एनआरएनए केन्द्रिय निर्वाचन : को हुन् चार तहका मुख्य खेलाडी ?
एनआरएनको निर्वाचन नजिकिंदै गर्दा यो संस्थामा प्रभाव र पहुँच राख्ने हरेक तहमा खेल शुरु भईसकेको छ । तर यती धेरै चर्चा र होहल्ला हुने संथाका खास खेलाडी को हो त ? तपाईंहरुलाई लाग्न सक्छ निर्वाचनका मुख्य खेलाडी संस्थापक डा उपेन्द्र महतो ? होइन । हाल मुख्य चर्चामा रहेका जीवा लामिछाने ? झन होइन । उसो भए शेष घले ? कुमार पन्त ? कोहि होइनन् । खासमा एनआरएनएको अभियानमा हामीले सरर देखेका, सुनेका माथिका यि पात्र र त्यसपछि सुनिने डा. हेमराज शर्मा, कुमार पन्त, कुल आचार्य, बद्रि केसी कोहिपनि होइनन् । वास्तबमा एनआरएनएमा जो नेता, प्रमुख खेलाडी जस्तो देखिन्छ तिनले एनआरएनएको नेतृत्व छनौटमा प्रमुख भूमिका खेल्दैनन् । खेल्नै सक्दैनन् ।
खासमा एनआरएनएको नेत्रित्व छनौट एकाध ब्यक्तिमा भर पर्नेपनि होइन । खासमा एनआरएनएलाई नेतृत्व दिने, केन्द्रिय निर्वाचनमा हारजितको शक्ति र प्रभाव भएको मुलत चार शक्ति छ ।
(१) राजनितिक दल र त्यसका केहि नेता
हो एनआरएनएको अबको अक्टोबरमा हुने निर्वाचनमापनि शेष घले, कुल आचार्य, जीवा लामिछाने, डा. उपेन्द्र महतो, कुमार पन्त खास खेलाडी होइनन् । खास खेलाडी त पार्टी हुन् । नेपाली कांग्रेस, नेकपा एमाले (हिजोदेखि नेकपा समाजवादी-माधव नेपाल गुट), नेकपा माओवादी । यि प्रमुख खेलाडी हुन् । यिनमापनि नेपाली कांग्रेस प्रमुख खेलाडी हो । किनभने नेपाली कांग्रेसको भात्री संगठन नेपाली जनसंपर्क समितिका विश्वभरि करिब २५० महाधिवेशन प्रतिनिधी छन् । पार्टीमा यो मतले ठूलो अर्थ राख्ने हुँदापनि एनआरएनएमा ठूलो प्रभाव र महत्व राख्छ । विश्वभर छरिएका जनसंपर्क समितिलाई नेपाली कांग्रेसले दिने निर्देशन र नेपाली कांग्रेसका नेताका गूट पिच्छेका नेताको प्रभावले एनआरएनएको केन्द्रिय निर्वाचनमा ठूलो मतको प्रभाव पर्छ । त्यसैले एनआरएनएको निर्वाचनमा नेपाली कांग्रेस पार्टीगत रुपमा पहिलो खेलाडी हो ।
यो पार्टीका तर्फबाट प्रवाश कमिटी हेर्ने पूर्णबहादुर खड्का, युवा नेता गगन थापा र कोइराला खेमाका डा शेखर कोइराला प्रमुख खेलाडी हुन् । पार्टीगत रुपमा नेपाली कांग्रेसले जता मतदान गर्न भनेपनि प्रवाशमा गगन थापाको प्रभाव बलियो भएकाले एनआरएनएको गत निर्वाचनमा गगन थापाले कुमार पन्तलाई समर्थन गरिदिँदा निर्णायक भएको थियो । प्रवाशमा युवा शक्ति बढि भएकालेपनि प्रवाशमा गगनको साख माथि छ ।
यसपछि नेपाली कांग्रेसमा प्रवाशबाट राजनिति गर्ने, आफ्ना आफ्ना गूट (शेखर गुट, शशांक गुट, सिटौला गुट, देउवा गुट, मिनेन्द्र रिजाल गुट, बिमलेन्द्र निधी गुट, रामचन्द्र गुट) को मत बाँडिएपनि गगन थापाको मत खासै बाँडिन्न ।
कांग्रेसपछि एमाले (माधव नेपाल पक्षको नयाँ नेकपा (समाजवादी) सहितको दलको मत दोस्रो नंवरका खेलाडी हुन् । कांग्रेसपछि प्रवाशमा यिनै (फुट्नु अघिको समग्र एमाले) का कार्यकर्ता बढि छन् । एमाले समग्र एक हुँदा योगेश भट्टराई, राम कुमारी झाँक्री, प्रदीप ज्ञवाली, भिम रावल प्रमुख प्रभावशाली हुन् । परराष्ट्र मन्त्री हुनेहरु जहिलेपनि प्रभावकारि हुनेनै भए । त्यसैले समग्रमा पूर्व माओवादीका नेतामध्ये सिपी गजुरेलको प्रवाशमा अझैपनि प्रभाव राम्रो छ । नेकपा माओवादी केन्द्रमा प्रवाशमा बलियो भएका युवराज चौलागाइँ र बिप्लव माओवादीका धर्मेन्द्र बास्तोला प्रभावकारि मानिन्छन् । एनआरएनएको निर्वाचनमा पद, चुनावी तालमेल र अन्य जे प्रस्ताब हुन्छ यिनै नेताहरुसमक्ष राखिन्छ ।
यसबिचमा पार्टीगत रुपमापनि नेपाली कांग्रेसका धनराज गुरुङ, जनता समाजवादीका आङकाजी शेर्पा, माधव नेपाल पक्षकी राम कुमारी झाँक्री लगायतका नेताको अर्को प्रभाव पर्छ-जातिय भावनाको ।
त्यसपछि एनआरएनए अमेरिका, एनआरएनए बेलायत, एनआरएनए अष्ट्रेलिया, एनआरएनए पोर्चुगल लगायतका धेरै नेपाली बसोबास गर्ने देशमा जनतासमाजवादी र राप्रपा पनि केहि महत्वपूर्ण मानिन्छ । मध्यपूर्वमा धेरै नेपाली श्रमिक र मजदूरहरुको संख्या रहेकाले मधेशवादी दल र राप्रपाकोसमेत प्रभाव अर्थपूर्ण हुन्छ । तर ठूलो धनराशीनै खर्चिनुपर्ने तहमा यि पार्टीले खासै प्रभाव पार्दैनन् । बरु आफ्ना दलका तर्फबाट कि त बिचका नेताले ‘मेरो भोट यति छ’ भन्दै आर्थिक फाइदा लिन्छन् वा एक जना भएपनि उम्मेदवारीमा दाबि गर्छन् ।
(२) जीवा लामिछाने, डा. उपेन्द्र महतो, शेष घले
एनआरएनएको दोस्रो तहका खेलाडी हुन् यि । डा. उपेन्द्र महतोको पार्टीका वरिष्ठ नेता, सरकारी तह र एनआरएनए संस्थापकसमेत भएकाले र तिन कार्यकाल हाँकेकाले उनको प्रभाव बढि छ । यिनको राजनितिक बैचारिक प्रभाव भन्दापनि तटस्थ मतदातामा बढि प्रभाव पर्छ । पार्टीका वरिष्ठ नेताहरुलेपनि उनका कुरा झ्याप्पै काटिहाल्न सक्दैनन् ।
जीवा लामिछाने र डा. महतोको एनआरएनए नेत्रित्वमा लगभग सहमतिपनि हुन्छ । जीवा लामिछाने बैचारिकरुपमा कांग्रेस निकट रहेका, एनआरएनलाई नेत्रित्व गर्ने तहमा अब्बल मानिएका, लेखकसमेत रहेका, सफल उध्योगी, ब्यापारीसमेत रहेका, झ्याप्पै आग्रह र पूर्वाग्रहमा नउत्रिने, मिठो बोली र हरेक क्षेत्रमा क्षमतावान देखिएकालेपनि यिनको सर्वत्र प्रभाव छ ।
