शुक्रबार, वैशाख २१, २०८१

कांग्रेसको महाधिवेशन प्रतिनिधी बेलायती नागरिक, अधिकांश कृयाशिल सदस्य नक्कली (उजुरिसहित)

अध्यक्ष ४, महामन्त्री ५, चक्रिय प्रणालीमा पद बाँडफाँड

नेपालप्लस संवाददाता / काठमाडौं२०७८ मंसिर १८ गते १४:१२

नेपाली कांग्रेसको भातृ संगठन जनसंपर्क समिति बेलायत (जसस बेलायत) मा कांग्रेसको विधान विपरित अधिकांश महाधिवेशन प्रतिनिधी बेलायती पासपोर्टधारी र फर्जी सदस्यता बितरण गरेपछि विवाद चरमोत्कर्षमा पुगेको छ । कांग्रेसको विधान बिपरित सक्रिय सदस्य, महाधिवेशन प्रतिनिधिसबै नेपालको कानुनबिरुद्द र अवैधानिक तरिकाले छनौट भएको भन्दै केन्द्रिय समितिमा सप्रमाण उजुरि दिंदापनि केन्द्रले कुनै वास्ता नगरेपछि बेलायतस्थित नेपाली कांग्रेस कार्यकर्ताहरु रुष्ट बनेका छन् ।

जसस बेलायतका संस्थापक महामन्त्री बिकास देवकोटाले कांग्रेस केन्द्रिय कार्यालयमा दिएको दर्ता नंवरसहितको उजुरि

जसस बेलायतका संस्थापक महामन्त्री बिकास देवकोटाले जसस बेलायतले वितरण गरेको कृयाशिल सदस्यतामा भएको अनियमितताका बारेमा गत नोभेम्बर ८ तारिखका दिन नेपाली कांग्रेसका महामन्त्री तथा नेपाली जनसंपर्क समितिका लागि कृयाशिल सदस्य सिफारिस छानविन समितिका संयोजक पूर्ण बहादुर खड्काका नाममा पत्रनै लेखेका थिए । त्यसको दुई दिन पछी नोभेम्बर १० मा केन्द्रिय कार्यालयले उक्त पत्र दर्ता गर्‍यो जसको दर्ता नं. ७३ छ ।

पत्रमा स्पष्टसँग लेखिएको छ “नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सहभागी हुनका लागि नेपाली जसस बेलायतले सिफारिस गरेर पठाएका कृयाशिल सदस्यहरुको नामावलीमा अधिकांश सदस्यहरु फर्जी र केही कपोलकल्पित नामहरु रहेकोले त्यसको छानविन आवश्यक देखिएको हुनाले सकृय सदस्यहरुको विवरणको सत्यता पत्तालगाउन छानविन समिती बनाउन अनुरोध गर्दछु ।”

तर पत्र दर्ता भएको दुइहप्ता वित्दा पनि कांग्रेस केन्द्रिय कार्यालयबाट कुनै पहल भएन । बरु जसस बेलायतका सभापति युवराज गुरुङले २७ नोभेम्बरका दिन जनसंपर्क समितीको अधिवेशन गरे । २ हजार भन्दा माथि सकृय सदस्य रहेको भनिएको बेलायतबाट महाधिवेशमा १४ जना प्रतिनिधिहरु सहभागी हुन्छन । विदेशबाट कांग्रेस महाधिवेशनमा जाने प्रतिनिधि भारतबाहेक बेलायतको सबैभन्दा ठूलो संख्या हो ।

समितिमा २ हजार ५ जना कृयाशील सदस्य रहेको कागजात जनसंपर्क समितीसँग छ । तर ६ वर्ष पछी भएको सो अधिवेशनमा जम्मा ३८ जनाको मात्र उपस्थिती रहेको थियो । अधिवेशनमा सभापतिका लागि निवर्तमान सभापति युवराज गुरुङ, महेशकुमार दाहाल, कोपिला सुब्बा र युवराज सिंहले उमेदवारी दिएको थिए । सभापतिमा उम्मेद्बारी दिइएका ४ जनालाई नै आपसी सहमतिमा सभापति बनाइको छ । प्रत्येकले नौ नौ महिना सभापतिका रुपमा कार्यभार सम्हाल्ने र सबैजना सभापति बन्ने सहमति भएको छ ।

त्यस्तै महामन्त्रीमा रेशम बस्याल, कुश बस्नेत, रोमियन चेमजोङ, नोर्बु शेर्पा र इन्द्रहाङ लिङ्देनको उम्मेद्बारी परेकोमा पाँचै जनालाई महामन्त्री बनाइएको छ ।

