बुधबार, असोज २३, २०८१

अनौठो त्यो रोमाञ्चकारी यात्रा

कमलराज भट्टराई२०७८ भदौ ५ गते २१:२८

तोरीबारीमा हामी दुई रात बस्यौँ । तेश्रो दिन बिहानै खाना खाएर त्यहाँबाट बिदा भयौँ । केहीमाथि डाँडामा आएर अलिकति थोरै भिरालो ठाउँ हिँडेपछि एउटा अलि ठूलो बजारछेउ पुगियो । त्यहाँ एकजना पिताजीका परिचित आइपुगे । उनले हाम्रो लागि एउटा सानो गाडी बन्दोबस्त गरिदिएका रहेछन् । गाडी हाम्रो छेउमा आएर घ्यार्र घ्यार्र गर्दै रोकियो । आफैं कुद्ने वस्तु आफ्नै अगाडि पहिलोपटक देखेर हामी केटाकेटीहरु डराएका थियौँ । केही बजारे खानेकुरा किनिदिएर फकाउँदै हामीलाई गाडीमा राखियो । दाजुबाहेक अरु केटाकेटीहरु ठूला मान्छेका काखमा बस्यौँ । गाडीमा फलामे डण्डीको खुल्ला बेरा थियो । बाहिर रमिता हेर्न मिल्ने ।

त्यो बजार पहिले हाम्रो घर आउजाउ गर्ने धेरैजना र पिताजीले पनि भन्ने गरेको चमर्ची बजार रहेछ । हाम्रो गाडी चमर्चि बजार छोडेर अगाडि बढ्यो । बाटामा ठूल्ठूला रुखका फेदमा चुल्हा बनाएर भात पकाउँदै गरेका मानिसहरु फनफनी घुमेजस्तो लाग्ने ।

घुमाउरो बाटोमा गाडी हिँड्दा त्यस्तो लाग्दो रहेछ । पछि थाहा भयो । कतै साना साना बजारहरु, चिया बगान र जंगल छिचोल्दै गाडी कुद्यो । निकै बेरपछि पहाडको फेदैफेद हुइँकिन थाल्यो । तल ठूलो तुर्सा खोलाजस्तै हरियो खोला अलिअलि बगेको देखिन्थ्यो । मैले ‘अस्तिको तुर्सा खोला आएछ’ भनें । काकाले ‘होइन यो त टिस्टा खोला हो’ भनेर चिनाउनु भएको थियो । दाजुले बाघेपुलचै काँ हो? भनेर सोध्नुभयो ।

एकैछिन पछि हामी खोलामाथि हिँड्न थाल्यौँ । काकाले बाघे पुल भनेर चिनाउनु भयो । पुल कटेर अघि बढ्दै गर्दा निदाएछु । बीचमा कति समय बित्यो थाहा भएन । हाम्रो गाडी ठूलो बजारमा आएर रोकियो । ‘सिलगढी पुगियो’ भनेर काकाले भन्नुभयो । हामी त्यहीँ उत्रेर अर्को सानो गाडीमा चढ्यौँ । त्यो गाडी एकैछिन समथर ठाउँमा हिँडेर पहाडतिर उक्लियो । हेर्दाहेर्दै हरिया पहाडहरु फनफनी घुम्न थाले । हामीलाई उल्टी आउन थाल्यो । आमाले हत्तपत्त बर्को थाप्नुभयो । धेरै बेर त्यो गाडीमा हिँडिएछ । पछि निदाएँछु । गाडी रोकिएर हल्ला हुन थालेपछि ब्युँझिएँ । त्यो दार्जिलिङ रहेछ ।

बजार छेउबाट हिँड्दै तेर्सो ओरालो हरियो चियाबारी हुँदै अलि पर पुगेपछि सिमेन्टले बनाएको पोखरी देखेँ । ठुलो पोखरीमा दुईतिरबाट ठूला नालामा पानी बगाएर पानी जमाइएको थियो । पोखरीको एकछेउबाट एउटा ठुलो नालाबाट पानी पाखैपाखा तलतिर लगिएको थियो । त्यो पानी तल लगेर बिजुली निकालेर बालेको छ भन्थे । हामी ओरालो तेर्सो हिँड्दै बेलुका तल खोलामा पुग्यौँ । त्यो ठाउँलाई पुलबजार भनिँदो रहेछ । बेलुका एउटा खाली कटेरामा बास बस्यौँ । माल–सामान लिन जाने ढाक्रेहरु पनि अन्य कटेरामा बास बसेका थिए । हाट बजार लाग्ने दिन मानिसहरु बसेर दोकान थाप्ने र अरुबेला खाली हुने रहेछ ।