त्यसपछि अर्को खेमामा शेष घले छन् । एनआरएनए मात्रै होइन समग्र देशमा समस्या पर्दा आर्थिक सहयोगसमेत ओइराउन सक्ने छबी र अझ जनजातिको मत कता जाने शेष घलेको भूमिकाले खेल्छ । उनको खास यहि प्यानललाई भन्दापनि जीवा लामिछाने जता लाग्छन् त्यसको बिरुद्दमा वा बिरोधी प्यानललाई शेष घलेले समर्थन दिन्छन् ।
(३) कुमार पन्त, हेमराज शर्मा, कुल आचार्य र रबिना थापा
एनआरएनएको निर्वाचन र नेत्रित्व छनौटमा रबिना थापा बहेकका तिन अभियन्ता तेस्रो तहका खेलाडी हुन् । हाल अध्यक्षमा उम्मेदवारी दिएकालेपनि रबिना थापासमेत यि तिनको हाराहारीमा देखिएकि मात्रै हुन् । शर्मा र आचार्य दुबै कांग्रेस छबीका भएपनि यि दुई एक अर्कामा मिलेको देखिन्न । शर्माको शैक्षिक धरातल, एनआरएनएको निति, बिधान, ज्ञान र सिप हस्तान्तरण (नलेज ट्रान्सफर), जीवा लामिछाने एनआरएनए अध्यक्ष हुँदा यिनले खेलेको प्रवक्ताको भूमिकाले प्रभाव ठूलै छ । ‘कांग्रेसलाई सहयोग गर्दैन’ भन्ने इतर पक्षबाट आरोप खेपिरहेपनि बौद्दिक जगतमा उनलाई कांग्रेस भनेरै चिन्छन् र एनआरएनएको भित्रि तहमा भित्रभित्रै बसेर खुरुखुरु रणनिति बनाउन यि अब्बल मानिन्छन् । आलोचनालाई असाध्यै खेप्न सक्ने, भकाभक गाली गरेकालाईपनि हाँसीहाँसी सम्पर्क गरेर छलफल गर्न सक्ने यिनको खुबीलेपनि यिनलाई ‘भित्रिया अब्बल’, ‘डिजाईनर’ आदि भनेर हेरिन्छ ।
उता कुल आचार्य हाकाहाकी प्रवाशमा नेपाली कांग्रेसकै हस्ती भनेर लागेका प्रभावशाली ब्यक्ति हुन् । वागलुङ, पर्वत जिल्ला जिल्ला, पस्चिम क्षेत्र, कांग्रेस आदि भनेर आफूलाई उभ्याउन सक्ने क्षमता त छ नै । मत जेसुकै होस् कांग्रेसनै हुँ भनेर हाकाहाकी उभिएको हुनालेपनि कुललाई कांग्रेस बिचारबाट टसमस नहुनेले समर्थन गर्छन् ।
झ्याप्पै नमिठो नबोल्ने, नरम शैली अपनाउने, निकै कठिन संघर्षबाट ब्यवशायिक सफलता हाँसिल गरेकालेपनि यि एनआरएनएका खेलाडी बन्न सकेका हुन् । अर्को पाटोपनि छ कुलको । निकै पढेलेखेका, उच्च शिक्षा र ज्ञान लिएका, डाक्टर र समाजमा अनेक विषय र क्षेत्रमा अब्बल ठानिएकासितपनि यिनले टक्कार लिइरहेकाले त्यो साहसलाई मान्नेहरु निकै छन् । कांग्रेस ब्रित्तमा उच्च खाले नेतासम्मपनि यिनको पहुँच छ ।
झट्ट हेर्दा बाहिरबाट हाहु गरेको देखिन्न । तर कुमार पन्त निकै प्रभावशाली छन् । गत निर्वाचनमा गगन थापासम्मको समर्थन लिन सफल थिए । त्यस बाहेकपनि अन्य कांग्रेस खेमाको मत लिन सफल पन्त आलोचना खप्न र सुन्न सक्ने, एमाले (ओली र माधव नेपाल दुबै गुट) मा चिनिएका, कोरोना भाईरसको संकटका बेला निकै खटेका र एनआरएनएको काठमाडौं कार्यालयमा देखिएको बेथितिलाई ट्र्याकमा ल्याउन सक्ने यिनका समर्थक धेरै छन् । यिनको राजनितिक तहमापनि सबै पार्टीका माथिल्ला नेताहरुसित पहुँच छ ।
