शुक्रबार, वैशाख २१, २०८१

५८ वर्षेसम्म एयरहोस्टेस बन्न पाइने , ‘आफ्नै आमा र सासुका लागि नियम संशोधन’

नेपालप्लस संवाददाता / काठमाडौं२०७८ जेठ २५ गते १५:१३

एयरहोस्टेस सुमिली जुहारचन

बेथिती र स्वेच्छाचारिताको पनि हद पो हुन्छ । यो मनपर्दीलाई राज्य संयन्त्र, अख्तियार, प्रहरी–प्रशासन कसैले पनि सुनुवाइ नगरेपछि नेपाल वायुसेवा निगम(एनआरए)का कर्मचारीहरु आजित भएर निगमभित्रका गलत कामकुरालाई इमेलमार्फत जानकारी गराउन थालेका छन् । यो भाइरल–इमेल योपटक निगमका अप्रेसन बिभाग प्रमुख दिपु जुहारचनको मनलाग्दी कार्यशैलीका बारे केन्द्रित छ । ईमेलबाट प्राप्त जानकारिलाई नेपालप्लसले नेपाल वायु सेवा निगमका कर्मचारीसित आन्तरिक रुपमा बुझ्ने काम गरेको हो ।

‘सकारात्मक परिवर्तनको प्रतीक्षामा रहेका नागरिकहरु’का तर्फबाट नेपालप्लसलाई प्राप्त इमेलमा अप्रेसन बिभागका प्रमुख जुहारचनले निगमका महाप्रबन्धक डिमप्रसाद पौडेल, अध्यक्ष शुशिल घिमिरेसँगको मिलेमतोमा एयरहोस्टेसले उडान सेवामैं काम गर्न पाउने ५० वर्षसम्मको उमेर नियमावलीलाई संसोधन गरेर ५८ बनाइदिएका छन् ।

निगमको बोर्डले संशोधन गर्न सक्ने यो कार्यबिधी संसोधन गर्न बोर्डका अध्यक्ष शुशिल घिमिरे, निगम महाप्रबन्ध पौडेल, पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने, यति ग्रुपसम्बद्ध फुरगेल्जे शेर्पा, किशोरकुमार प्रधान, इश्वरी पौडेलसहितको समितिले आखा चिम्लेरै हस्ताक्षर गरेका छन् । यसरी अप्रेसन बिभाग प्रमुख दिपु जुहारचनकी झट्केली आमा सुमिली जुहारचन अहिले ५० वर्ष नाघेर ५१ मा लागेपछि तथा केही बरिष्ठ कर्मचारीका सासु–सम्धिनी समेत ५० माथि पुग्न लागेकाले नियम फेरेर ‘५० लाई ५८’ बनाइएको हो ।

अब कल्पना गरौं त, ५८ बर्षिया एक बृद्धोन्मुख एयरहोस्टेसले आँखा कम देख्ने र काम कम सुन्ने हाउभाउमा हवाइ यात्रुको सेवासत्कार गर्दा के होला ? लोक सेवा आयोगकै नियमबाट एयरहोस्टेस बन्न आएकालाई अहिलेसम्म भने ५० वर्ष नाघेपछि ग्राउन्ड स्टाफका रुपमा काम दिने चलन रहँदै आएको थियो । त्यसमा पनि ५० पछि कसैले स्वेच्छिक अवकाश चाहेमा त्यही अनुसारको सेवासुविधा दिएर अवकाश दिने गरिएको यियो । तर, अप्रेसन प्रमुख जुहारचनले जबरजस्ती गराएको नियम फेरबदलमा आफ्नै उमेरमा ५० नाघेकी झट्केली आमाको हितमा सबै कर्तुत गरिएको बुझिएको छ । यसो गर्नासाथ नयाँ अवसर पाएर आउने क्याबिन–क्रूले कामको अवसर नपाउने देखिन्छ भने ५० नाघेका एयरहोस्टेसको बरिष्ठता र अनुभवकै आधारमा पनि राज्यले बढी तलब–सुविधा बेहोर्नुपर्नेछ ।

‘नियम बनाउँदा कुनै एक व्यक्तिलाई भनेर बनाइँदैन । तर, यहाँ भने अप्रेसन बिभाग प्रमुखले आफ्नी आमा र अन्य केही मुठ्ठीभरको मात्रै फाइदाका लागि गर्न खोजेको देखिन्छ । सिमित व्यक्तिलाई मात्र फाइदा पुग्ने मुद्धालाई अघि सार्दा शक्ति त्यसैमा खर्च हुने हुनाले सामाजिक मुद्धा सिधै ओझेलमा पर्न जान्छ भन्ने पक्ष सबैले बुझ्नुपर्छ’इमेलमा भनिएको छ ।

यस्तै भाइरल इमेलले गत साता व्यापक बनाएको अर्को सूचनामा, निगमको अप्रेसन विभाग प्रमुख दिपु जुहारचन र फर्स्ट अफिसर सुनिल श्रेष्ठले गरेका अनियमितताले निगम धरासायी हुने क्रममा छ । ‘सकारात्मक परिवर्तनको प्रतीक्षामा रहेका नागरिकहरु’ ले निगमका अध्यक्ष, महाप्रबन्धक, उपमहाप्रबन्धकलगायत मिडियाहरु र सम्बद्ध निकायमा कारबाहीका लागि इमेल पठाएका हुन् ।

निगमद्वारा कर्मचारीलाई प्रदत्त सुविधाको दुरुपयोग गरेको, तोकिएको पदीय दायित्व पालना नगरेको, निगमको स्वीकृत अपरेशन म्यानुअलअनुरुप काम नगरेको र बदनियतपूर्वक निगमलाई हानी नोक्सानी पुर्याएको तथ्यलाई इमेलमा उल्लेख गरिएको छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक