धर्म निरपेक्ष फ्रान्सले मध्य पूर्वका क्रिश्चियन स्कूलहरूमा लगानी किन दोब्बर ?
फ्रान्सेली राष्ट्रपति एमानुएल माख्रोले यसै हप्ता फ्रान्सले मध्य पूर्वमा क्रिश्चियन स्कूलहरूको लागि आर्थिक सहयोग दोब्बर गर्ने घोषणा गरे । देशको संविधानमा उल्लेख गरिएको धर्मनिरपेक्षतामा गर्व गर्ने देशको लागि आश्चर्यजनक निर्णय होइन यो ?
तर विज्ञहरूले माख्रोंको कदमलाई आगामी जुनमा हुने राष्ट्रपतीय निर्वाचनमा दक्षिणपन्थी मतदाताहरूलाई प्रभाव पार्नकालागि भन्ने अनुमान गरेका छन् । किनकि उनी राष्ट्रपतीय निर्वाचनमा फेरि उम्मेदवार बन्दै छन् र दक्षिणपन्थी, धार्मिक ब्यक्तिहरुलाई आफूतिर आकर्षण गर्न हुनसक्ने भनाई विश्लेषकहरुको छ ।
फर्वरी १ मा पेरिसको एलिजे प्यालेसमा आयोजित कार्यक्रममा फ्रान्सेली राष्ट्रपतिले घोषणा गरे “मध्यपूर्वमा क्रिश्चियनहरूलाई समर्थन गर्नु फ्रान्सको सदियौं पुरानो प्रतिबद्धता हो । एक ऐतिहासिक मिशन हो ।”
फ्रान्सेली सरकार र धार्मिक संस्था ल लुभ्र दोरियँ द्वारा सह-वित्त पोषित कार्यक्रमबाट २० लाख युरो सहयोग दिँदै आएकोमा सन् २०२२ बाट दोब्बर पारिने अर्थात् ४० लाख युरो सहयोग गरिने उल्लेख गरे ।
सन् १९०५ को कानूनले चर्च र राज्यलाई निश्चित रूपमा छुट्याएको र देशमा धर्मको स्वतन्त्रताको ग्यारेन्टी गरेदेखि फ्रान्सेली धर्मनिरपेक्ष राज्य बनेको हो । यसको मतलब फ्रान्समा धर्मलाई निजी मामिलाको रूपमा व्यवहार गरिन्छ, गरिनुपर्छ । र विशेष गरी सार्वजनिक शिक्षा धर्मनिरपेक्ष हुनुपर्छ ।
तर यस्तो नीति विदेशमा अपनाएको छैन जहाँ सरकारले ल लुभ्र दोरियँसँग मिलेर काम गर्दछ । ल लुभ्र दोरियँ एक ईसाई गैरनाफामूलक संस्था हो जसको पोपसँग ऐतिहासिक सम्बन्ध छ र पेरिसको आर्चबिशप (फ्रान्सका २३ ठूला क्याथोलिक चर्चको समुह) द्वारा निरीक्षण गरिन्छ ।
यो परोपकारी संस्थाले स्वास्थ्य सेवा र सम्पदा संरक्षण जस्ता क्षेत्रमा काम गर्दछ । आफ्नो धार्मिक ढाँचा अनुसार शिक्षा प्रदान गर्दछ ।
फ्रान्सेली सरकारको स्वदेशमा धर्मनिरपेक्ष निति छ । विदेशमा साम्प्रदायिक रणनीति अनुसार मध्यपूर्वमा आफ्नो प्रभावको क्षेत्र कायम राख्न फ्रान्सको चाहना हो भनेर बुझ्न सकिन्छ ।
फ्रान्सले मध्यपूर्वमा क्रिस्चियन विद्यालयहरूलाई समर्थन गर्दछ किनभने त्यहाँ फ्रान्सको मात्र उपस्थिति छ । त्यसकारण, विद्यालयहरू फ्रान्सले आफ्नो प्रभाव फैलाउनको लागि सबैभन्दा राम्रो उपकरण बनेका छन् जहाँ फ्रान्सले कोष पठाउँदै छ । त्यहाँ फ्रान्सेली भाषा बोल्ने शिक्षा छ भनेर अरुलाई सुनिस्चित गर्नपनि सकिन्छ । फ्रान्सेली भाषा, संस्क्रिति, चालचलन, सभ्यताका कारण भनेर अर्थ लगाउनपनि पाइन्छ ।