बेलुका सागसब्जी किन्न जाँदा गणेश काकाले एउटा ठूलो पहेलो फल पनि किनेर ल्याउनु भयो, त्यसको नाउँ मेवा रहेछ । पिताजीले बोक्रा ताछ्दै गर्दा एउटा हामीजस्तै फुच्चे केटा आएर ‘बाजे मलाई पनि अलिकति दिनु न’ भनेर माग्यो । चाना बनाएर सबैले खायौँ । त्यो केटाले पनि पायो । पहिलो पटक मेवा खाइयो । त्यो मिठोपन पछि मधेश आएपछि कति मेवा खाँदा पनि मेटिन सकेन । यो बडो अनौठो र रोमाञ्चकारी यात्रा थियो । चियाबारी, धेरै ठूला बजार, अनेक किसिमका खानेकुराहरु, बिजुली बत्ती यस्ता धेरै नयाँ कुराहरु पहिलोपटक देख्न पाएको यात्रा थियो त्यो ।

त्यसपछि २०२२ सालमा बिजनबारी जाँदा दोश्रोचोटि त्यस्ता दृश्यहरु देखेको थिएँ । म पछिका भाइबहिनीहरुले त धेरै पछि २०२८, २९ सालतिर मात्र देख्न पाए । भाइ गोविन्दले चाहिं घैलाडुवा बस्दा भद्रपुर आईजाई गर्दा गाडी र बिजुलीबत्ती देखेका थिए । हामी पुललबजारबाट बिहान हिँडेर बिजनबारी हुदै झ्याँपीमा खाना खाएर कैदले हुँदै बेलुका बुधबारे भन्ने ठाउँमा बास बस्यौँ । बुधबारेबाट बिहान उकालो लाग्यौँ । ठाडो उकालो पानी कतै नपाइने । धेरै माथि पुगेपछि बाटाका छेउमा भोटेनीहरुले बेच्न राखेका भुटेका भटमास किनिदिनुभयो । तर हामीलाई केही बेर नखान भनियो । पानी पाइने ठाउँमा नपुग्दासम्म बेलाबेला अस्कोटको गोजीबाट एकएक दाना झिकेर खाँदै गयौँ । तिर्खा लाग्दा कटुसका हरिया पात मुखमा लायो भने पानी आउँछ भनेर हरियो पात चुस्तै हिँडेर धेरै माथि गएपछि पानी खान पाइयो । कतै टाढाबाट बाँसको नालामा ल्याएर धारो बनाइएको रहेछ । त्यहीँ खाना पकाएर खाइयो । खाना खाएर एकछिन ठाडो उकालो हिँडेपछि लिङ्गिप बजार (हाल रिम्बिक) पुगियो । फराकिलो बाटाका दुईछेउ दोकानै दोकान थिए । कतै पुरी तरकारी, जुलवी पाकिरहेको चाख्यौँ ।

भूटानबाट हिँड्ने बेलामा गाउँलेले दाजुलाई केही पैसा दिएका रहेछन् । दुई आनाको एक टपरी जुलवी ल्याउनुभयो । बा आमाबाहेक हामीले खायौँ । त्यस्तो मिठो खानेकुरा पहिलोपल्ट देख्न र खान पायौँ । त्यसपछि दोश्रोपल्ट २०२२ सालमा त्यहीँ पुगेर फेरि खाने अवसर पाएको थिएँ ।

त्यो दिन हामी सिरिखोला भन्ने ठाउँमा बास बस्यौँ । त्यहाँ ठूला ठूला जुरो नभएका गाईहरु थिए । टिनका जस्ता ठूल्ठूला भाँडामा भरिभरि दुध दुहेको देखेर छक्क परियो । ती गाईलाई सिरिगाई भनिँदो रहेछ । कसैकसैले बेलायती गाई पनि भन्दा रहेछन् । एउटा टिनमा दुध ल्याएर बेलुका सबैले खीर खायौँ । बिहान उठेर बिस्तारै लेकाली बाटो उकालो लाग्यौँ । बाटोमा पानी भएका ठाउँमा खाना खाएर उज्यालैमा फोक्टे भन्ने हिउँ पर्ने ठाउँमा ढाक्रेहरुसँगै बास बस्यौँ । त्यहाँ एकजना दार्जिलिङतिर काम गर्ने सानो बच्चासँगको परिवार हामीसँग मिसियो ।