(४) नेता फकाउने, पार्टीमा प्रभाव पार्ने मझौला नेता
झट्ट हेर्दा माथिका तिन खाले खेलाडीनै प्रमुख हुन् जस्तो लाग्छ । तर यो चौथो तहका नेताको भूमिका र प्रभाव निकै प्रभावकारि छ । यो तहमा कांग्रेसबाट प्रवाशमा नारायण आचार्य, सिता सापकोटा, चिन्तामणी सापकोटा, अमेरिकाका डा. केशब पौडेल, हरोबोल भण्डारी र क्रिष्ण लामिछाने आदि छन् । अर्जुन नरसिं केसीको गुट लगायतका केहि नेतालाई प्रभाव पार्न सक्ने निकटता भएकाले रबिना थापाको खास भूमिकापनि यहि तहको हो । थापा खासमा शेष घलेको निकट भन्नेहरु धेरै छन् । तर साहसका साथ अध्यक्षमै उम्मेदवारी दिएकाले उनी तेस्रो तहमा परेको देखिन्छ । यो तहका नेताहरुले पार्टीका नेता र पार्टीसित एनआरएनएका नेताहरुलाई ‘फलानो फलानो’ लाई जिताउनुपर्छ, पार्टीलाई यसो गर्दा फाईदा हुन्छ भनेर लबिङ गर्छन् ।
त्यसपछि पार्टीमा ओली र माधव नेपाल पक्षका तर्फबाट प्रभावशाली भनेका पुस्प आचार्य, सुभास पोखरेल, रामशरण सिम्खडा र राजेन्द्र पुडासैनी हुन् । सुभास पोख्रेल र राजेन्द्र पुडासैनी (माधव नेपाल समुहको दल दर्ता नहुँदासम्म) नेपाल पक्षमा थिए । उता रामशरण सिम्खडा र पुस्प आचार्य ओली पक्षमा थिए । खासमा ओली पक्षको पार्टीगत तालमेल मिलाउन सिम्खडा माहिर मानिन्छन् । उता सुभास पोखरेल माधव नेपाल पक्षका प्रवाशमा प्रभावशाली ब्यक्ति हुन् । एमाले एक हुँदापनि यिनको प्रभाव अन्यको भन्दा माथिनै थियो । यिनी नेकपा एमालेको भात्री संगठन प्रवाशी मन्चको युरोप संयोजकसमेत थिए ।
त्यसपछि नेकपा माओवादी केन्द्रका तर्फबाट लोक प्रसाद दहाल, आर पी शर्मा, सनी कुमार ओली, डिबी क्षेत्रीहरुले पनि पार्टीगत रुपमा राम्रै प्रभाव पार्न सक्छन् । हो यिनै नेताहरुले हो पार्टीको जनवर्गिय संगठन र नेतालाई प्रभाव पार्ने । चुनाबी तालमेलमा संयोजन गर्ने । पार्टीका वरिष्ठ नेतासमक्ष आफ्नो प्रभाव र मतकोलागि खुसामत गरेर मिलाउने ।
खासमा पार्टीमा लेनदेनपनि वरिष्ठ तहका नेताले सिधै गर्दैनन् । किनभने पार्टीका नेताले दरो दाम असुल्ने पर्वपनि हो, एनआरएनए केन्द्रिय निर्वाचन । सबैले गर्छन् भन्न मिल्दैन । तर यहि मध्यम खालका नेताले उमेदवारहरुसित बार्गेनिङ गर्ने हुन् । पार्टीलाई विश्वास दिलाउने र सहमती गराउने नेतापनि यहि तहका हुन् । वरिष्ठ नेताहरुले सिधै बार्गेनिङ गर्न नसक्ने, नगर्ने हुनालेपनि मध्यम खालका नेताले पूलको काम गर्छन् ।