फ्रान्सेली विद्यालयहरूमा फ्रान्सेली भाषा बोल्ने र त्यो विषय पढ्नेहरुको संख्या घट्दो छ । तर फ्रान्सेली बोल्नेहरूको संख्या घटेको भए पनि यस क्षेत्रमा फ्रेन्च भाषा बोल्ने जनसंख्या छ, फ्रान्सेली मन पराउनेको समुदाय छ भनेर सुनिश्चित गर्न पाइन्छ ।
लोउभ्रर दोरियँ भन्ने यो परोपकारी संस्था १९ औं शताब्दी देखि अस्तित्वमा छ । सन् १८६० मा दमास्कस र लेबनानमा ईसाईहरूको नरसंहारले फ्रान्सेली जनसंख्यालाई डरलाग्दो बनायो । देशमा उनीहरुको मानवतावादमा वृद्धि भयो । शिक्षा, धर्म आदिमा सहयोग गर्न यस्तो परोपकारी संस्थाको खाँचो अझ बढी आवश्यक महसुस गरे ।
“नेपोलियन तेस्रो र तेस्रो गणतन्त्रले यसलाई साधन बनाए । फ्रान्स सेन्ट लुइस र शार्लमानियाको समयदेखि यस क्षेत्रमा ईसाईहरूको ऐतिहासिक संरक्षक भएको विचार आविष्कार गरे । त्यस बेलादेखि फ्रान्सको राजनीतिक अधिकार र अति दक्षिणपन्थी सोचकाले यो विचारमा जोड दिएका छन् । यो बिचार यहाँका वामपन्थी, समाजवादी सोच भएकाहरुमापनि देखिएको छ ।
ईसाईहरू: आतंकवादी शिकारको राजनीतिक प्रतीक ?
मोंपलिएको युनिभर्सिटी पोल-भ्यालेरीमा सञ्चार र मिडिया विज्ञानका व्याख्याता मिहेला-अलेक्जेन्ड्रा ट्युडरको भनाईमा माख्रोंले यस वर्षको राष्ट्रपति चुनावको लागि आफ्नो उम्मेदवारी घोषणा गर्नु अघि जानाजानी फ्रान्सेली क्याथोलिकहरूलाई लक्षित गर्न खोजेका छन् ।
यो राष्ट्रपतीले फ्रान्सेली क्याथोलिक समुदायप्रति गरेको यस्तै इशाराहरू मध्ये एक हो जसमा पोपलाई आफ्नो कार्यकालको क्रममा दुई पटक भेट्नुपनि पर्छ ।
“एमानुएल माख्रोंको यो सन्देश दक्षिणपन्थी र अति दक्षिणपन्थी, पुरातनपन्थी राष्ट्रपति पदका उम्मेद्वारहरू विरुद्ध प्रति-आक्रमणको रूपमा डिजाइन गरिएको हो” ट्यूडरले भनेका छन् ।
“उनले धर्मनिरपेक्षता र इस्लामवादी आतंकवादी हमलाहरूको जोखिमको बारेमा अति दक्षिणपन्थीहरूको तर्कको सामना गर्दै आफ्नो नितिलाई बलियो बनाउन खोजिरहेका छन्” उनको थप भनाई छ ।
पछिल्लो दशकमा मध्यपूर्वमा भएको राजनीतिक अस्थिरता, सिरिया र इराक युद्धले यस क्षेत्रका क्रिस्चियनहरूको दुर्दशातर्फ फ्रान्सेली जनताको ध्यानाकर्षण गरेको छ । द्वन्द्वकालमा क्रिस्चियनलगायत धार्मिक अल्पसंख्यकहरू विशेष गरी निशाना बनेका छन् । तिनलाई समर्थन गरेको, साथ दिएको र दुखसुखमा सहयात्रि बनेको भनेर भावनात्मक समर्थन बटुल्नुपनि छ ।
रोमन क्याथोलिकहरुको चर्च भ्याटिकनले अनुमान गरेको छ, मध्य पूर्वमा लगभग १५ लाख ईसाईहरू छन् । त्यसको अर्थ त्यहाँको जनसंख्याको लगभग चार प्रतिशत हो ।
