आइतबार, जेठ ६, २०८१

ईटालीले ४० वर्ष माथिकालाई कोरोनाको तेस्रो खोप लगाउने

नेपालप्लस संवाददाता२०७८ कार्तिक २५ गते १४:५६

युरोपमा कोरोना भाईरसको संक्रमण फेरि बढिरहेका बेला ईटालीले ४० वर्ष माथिकालाई तेस्रो खोप लगाउने भएको छ ।

महामारीको चौथो छाल युरोपमा देखिएको भन्दै इटालीले बूस्टर भ्याक्सिनका लागि योग्य व्यक्तिहरूको संख्या विस्तार गर्ने निति लिएको हो ।

स्वास्थ्य मन्त्री रोबर्टो स्पेरान्जाले बुधबार चेम्बर अफ डेपुटीमा सांसदहरूलाई भने “४० वर्ष वा माथिका जो कोहीले डिसेम्बर १ मा सुरु हुने बुस्टर शट लिन सक्छन् ।”

इटालीले कम्तिमा छ महिना अघि खोपको अन्तिम डोज पाएका ६० वर्ष वा सोभन्दा माथिकाहरूलाई बूस्टरहरू प्रदान गरिसकेको छ ।

अस्ट्रिया र जर्मनी लगायतका केही उत्तरी देश र पूर्वी युरोपका धेरै राष्ट्रहरू जत्तिकै कोरोना भाइरस महामारीले ईटालीलाई कडा असर पारिसकेको त छैन । तर अन्य युरोपेली देशहरुमा देखिएको ब्यापक संक्रमणबाट पाठ सिकेर कोरोना भाईरस संक्रमणलाई अहिलेकै अवस्थामा रोक्न ईटालीका अधिकारीले कोसिस गरिरहेका छन् ।

कोरोना संक्रमण अन्यत्र भन्दा हाल ईटालीमा कम देखिनुमा विशेषज्ञहरूले ठूलो संख्यामा भएको इटालीको खोप दर ठानेका छन् । ईटालीमा १२ वर्ष माथिका र खोपका लागि योग्यहरू मध्ये लगभग ८४ प्रतिशतले पूर्ण रूपमा खोप लगाइएका छन् ।

महामारीको सुरुदेखिनै इटालीले सुपरमार्केट, सिनेमाघर, चर्च र सामूहिक रुपमा भिडभाडयुक्त ठाउँहरूमा मास्क लगाउन आवश्यक बनाएको छ । अन्य महामारी रोक्ने उपायहरूमा खोप लगाएको ग्रीन पास प्रमाणीकरण, कोरोना लागेर निको भएको प्रमाण वा कार्यस्थलहरूमा जान कोरोना परिक्षण गर्दा नकारात्मक देखिएको प्रमाण यस शरद ऋतु सुरु हुने बित्तिकैदेखि आवश्यक बनाएको छ । यि प्रमाण पहिले नै इन्डोर स्थलमा भोजन गर्दा, जिम, संग्रहालय र थिएटरहरूको लागि आवश्यक बनाइएको थियो ।

४० वर्ष र माथिका लागि बूस्टर लगाउन योग्य भन्दै स्पेरान्जाले बूस्टरहरूलाई कोरोना विरुद्ध लड्ने देशको रणनीतिको एक आवश्यक अंशका रुपमा ब्याख्या गरेका छन् ।

इटालीको सरकारी तथ्याङ्कहरूका अनुसार अहिलेसम्म इटालीमा बूस्टरहरूका लागि योग्य भएका लगभग ४० प्रतिशत मानिसहरूले तेस्रो खुराक प्राप्त गरिसकेका छन् ।

डाक्टर र संक्रमण बिज्ञहरूले इटालीमा हालैका सबै संक्रमितहरूमध्ये लगभग २५ प्रतिशत नावालिगहरूमा भएको बताएका छन् । अधिकारीहरूले पाँच देखि ११ वर्ष उमेर हुनेका लागि कोरोना खोप लगाउन चाँडै स्वीकृति दिने आशा गरेका छन् ।

तपाइँको प्रतिक्रिया

फेसबुक