तर नेपाली कांग्रेसको विधान अनुसार यसरी बनाइएको समितिले वैधता पाउँदैन । हुन त, आयोजकहरुले विधान संशोधन गरेर यस्तो प्रावधान राखेको बताएका छन् । तर केन्द्रको सर्कुलेशनमा भने जनसंपर्क समितिका कुनैपनि फेरबदलहरु केन्द्रिय विधानसँग नबाझिएको हुनुपर्ने उल्लेख छ ।

नेपाली कांग्रेसको विधानको धार १४ उपधारा ६ अनुसार जनसंपर्क समितिहरुको अवधी ३ वर्ष हुने स्पष्ट किटान गरेको छ र चक्रिय प्रणालीको कहींकतै उल्लेख गरेको छैन ।

अधिवेशन भएकै दिन दिन डा. सम्पूर्णानन्द ढुंगानाको संयोजकत्वमा खुशी लिम्बु सदस्य सचिव, राजेन्द्र खरेल एवं केशव भण्डारी सदस्य रहेको निर्वाचन समितिले महाअधिवेशन प्रतिनिधि पनि चयन गरेको छ । त्यसमा विश्वआदर्श पण्डित, कोपीला सुब्बा, विज्ञान प्रसाईं, केशबहादुर गुरुङ, इन्द्रहाङ लिङ्देन, तर्कजंग गुरुङ, नरकुमारी लिम्बु, कुमारी गुरुङ, महेश दाहाल, आलेख चौहान, युवराज गुरुङ, विनोद मोक्तान, सूर्य नेम्वाङ र योगेन क्षेत्री छन् । केन्द्रिय प्रतिनिधिमध्ये पण्डित बाहेक सबै बेलायती पासपोर्टबाहक हुन् ।

कांग्रेस महाधिवेशन प्रतिनिधी नेपाली राहदानीबाहकनै हुनुपर्ने भन्दै नेपाली कांग्रेस, केन्द्रिय निर्वाचन समितिले जारि गरेको सर्कुलर

नेपाली कांग्रेसको विधानको धारा १४ (ख) मा महाधिवेशन प्रतिनिधि बन्नका लागि नेपाली नागरिक हुनुपर्ने उल्लेख छ । कांग्रेस केन्द्रिय समितीको गत श्रावण ३० मा बसेको बैठकले जनसंपर्क समितिका बारेमा बिभिन्न निर्णय गरेको थियो । ति निर्णय केन्द्रिय कार्यालयले मंसिर १२ गते सबै जनसंपर्क समितिहरुलाई पुन: सर्कुलर गरेको छ । त्यसमा महाधिवेशन प्रतिनिधि बन्न नेपाली नागरिकनै हुनुपर्ने उल्लेख छ । तथापी बेलायतबाट भने प्राय: सबै जना विदेशी नागरिक नै महाधिवेशन प्रतिनिधि बनेका छन् ।

बेलायतको कानुन अनुसार बेलायतमा बसोवास गर्नेहरुका लागि दोहोरो नागरिकता वैधानिक मानिन्छ । यसैको फाईदा उठाएर धेरै नेपालीहरुले बेलायती र नेपाली दुबै राहदानी प्रयोग गर्ने गरेका छन ।

“नेपालको कानुनमा अबैधानिक भएपनि धेरैले आवश्यकता अनुसार दुबै राहदानी प्रयोग गर्ने गर्दछन् । नेपाल सरकारको पहुँच त्यहाँसम्म नभएकोले यो विशुद्द नैतीकताको कुरा हो” बेलायतमा कार्यरत एक नेपाली अधिवक्ता बताउँछन ।

जनसंपर्क समितिका एक सदस्य भन्छन “अहिले महाअधिवेशन प्रतिनिधि चुनिएकाहरुले पनि दुबैथरी राहदानी प्रयोग गर्ने गरेका छन् । तर निवर्तमान सभापति तथा महाअधिवेशन प्रतिनिधि युवराज गुरुङले भने विभिन्न कार्यक्रममा आफू बेलायती नागरिक भएको बताउने गरेका छन् । गुरुङ देउवा पत्नी आराजु राणाका निकट मानिन्छन् ।

