“कांग्रेसको जनसंपर्क समितिहरुका संरचना बदल्नुपर्ने समय आएको छ” गगन थापा

युवा नेता गगन थापा
नेपाली कांग्रेसका चर्चित युवा नेता गगन कुमार थापाले नेपाली कांग्रेस आवद्द जनसंपर्क समितिहरुको संरचना बदल्नुपर्ने समय आएको बताएका छन् ।
जनसंपर्क समिति बेल्जियमको पाँचौ अधिवेशनको उद्घाटन समारोहमा बोल्दै थापाले उक्त कुरा बताएका हुन् ।
नेपाली कांग्रेसको चौधौं महाधिवेशनको ब्यस्त समयबाट फुर्सद निकालेर नेता थापा जनसंपर्क समितिको अधिवेशनमा शुभकामना दिन आएका थिए । जनसंपर्क समितीहरुका समस्या र विदेशमा रहेका कांग्रेस कार्यकर्ताहरुलाई मुल पार्टीसँग जोड्न निरन्तर सकृय रहेका थापाले जनसंपर्क समितीका कतिपय समाचारहरुले आफू निरास भएको बताए ।
उनले भने “अस्तिको केन्द्रिय समितिको बैठकमा करिव डेढ घण्टा संपर्क समितिहरुको बारेमै छलफल भयो । म यो त्यो भन्दिन । तर फलानो देश, अर्को देश, यो देशको कृयाशिल सदस्य यहाँँ बाँडिएन त्यहाँ झगडा भयो, अर्को देशमा विवाद देखियो भनेर धेरै बेर हामीले छलफल गर्नुपर्यो । नेपालको विवाद भएको जिल्लाहरुमा भन्दा जनसंपर्क समितीका विवादका बारेमा बढी छलफल गरिरहेका छौं ।”
उनले थपे “यो अवस्था आउँला भनेर मैले कहिल्यै सोचेको थिइन । मलाई यस्तो होला भन्ने अनुमान नै थिएन । यि र यस्ता समस्याहरुमा अधिवेशन सकिए पछी आमुल रुपमा सोच्नपर्ने भएको छ । हामीले जनसंपर्क समिती कस्तो बनाउन खोजेको हो ? किन यस्तो भएको छ ? हामीले अलिकती फर्म्याट बदल्न पर्ने हो कि ! कहीं न कहीं त केही समस्या जरुर भएको छ । के गर्यो भने हामी यो अप्ठ्यारो बाट बाहिर निस्किन सकिन्छ होला ?”
सन २००२ पछी तेस्रो मुलुकहरुमा सकृया बन्दै गैरहेका प्राय: जनसंपर्क समितिहरुमा विगत एक दशक यता ब्यापक विवाद देखिएका छन् । अमेरिका, जर्मनी, बेल्जियम, डेनमार्क लगायत अधिकांश देशहरुमा प्राय दुई गुटहरु संचालनमा छन् । ति गुटहरुले आफ्ना केन्द्रिय नेताहरुको चाहना अनुरुप काम गर्ने गर्दछन ।
नेता थापाले यस्ता कृयाकलापले अन्तत पार्टीलाई नै कमजोर बनाउने धारणा राखे । उनले भने “जनसंपर्क समिती भनेको पार्टीको निकाय हो । तर गुटगत झगडा र विवादले मलाई निरास बनाउने गर्दछ ।”
कार्यक्रममा बोल्दै थापाले चौधौं अधिवेशनको मिती तय भएको भए पनि पार्टीका साथीहरुलाई त्यो मितिमा अधिवेशन हुन्छ भन्ने रत्तिभर पनि विश्वास नबहेको उल्लेख गरे । “त्यो सर्ने मिती हो भन्ने थियो । त्यो सम्मको हाम्रो अवस्था भएको थियो । तर अब हामी सबै कुरा सम्हाल्दै अधिवेशनको यात्रामा अगाडि बढीसकेका छौं । अब कुनै फेरबदल हुँदैन” उनले भने ।
थापाले अहिलेका गाउँ, जिल्ला र प्रदेश तहका अधिवेशनहरु नयाँँ उर्जा थपिएको बताउँदै सुनाए “तर यसरी उर्जाका साथ आएका नयाँँ साथीहरुलाई नेतृत्व समेट्न सक्छ कि सक्दैन, संयोजन गर्न सक्छ कि सक्दैन ? आगामी चौधौं महाधिवेशमा थापा आफैं महामन्त्रीका उम्मेद्वार छन ।

जनसंपर्क समिति बेल्जियमकी सभापती सिता सापकोटा
कार्यक्रममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बेल्जियम जनसंपर्क समिती युरोपको राजाधानीमा रहेको हुनाले पनि यो समितिको निकै ठुलो महत्व रहेको बताए । देउवा छोटो शुभकामना मन्तब्य दिएर बाहिरिएका थिए ।
कार्यक्रममा नेता गोविन्द भट्टराइ तथा सुरेन्द्र पाण्डेको पनि सहभागिता रहेको थियो ।
कार्यक्रम अघि बेल्जियम संपर्क समितिका सभापति सिता सापकोटाले पाँचौ अधिवेशन ब्यापक एकताको अधिवेशन भएको बताइन् ।
उनले भनिन् “हामीबिच भएका सबै खाले विवादहरुमा सहमति भएको छ । अब कुनै समस्या छैन ।”
जनसंपर्क समिती बेल्जियम सबैभन्दा बढी बिवाद रहेको समिती थियो । सपकोटाको कार्यकालमा एउटा पक्षले निरन्तर असहयोग गरेको थियो । तर अब सबै समस्या सुल्झिएको सापकोटाले बताइन् ।