आठ स्रष्टा सम्मानित
 शनिबार श्री लूनकरणदास–गङ्गादेवी चौधरी साहित्यकला मन्दिरले विभिन्न विधाका आठ व्यक्तित्वहरूलाई सम्मान प्रदान गरेको छ । विगत २६ वर्षदेखि निरन्तररूपमा प्रदान गर्दै आइएका यी सम्मानहरू साहित्यकला मन्दिरका अध्यक्ष बसन्त चौधरी तथा नेपाल सङ्गीत नाट्य प्रज्ञाप्रतिष्ठानका कुलपति एवम् यस कलामन्दिरका सदस्य सङ्गीतकार रायनले संयुक्तरूपमा प्रदान गरेका छन् ।
शनिबार श्री लूनकरणदास–गङ्गादेवी चौधरी साहित्यकला मन्दिरले विभिन्न विधाका आठ व्यक्तित्वहरूलाई सम्मान प्रदान गरेको छ । विगत २६ वर्षदेखि निरन्तररूपमा प्रदान गर्दै आइएका यी सम्मानहरू साहित्यकला मन्दिरका अध्यक्ष बसन्त चौधरी तथा नेपाल सङ्गीत नाट्य प्रज्ञाप्रतिष्ठानका कुलपति एवम् यस कलामन्दिरका सदस्य सङ्गीतकार रायनले संयुक्तरूपमा प्रदान गरेका छन् ।
यस क्रममा नेपाली वैज्ञानिक महावीर पुनआवद्ध राष्ट्रिय आविष्कार केन्द्रलाई गङ्गादेवी चौधरी स्मृतिसम्मान, अग्रज साहित्यकार तथा पत्रकार प्राध्यापक चूडामणि रेग्मीलाई सरस्वती गद्यसम्मान, वरिष्ठ इतिहास–संस्कृतिविद् प्रा डा वीणा पौडेललाई इतिहासशिरोमणि बाबुराम आचार्य शोधसम्मान, वरिष्ठ चित्रकार प्राज्ञ श्रीमती रागिनी उपाध्यायलाई अरनिको ललितकलासम्मान, वरिष्ठ कवि विश्वविमोहन श्रेष्ठलाई गोपालप्रसाद रिमाल काव्यसम्मान, वरिष्ठ देउडागायक प्राज्ञ नन्दकृष्ण जोशीलाई नारायणगोपाल सङ्गीतसम्मान, वरिष्ठ रङ्गकर्मी वीरेन्द्र हमाललाई बालकृष्ण सम रङ्गसम्मान तथा प्रसिद्ध युवा क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई ‘नेपाल नवप्रतिभासम्मान’ द्वारा सम्मानित गरिएको छ ।
सामाजिक भौतिक दूरी कायम गरी सीमित स्रष्टाहरूमाझ गरिएको यस ‘स्रष्टासम्मान समारोह’ मा आफ्नो मन्तव्य राख्दै संस्थाका अध्यक्ष कवि बसन्त चौधरीले विगत झन्डै तीन दशकदेखि निरन्तर र भव्य रूपमा आयोजना गर्दै आइएको यो क्रार्यक्रम यस वर्ष कोभिडको महामारीको निष्ठुरी समयले गर्दा सानो रूपमा आयोजना गरेको विचार व्यक्त गर्दै भने, ‘धेरै सम्मान र पुरस्कार पाइसक्नुभएका यहाँहरूका लागि यो सम्मान सानै होला तर । यो हाम्रो हृदयसँग जोडिएको सम्मान हो र सानै भए पनि यसको प्रेरणाले आगामी दिनमा यहाँहरूको सिर्जनाले सगरमाथा छोओेस् तर पैतालाले चाहिँ भुइँ नछोडोस् ।’
कार्यक्रममा सङ्गीत तथा नाट्य प्रज्ञाप्रतिष्ठानका कुलपति तथा यस संस्थाका सदस्य सङ्गीतकार रायनले “यस प्रतिकूल अवस्थामा पनि स्रष्टाहरूले आ–आफ्ना विधामा जुन सिर्जना उमारिरहेका छन्, त्यो नै आफैँमा प्रशंसनीय छ” भन्दै सिर्जनामा गतिशीलता आउनु निश्चय नै महत्वपूर्ण कुरा भएको बताए ।
सोही अवसरमा संस्थाका उपाध्यक्ष एवम् नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका उपकुलपति हरिहर शर्माले संख्याका हिसाबले उपस्थिति थोरै भएपनि एक स्रष्टा बराबर एक हजार महत्वको उपस्थिति रहेको भन्दै आज सम्मानित स्रष्टाले यस सम्मानलाई नै सम्मानित पारेको बताए ।
कार्यक्रममा पुरस्कृत स्रष्टाहरूका तर्फबाट वरिष्ट कवि विश्वविमोहन श्रेष्ठले आफ्नो मन्तव्यमा साहित्यकला मन्दिरले नेपाली भाषा, साहित्य, कला र संस्कृतिका क्षेत्रमा अतुलनीय कार्य गरेको र नेपालमा रहेका करिब तीन सयजति यस्ता संस्थामध्ये योगदानका हिसाबले यो संस्था सर्वोच्च रहेको बताए ।
समारोहमा आज सम्मानित कलाकार रागिनी उपाध्यायले संस्थाका अध्यक्ष बसन्त चौधरीलाई उपहार स्वरूप हनुमानको एक सुन्दर र कलात्मक चित्रकला उपहारस्वरूप प्रदान गरेकी छन् ।
 
    