२७ नोभेम्वरको अधिवेशन पछी जनसंपर्क समितिमा लामो समय काम गरेका तथा नेपाली कांग्रेसको अन्तर्राष्ट्रिय सम्बन्ध तथा विदेश नीति सदस्य आरके त्रिपाठीले फेसबुकमा स्टाटस लेखेका छन्-“बेलायत कांग्रेसले लज्जित बनायो । सभापतिमा उम्मेदवारी दिएका ४ जनानै सभापति निर्वाचित । कार्यसमितिमा उठेका सबै निर्वाचित । स्वीकृत कियाशील सदस्य संख्या दुई हजार माथि । अधिवेशनमा उपस्थित संख्या ४२ जना मात्र । द्रौपतिको सारी ताने जस्तो विधानको धज्जी उडाइयो । अब के हेर्न बाँकी रह्यो र बिचराहरु । अत्यधिक बहुमतले अधिवेशन बहिष्कार । केन्द्रले कसरी मान्यता दिन्छ हेर्दै जाउँ । वैधानिक लडाई लडिनैरहने छौं । अधिवेशनमा उपस्थित संख्या ४२ जना मात्रले पेश भएको क्रियाशील सदस्य नक्कली भएको प्रमाणित भयो । अब उप्रान्त नेपाली कांग्रेस पार्टी सदस्य हुनुको गौरव रहेन । अब नेपालमा पनि नेपाली कांग्रेस पार्टीको आउँदो अधिवेशनमा सभापतिमा उमेदवारी घोषणा गर्नुभएका सम्माननीय शेरवहादुर देउवा, रामचन्द्र पौडेल, शशांक कोइराला, शेखर कोइराला, प्रकाश मान सिंह र बिमलेन्द्र निधि सबै १/१ वर्षको लागी चक्रिय प्रणाली मार्फत सभापति बने राम्रै होला । बेलायत जस्तो प्रजातन्त्र, पद्धती भएको देशमा हामीले राम्रै सिकेका रहेछौं भागबण्डा लगाई खान । बेलायत कांग्रेसको लाजको पराकाष्टा । लाज लाग्यो मलाई नेपाली कांग्रेस भन्न अब देखि ।”

अधिवेशनको तीन दिन पछी डिसेम्बर १ तारिखमा जनसंपर्क समितिका महामन्त्री सुर्य तमाङले अधिवेश विधान विपरित भएको र फर्जी सदस्यहरुको नामावली केन्द्रमा पेस गरेको भन्दै केन्द्रिय कार्यालयमा उजुरी दर्ता गराएका छन् । सभापति र प्रमुख निर्वाचन आयुक्तका नाममा लेखिएको सो उजुरिमा तामाङले भनेका छन “नेपाली जनसंपर्क समितिबाट पठाइएका अधिकांश कृयाशिल सदस्यहरुको नाम कृतिम भएको र यसका विरुद्दमा नेपाली कांग्रेस केन्द्रिय कार्यालयमा उजुरी समेत दर्ता छ । त्यो उजुरी उपर छानविन नै नगरि अथवा छानविनको निर्णय नआउँदै कसरी अधिवेशन गरियो ?”

उनले अगाडि भनेका छन- “१४ जना कथित महाअधिवेशन प्रतिनिधिहरु सबैसँग बेलायतको नागरिकता छ र यि मध्ये केही अझै नेपाली राहदानी मै नेपाल आउने जाने गर्दछन् जुन नेपालको संविधानको वर्खिलाप छ ।”

४ दिन अघि केन्द्रिय कार्यालयमा दर्ता गरिएको यो उजुरिका संबन्धमा अझैसम्म केन्द्रले केहि बोलेको छैन ।

गत महिना कोप-२६ मा सहभागी हुन बेलायत आएका प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालीहरुको एक कार्यक्रममा बोल्दै भनेका थिए- “बेलायतको नागरिकता लिएको भए यहिँ सांसद र मन्त्री बन्नुस, नेपालमा राजनीति गर्न मिल्दैन ।”

“बेलायतको नागरिकता लिएको भए यहिँ सांसद र मन्त्री बन्नुस, नेपालमा भोट हाल्न मिल्दैन” प्रम देउवा

तर देउवाको भनाइ आएको एक महिना पनि नबित्दै उनी आफैं सभापति रहेको पार्टीको अधिवेशनमा विदेशी नागरिक सहभागी हुन पाउनु उदेक लाग्दो त हो नै, नेपाली कांग्रेस पार्टीका लागि गम्भिर विषय हो ।

“बिधानले बन्देज लगाएको विषयमा केन्द्रिय कार्यालयले कसरी अनुमती दिनसक्दछ ?” जनसंपर्क समितिका एक पूर्व सदस्यको प्रश्न छ “राजनीति भोटका लागि मात्रै हो र ? विधीविधान मान्न नपर्ने हो भने पार्टी नै पो किन चाहियो र ?

जसस बेलायतका महासचिव सुर्य तामाङले पार्टी केन्द्रिय कार्यालयमा दिएको तिन पेजको उजुरि हेर्नुस्

जसस बेलायतका महासचिव सुर्य तामाङले पार्टी केन्द्रिय कार्यालयमा दिएको तिन पेजको उजुरि

यसैसित संवन्धित रिपोर्ट

“बेलायतको नागरिकता लिएको भए यहिँ सांसद र मन्त्री बन्नुस, नेपालमा भोट हाल्न मिल्दैन” प्रम देउवा

नेपाली जनसम्पर्क समिति युकेले नेपाली कांग्रेसलाई झण्डै आधा करोड रुपियाँ नेपाल पठायो

तपाइँको प्रतिक्रिया

फेसबुक