शुक्रबार, वैशाख २१, २०८१

कहाँ छन् राजदूतहरु ? ‘उमेरमा ६५ नाघेका राजदूत कोरोना भयले आफैं गुपचुप’

नेपालप्लस संवाददाता / काठमाडौं२०७८ असार १ गते २१:२७

लन्डनको बकिंघम प्यालेसमा नेपालका राजदूत लोकदर्शन रेग्मी र उनकी श्रीमती चन्द्र कला रेग्मी विन्डसर क्यासलबाट भिडियो लिंकमार्फत पर्दामा देखा परेकि रानी एलिजाबेथ द्वितीयसमक्ष ओहदाको प्रमाणपत्र पेश गर्दै । Photo source-Yui Mok/PA Wire via nepalbritain.com

कोरोनाको महामारी सुरु भएपछि एक वर्ष अघि नै विश्व स्वास्थ्य संगठनले निकालेको ‘म्यान्डेटोरी’ सूचनामा भनिएको छ— कोरोना भाइरसबाट केटाकेटी र उमेरमा ६५ नाघेका बृद्धबृद्धालाई जोगाऔं ।

सौभाग्य भन्ने कि दुर्भाग्य ? नेपालले भारत, चीन, अमेरिका, जापान, बेलायतसहितका मुलुकहरुमा खटाएकामध्ये एक दर्जनभन्दा बढी राजदूतहरु उमेरमा ६५ देखि ७५ बीचका छन् । यसकारण बितेको एक वर्षको कार्यसम्पादन मुल्यांकन र कुटनीतिक उपलब्धिको कुरा गर्ने हो भने सबैजसो राजदूतहरु कोरोना कहरकै कारण र आफ्नो ६५ पार उमेरको कारण हिँडडुल गर्न नमिलेकाले कुटनीतिक उपलब्धी ठप्प रहेको भनेरै परराष्ट्र मन्त्रालयमा रिपोर्ट गरेको पाइएको छ ।

त्यसमाथि भारतको हकमा राजदूत निलाम्बर आचार्य ८० वर्षछेकका भएकाले र अहिले चुच्चे नक्सादेखि कोरोना भ्याक्सिन तथा पछिल्ला महिनामा महाकाली किनारमा भारतले सडक निर्माणका नाममा चलाउँदै आएको दादागिरीमाझ पनि दिल्लीको दूतावास ‘बेखबर’ झैं छ । तिन महिनाभित्र तिन करोड खोप ल्याउने र सबै जनतालाई खोप लगाइने भन्ने खालको सतही नाराको भरोसामा उभिएको चीनका राजदूत महेन्द्र पाण्डे र भारतका आचार्यको ‘बसमा केही पनि नरहेको’ स्थिती छर्लङ्ग बनिसकेको छ । राजदूत नियुक्त भएर गएको २ बर्ष बितिसक्दा ‘कर्टेसी कल’मा एक–एक पटकबाहेक राजदूत आचार्यले विदेश सचिव वा मन्त्रीलाई अरुपटक भेटेर नेपाल–भारत सम्बन्धको दुर्दशाबारेमा केही भन्न पाएकै छैनन् । बेइजिङमा पुगेका राजदूत पाण्डेले आफूलाई ‘मन्त्रीसरहको राजदूत’ भनिरहेपनि गएको ८ महिनापछि मात्रै चिनिया राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र चढाउन पाए । त्यो पनि सामुहिक भीडमा अरु देशका राजदूतहरु माझ ।

उता जापानमा हुने सासु राजदूत प्रतिभा राणा पनि उमेरमा ७५ नाघेकै कारण ‘कोरोना संक्रमणबाट बच्नैका लागि’ दूतावास परिसरको आवासबाट वरपर जानै चाहन्नन् । काठमाडौं आफ्ना ज्वाई एवं पुर्व प्रधानमन्त्री शेरबहादुर देउवाको प्रतापबाट कुटनीतिका नाममा ‘क’ थाहै नपाई राप्रपा कोटामा टोकियो पुगेकी सासु राजदूत राणाले गत वर्षका चार महिना त काठमाडौंमैं बिताइन्, कोरोनाको प्रथम चरणमा ‘उमेरका आधारमा कोरोना पो सरिहाल्छ कि’ भनेर टोकियोको साटो काठमाडौंबाटै जापानमा रहेर धान्नुपर्ने कुटनीतिक धर्म धानेकी थिइन् ।

बेलायतस्थित राजदूत लोकदर्शन रेग्मीले पनि लण्डन उत्रिएको झण्डै चार महिनापछि मात्रै महारानी एलिजावेथसमक्ष योसाता ओहोदाको प्रमाणपत्र चढाउन पाए । त्यो पनि बकिंङ्घम् प्यालेसमा रहेको भर्चुवल समारोहमा । कोरोना कहरकै कारण राजदूत रेग्मीले महारानीको दर्शन पाएनन्, बरु भर्चुवल टीभीकै स्क्रिनबाट सन्चो–बिसन्चो सुनाउने मात्रै मौका पाए ।

‘नयाँ परराष्ट्र मन्त्री रघुबीर महासेठले पनि हामीसँग ‘ब्रिफिङ’ लिने क्रममा कुटनीतिक कर्मचारी तथा राजदूतहरुको कार्यसम्पादन मूल्यांकनका बारे प्रश्न उठाउनुभयो,’परराष्ट्रका एक सहसचिव भन्छन्—‘हामीले भने यो कोरोना महामारीमा कार्यसम्पदान मूल्यांकनको कुरै नउठाउन आग्रह गरेका छौं । किनभने अधिकांस महामहिम राजदूतहरु ६५ वर्ष माथिका हुनुहुन्छ र, विश्व स्वास्थ्य संगठनले पनि कारोना संक्रमणको डर बढी भएकाले ६५ माथिकालाई कुनै प्रकारको मानसिक र शारीरिक झन्झट नदिनु भनेको छ । यसकारण अहिलेलाई यस्तै भयो मन्त्रीज्यू ।’

तपाइँको प्रतिक्रिया

फेसबुक