“मध्य पूर्वका क्रिस्चियनहरू इस्लामवादी आतंकवादी समूहहरूको नागरिक पीडितको प्रतीक बनेका छन्” ट्युडर बताउँछन् “फ्रान्समा इस्लामिक स्टेट समूह र अल-कायदाद्वारा गरिएको आतंकवादी हमला पछि मध्य पूर्वी इसाईहरूको कारण फ्रान्सेली राज्यको आतंकवाद विरुद्धको घरेलु लडाई र धार्मिक स्वतन्त्रता जस्ता लोकतान्त्रिक मूल्यहरूको रक्षासँग जोडिएको छ ।”
दक्षिणपन्थी क्षेत्रमा प्रवेश
“मध्यपूर्वमा क्रिश्चियनहरूको मुद्दा मेरो संलग्नताको केन्द्रबिन्दुमा छ” दक्षिणपन्थी पार्टी द रिपब्लिकन्सका राष्ट्रपति पदकालागि उम्मेद्वार भ्यालेरी पेक्रेसले घोषणा गरेकि छन् । नेशनल र्यालीका अन्तरिम अध्यक्ष जोर्डन बर्डेलाले पनि भनेका छन् “म मध्यपूर्वका क्रिस्चियनहरूले जस्तै हाम्रो नियति भोग्न चाहन्न ।”
चरम दक्षिणपन्थी उम्मेदवार एरिक जीमुरले आर्मेनियाको राजनीतिक यात्राका क्रममा पश्चिमी सभ्यताको रक्षाको आवश्यकतालाई जोड दिँदै भनेका थिए “आक्रमण हुँदा युद्ध गर्न अस्वीकार नगर्नुहोस्”।
एमानुएल माख्रोंको यस क्षेत्रका क्रिश्चियन स्कूलहरूको लागि कोष दोब्बर गर्ने निर्णय दक्षिणपन्थी क्याथोलिक मतदाताहरूलाई सम्मान गर्ने राजनीतिज्ञहरूको लामो प्रतिक्षाको हिस्सा हो । राष्ट्रपतिले विशेष गरी अतिवाती, पुरानवादी उम्मेद्वार एरिक जीमुरका मतदाताहरूलाई सन्देश पठाउन चाहन्छन् र तिनका मत आफूतिरै तान्न चाहन्छन् । किनभने क्याथोलिक मतदाताको भावना र विषयमा खेलेर जिमुरले धेरै मत आकर्षित गर्न सक्छन् । फ्रान्सले समर्थन गरेका मध्यपूर्वका अधिकांश इसाई क्याथोलिक हुन् ।
“फ्रान्सले अनिवार्य रूपमा मध्यपूर्वमा क्याथोलिक शिक्षालाई पैसा दिन्छ” हेबर्गर भन्छन् “लेबनानी मारोनाइटहरू र क्याथोलिक ग्रीकहरू यस क्षेत्रमा फ्रान्सका मुख्य मध्यस्थकर्ताहरू हुन् । उदाहरणका लागि, इजिप्टियन कप्टिक क्रिश्चियनहरू वा अश्शूरी क्रिश्चियनहरूसँग फ्रान्सको कम सम्पर्क छ ।”
फ्रान्सेली कोषले सन् २०२१ मा मध्यपूर्वका १७४ विद्यालयलाई सहयोग गरेको थियो जसमा लेबनानका १२९, इजिप्टका १६, इजरायलका सात, प्यालेस्टिनी क्षेत्रका १३ र जोर्डनका तीन वटा पर्छन् ।
तर यस्तो ठूलो घोषणा माख्रोंका लागि जोखिमपूर्ण रणनीति हुनसक्छ । “यसलाई अवसरवादी मान्न सकिन्छ” ट्युडरले तर्क दिएका छन् । किनभने क्याथोलिकहरू राष्ट्रपति पदका उम्मेदवारहरूलाई आफूहरूको समर्थन पाउन सावधानीपूर्वक सहयोग माग्छन् । तर जो कोहीले पनि मतदान केन्द्रमा पुगिसकेपछि आफ्नो मन परिवर्तन नगर्लान् भन्न सकिन्न ।