बिहान छिटै तातोपानी र खाजा खाएर अगाडि बढ्यौँ । सबैतिर हिँउ नै हिँउ । पद्मा बैनीलाई आमाले बोक्नु भएको थियो । हामी तीनभाइ खाली खुट्टा हिँउमा हिँड्दै गयौँ । अगाडिको डाँडामा घाम लाग्दा हिँउ रातो देखिएको अचम्म मान्दै हामी त्यतातिर दगुर्‍र्यौं । झोला बोकेको हुँदा दाजु र म छिटो कुद्न सकेनौँ । गोविन्द रित्तो हुनाले छिटो कुदे । हामीले भेट्न सकेनौं । अगाडि जाने ढाक्रेहरुले समाएर राखेछन् । पद्मा पनि ‘हुइँमा आफैँ हुँइमा आफैं’ भन्दै उत्रिन बल गरी । आमाले डोकोबाट उतारेर हिँड्न छोडिदिनुभयो । एकछिन् हिँड्दा चिसाले रुन थाली । त्यसपछि हत्ते गरिनँ । हामी तीन भाइ हिँउमा रमाइलो गर्दै अगाडि बढ्दै गयौँ । धेरै पर घमाइले भन्ने ठाउँमा दाउरा र पानी नजिकै पाइने हुँदा बिहानको खाना छिटोछिटो खायौँ । फालेलुङ कोठी पुगेर फाटकबाट नेपालतिर छिरेर ओरालो लाग्नुपर्ने र बास बस्ने ठाउँ नपाइने हुँदा हतार हतार सिरिमग्न (गुन्द्रुक) र भात खाएर हामी बाटा लाग्यौँ । केही बेर हिँडेपछि कोठी (भारतीय सीमा प्रशासनको कार्यालय) छेउको फाटक (सिमामा रहेको गेट) पुग्यौँ ।

यतिबेलासम्म डाँडैडाँडा तेर्से बाटो हिँडेका थियौं । अब उताको बाटो भिरालो र हिँउले ढाकेको थियो । एकैछिन विश्राम गरेर भारीतारी मिलाएर ओरालो लाग्यौं । मान्छे हिँडेर बनिएका हिँउका डोबमा पाइला राख्दै हिँड्नुपर्ने । गोडा चिप्लिए भिरबाट लडिने । गोविन्द र म हिँड्न सकेनौँ । मलाई हिजो हामीसँग भेट भएका लाहुरेले झोलामाथि राखेर बोके । गोविन्दलाई गणेश काकाले । लाहुरेकी जहान र आमाले आ–आफ्ना नानीहरु बोक्नुभएको थियो । हामी कष्टसाथ हिँड्दै फेदी आइपुग्यौँ । सानो ओढारमा चिया खाजा खाएर अगाडि जाने कुरा भयो । लाहुरेले उसकी जहान र बच्चालाई डाँडो कटाएर हाम्रो जिम्मा छोडेर उतै फर्किए । हामी खोला तरेर तेर्सैतेर्सो सजिलो बाटो हिँड्दै परको ठूलो ओढारमा बास बस्न पुग्यौँ । त्यो ओढार धेरै ठूलो थियो । उता जाने र फर्किने मान्छेहरु त्यहीँ बास बस्दारहेछन् । दाउरा पानीको सुविधा राम्रो थियो । यताबाट उता डाँडापारी (बिजनबारी) जानेले बाख्रा, कुखुरा बेच्न लगेका थिए । त्यही ओढारमा बास बस्दा मात्रै भोलिपल्ट डाँडो काटेर अर्को बासमा पुगिने हुँदा प्रायः भरियाहरु त्यहीँ बस्नेरहेछन् । रातभरि आगो बलेकै हुन्थ्यो । त्यहाँ बाघ, भालु वनमान्छे आउँछ भनेर एक्लै दोक्लै बस्नु जोखिम हुने रहेछ ।

हामी बिहानै उठेर चिया खाईवरि अगाडि बढ्यौँ । एकछिन जंगलको बाटो हिँडेपछि ठूल्ठूला फाँट र गाउँ हुँदै खोला तरेर सानो बजार पुगियो । त्यहाँ हामीलाई केही खानेकुरा किनिदिनु भयो र हामी खाँदै अगाडि बढ्यौँ । त्यो बजारलाई च्याङथापु जगात भन्दा रहेछन् । पछि हामी च्याङथापु बसाइँ गएपछि मात्र थाहा भयो । निकैबेर तेर्सो केही ओरालो हुँदै हिँडेपछि एउटा ठूलो खोलाको फलामे साँगु (झोलुङ्गे पुल) तर्‍यौँ । एकछिन तेर्सै हिडेपछि सानो खोला तरेर पाटी र धारा भएको ठाउँमा पुग्यौँ । त्यो ठाउँलाई नुवाखोला पाटी भन्दा रहेछन् । मध्यान्हतिर त्यहाँ पुगेका हामीले त्यहीँ खाना खायौँ । हामीसँग आएकी महिला उता पारी ताप्लेजुङतिरको कुनै गाउँतिर जाने रहिछन् । हामी दाजुभाइ उनलाई पर खोलाको पुलसम्म पुर्‍याउन गयौँ । त्यस बेलुका सेरेजा भन्ने गाउँमा जेठी फूपुको घरमा गएर वास बस्यौँ ।

दमक–१, झापा

तपाइँको प्रतिक्रिया