नसक्ने मान्छेलाई किन चुनाव जिताएर पठाएको त ? खोइ शशांक कोइरालाको नैतीक उपस्थिती अहिले ?’ जीसी भन्छन- “उहाँको उपस्थिती कहिले थियो र अहिले हुने ? कहिल्यै छैन । उहाँसँग अन्य बेलामा पनि क्षेत्रका लागि कुनै ठोस योजना पनि छैनन र कुनै कार्यक्रम पनि छैन । उहाँको एउटा भजन मन्डली छ, त्यसैमा सिमित हुनुहुन्छ उहाँ । यो महामारिमा हामीले आफ्नो ठाउँँबाट जे जस्तो गर्न सकेका छौं गरिरहेका छौं । उहाँहरु फेरी अर्को चुनावमा भोट माग्न आउनुहुन्छ होला । अहिले के अपेक्षा गर्नु र” !

पूर्व सांसद जीसी मात्र होइन आफ्ना जन प्रतिनिधिबाट निरास अरु पनि छन् यो क्षेत्रमा । हालै मात्र काङ्ग्रेसको केन्द्रिय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान नेपाल अन्तर्गतको भाषा, साहित्य कला र सस्कृति विषय बिज्ञको रुपमा मनोनयन हुनुभएका कलाकार भिम शर्माको बुझाई पनि उस्तै छ । उनी भन्छन- यहाँँका जनता र डा. कोइरालाका बिचमा निकै ठूलो ‘ग्याप’ छ । उहाँ जनताको विचमा भिज्नु भएकै छैन । सुख दु:खमा हाम्रा प्रतिनिधि हाम्रै साथमा छन भन्ने महसुश गर्न सकिएन ।”

‘के गर्नु भएको छ त तपाईं हरुको सांसदले त्यहाँको बिकास र त्यहाँका जनताको सहयोगका लागि ?’ उनी भन्छन् “ठ्याक्कै यो नै गर्नु भयो भनेर भन्न सकिंदैन । अहिलेको अवस्थाले कस्तो देखायो भने जन प्रतिनिधि स्थानिय नै हुनुपर्ने रहेछ । अली तल्लो तहमा भिजेको, जोसँग जनता घुलमिल हुन सकुन”- शर्माले भने ।

गएको दशैंमा खाममा हालेर पत्रकारलाई पैसा बाँडेपछी चर्चामा आएका डा. कोइरालाले चाहेको भए आफ्नो क्षेत्रका लागि मनग्य सहयोग गर्न सक्थे । गगन थापाले गर्नसक्ने काम सशांकले सक्दैनथे भन्ने हुँदैन । भिम शर्माले भने जस्तै उनी यो क्षेत्रमा भिजेका छैनन् वा उनी भिज्नै चाहँदैनन् । यसले पनि जिम्मेवारी बहन गर्ने कुरा गौड बनाउँछ ।

अहिले गैंडाकोटको बिजय बिकास श्रोत केन्द्रले खाना वितरण देखी कोरोना टेस्ट र एम्बुलेन्स सेवा २४ सै घण्टा संचालन गरेको छ । स्थानिय युवा र संस्थाका केही स्वयंसेवकहरु यसै कामको लागि अहोरात्र खटिएका छन् । तर यो महामारिका बेला आफ्ना जनप्रतिनिधिको कुनै सहयोग नपाएको सबैको गुनासो छ । संस्थाका कार्यकारी निर्देशक केशव सापकोटाले भने- “आफूले जिताएर पठाएको सांसदको आवश्यकता महशुस हुने रहेछ, महामारिको यो बेला ।”

तपाइँको प्रतिक्रिया

फेसबुक