अल्लारे नेपाली लोकतन्त्र !
नेपालमा जतीबेला बिद्या भण्डारी राष्ट्रपती र ओन्सारी घर्ती सभामुख बन्दै थिइन्, त्यतीबेला मैले सेतोपाटीमा लेखेको थिएँ – हल्का बनाइँदै गरिमामय पदहरु । सेतोपाटीको अर्काइभमा खोजे शायद आज पनि भेटिन्छ ।
सभामुख ओन्सारी घर्तीले खासै ओहो भन्ने काम नगरेपनि, बिगार्ने कामचाहिं केही गरिनन् जस्तो लाग्छ । उनीप्रती मेरो खासै गुनासो छैन । तर राष्ट्रपती बिद्या भण्डारीले त धेरै कुरा खत्तमै पारिन ।
राष्ट्रपती पद यती र यो हदसम्म हलुका हुन्छ र बनाइन्छ भन्ने मैले उबेला कतै पनि कल्पना गरेको थिइन । प्रधानमन्त्रीले जे जे भने, त्यही त्यही राष्ट्रपतीले मानिन्, मान्दै गइन्, यहाँसम्म ठिकै हो । ठिकै थियो ।
राष्ट्रपती त सार्वजनीक समारोहमा समेत खित्खिताउन पो थालिन् । जुन दिन नेपालकी राष्ट्रपती शपथ ग्रहण जस्तो असाध्यै औपचारीक र मुल्यवान समयमा खित्खताएको मैले देैखे र सुनें, त्यो दिन मलाइ लाग्यो – नेपालको लोकतन्त्रले ‘टिनएज’पनि पार गरकै रहेनछ । संबैधानीक अनुशासन र मर्यादा कायम गर्ने मामिलामा जुन देशका प्रधानमन्त्री र राष्ट्रपती नै टिनएज जस्ता छन त्यहाँ जनताले परिपक्व लोकतन्त्र खोजेर कहाँ पाउँने ?
ढुक्क भए हुन्छ – नेपालको लोकतन्त्र आजपनि अल्लारे छ । अल्लारे मुडमा यता उता जेपनि हुन्छ । जसो पनि हुन्छ । भैरहेको यही र यस्तै छ । प्रधानमन्त्रीको खोजी, दाबी र चुनाबको घोषणा यसैको एउटा नमुना हो । टिनएजरहरुको भर हुँदैन ।
अरु के के हुने हो हेर्न र देख्नै छ ।
नढाँटीकन भर्नौ – पछिल्ला दिनहरुमा नेपालको राजनीतीमा भैरहेका अल्लारे राजनैतीक गतिबिधीहरु देख्दा मेरो मनमा आउँछ लोकतन्त्र भनेको पनि यस्तै हो । बरु सैनीकले शासन लिए हुन्छ । यत्रो कोरोनाको महामारी छ । ज्यान बचाउनु पर्नेछ । ज्यान लोकतन्त्रले बचाउन सक्दैन भने अरु कुनै तन्त्रले आएर बचाए पनि हुन्छ । ज्यान भन्दा बढी प्यारो कुनै तन्त्र हुन्छ र ?
अहिले नेपालमा चलीरहेको तन्त्रलाइ कसैले लोकतन्त्र भन्छ भने उ भ्रममा छ । नेपालमा लोकतन्त्र होइन, नेतातन्त्र चलीरहेको छ । र, नेताहरु अल्लारे छन् । यसैले नेपालको लोकतन्त्र अल्लारे छ । अल्लारेहरुकै हातमा छ ।
भण्डारीले राष्ट्रपती पदको गरिमा धान्न सक्दिनन् भन्ने त मलाइ पहिलो दिन नै लागेको हो । तर ओलीमाथी भने मलाइ विश्वास थियो ।
म खासमा शुरुताका नेपालका प्रधानमन्त्री खडगप्रसादलाइ परिपक्व र राम्रै मान्थें । उनका कतीपय आयामीक व्यक्तित्व र शैलीहरु मलाइ मन परेको हो पनि । मेरी श्रीमती तारा रावल, ओलीकी जबर्जस्त पक्षपाती हुन । उनी आजपनि अन्तवार्ता गर्न जाँदा ओलीले हार्मोनीयम समाएर नारायण गोपालका गित गाएको सम्झिरहन्छिन् ।
म आजकल हरेक दिन जसो तारालाइ सोध्छु– अन्तर्वार्ता लिन जाँदा तिमीलाइ नारायण गोपालका गित सुनाउने ती ओली आज कता हराए ? ती ओली आज कहाँ छन ? के आज ती ओली बाँकी छन ?
मलाइ त लाग्दैन, ती ओली आज बाँकी छन् । म ग्यारेन्टीका साथ भन्छु– नाराणण गोपालका गित गुन गुनाउने कोही मान्छे, यती घमण्डी, यती लिच्चड, यती अहंकारी हुनै सक्दैन । जो मान्छे गित र संगीतको लतमा छ त्यो मान्छे तलाऊ जस्तो हुन्छ । खहरे त हुनै सक्दैन ।
म आश्चर्यमा छु – अन्तवार्ता लिन जाँदा नारायण गोपालका गित सुनाउने मान्छे ओली आज कसरी खहरे भए ? र खहरे बनेर बबण्डर मच्चाइरहेका छन ? ओलीले नेपालको राजनीतीमा मच्चाएको बबण्डर देखेर म आजीत छु ।
एकै छिन है त, कल्पना गरौं – एउटा दृश्यको । यस्तो दृश्य जहाँ ओली भनीरहेका छन – मैलै मेरो नाममा नेपाल कम्युनिष्ट पार्टीलाइ बहुमत दिलाएँ । दुइ वर्ष सरकार चलाएँ पनि । म बिरामी पनि छु । पार्टी एकता गर्दा प्रचण्डसँग साढे दुइ वर्षको सम्झौता गरेको हुँ । म अब आराम गर्छु । तपाँइहरु मिलेर नेपाल कम्युनिष्ट पार्टीलाइ सम्हाल्नुस ।
ओहो, ती ओली कती महान हुन्थे होलान् ? त्यसो भएको भए आज नेपालको दृश्य कती फरक हुन्थ्यो होला आज हामीले देखिरहेको भन्दा ?
शायद ती ओली आज बडो स्वाद मानेर गित संगितमा अरु हराइरहेका हुने थिए । शायद ती मोक्ष प्राप्त गरेका ऋषि जस्ता हुने थिए । र, उनका शितल छहारीमा नेपालमा नेपाल कम्युनिष्ट पार्टीको बलीयो सरकार चलिरहेको हुने थियो ।
त्यसो भएको भए म तारालाइ भन्ने थिएँ– तिमीले भेटेको ओली आज पनि उस्तै छन् । ती आज पनि नारायण गोपालको गित गुन गुनाउँछन् । ती तलाऊ जस्ता शान्त छन् ।
मैले अघि नै भनीसकें – जो मान्छे गितसंगित मन पराउँछ उ तलाउ हुन्छ, खहरे हुनै सक्दैन । समय उल्टो पर्यो वा ताराको बुझाइ ?
नारायणको गोपालको गित सुनाउने ती ओली आज खहरे भएर निस्के ।
म तलाउ खोजीरहेको थिएँ ।
नेपालको राजनीतीमा खहरे पस्यो ।